“डिप क्याविनेट” भनेको पदमा भएका वास्तविक संरचना वा व्यक्तिहरुले शासन सञ्चालन नगरी छद्म रुपमा अर्कै व्यक्ति वा समूहले निर्णय गर्ने र लागू गराउने प्रकृयालाई भनिन्छ । गोलबजार नगरपालिकामा अहिले शासन प्रशासन डिप क्याविनेटको हातमा छ भन्ने चर्चा चुलिएको छ । भन्नका लागि पदमा नेकपा एमालेका मेयर श्याम कुमार श्रेष्ठ र उनकै पार्टीका बहुमत सदस्य रहे पनि गोलबजार नगरपालिका नेपाली कांग्रेसका वडाध्यक्ष बालकृष्ण गौतम र नेकपा माओवादी केन्द्रका वडाध्यक्ष धन प्रसाद लामाको मर्जी अनुसार सञ्चालन भइरहेको एमालेका जनप्रतिनिधिहरुको दावी रहेको छ ।
एमालेका नेता तथा कार्यपालिका सदस्य फुलेस्वर नायक भन्छन् पूरै नगरपालिका बालकृष्ण गौतम र धन प्रसाल लामाको पञ्जामा छ । गौतम र लामा ,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र मेयर श्याम श्रेष्ठको एउटा डीप क्याविनेट थियो र अद्यापि छ । यो क्याविनेटले जे निर्णय ग¥यो त्यही हुन्छ । अन्य जनप्रतिनिधि थपना मात्र हुन् ।
नायक भन्छन् बालकृष्ण गौतमलाई नेपाली कांग्रेसले रणनीतिक रुपमा एमाले भित्र पेसुवा लगाएको हो । उनले मेयरलाई गलत कामका लागि निरन्तर उक्साएर एमालेलाई अलोकप्रिय गराउने खेल खेलिरहेका छन् । मेयर श्रेष्ठले पनि आफ्नालाई हुत्याएर कांग्रेस भित्रका चाणक्य गौतमलाई काखी च्यापेका छन् । यो कुरा हाम्रो हाइकमाण्डले बेलैमा बुझ्न सकेको छैन । यसले पार्टीलाई तहसनहस गराउन खोजेका छन् ।
अर्का एमाले कार्यकर्ता किरण स्याङ्गवा भन्छन् धन प्रसाद लामा र बालकृष्ण गौतम एमालेमा प्रवेश गर्ने र आगामी अवधिका लागि वडाध्यक्ष पद निश्चित गर्ने हाम्रो पार्टी भित्र निकै चर्चा छ । सत्य हो कि होइन थाहा छैन । सत्रुधन महतो र मनोज सिंह एमाले प्रवेश गरेको एक मिनेट पछि टिकट पाएर सांसद भएको उदाहरण आँखै अगाडि छ । त्यस हिसावले त सत्य पनि हुन सक्छ । तर नेतृत्वले के हेक्का राख्नुपर्छ भने भूइँको टिप्न खोज्दा पोल्टाको चैं खस्न सक्छ है ।
एमाले नेता प्रमोद लामा थप्छन् हामी १२ जना एमाले कार्यकर्ताहरु मेयर श्याम श्रेष्ठ र माननीय लीलानाथ श्रेष्ठ समक्ष गएका थियौं । मालपोत वृद्धि फिर्ता लिनुपर्छ भनेर छलफल गर्न समय माग्यौं । तर हामीलाई समय दिइएन । आज कस्तो परिस्थिति निर्माण हुँदैछ । मेयरलाई उक्साएर उनीहरुले नै मालपोत वृद्धि गर्न लगाए । उनीहरुले नै आन्दोलन गरेर मालपोत कर वृद्धि फिर्ता गर्न बाध्य पारेर जनताको नजरमा वाहवाही लुट्न खोजीरहेका छन् । हाम्रो एमाले नेतृत्वको अदूरदर्शीताको यो भन्दा ठूलो प्रमाण के हुन्छ ?
वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखिया भन्छन् यी दुई वडाध्यक्ष गौतम र लामा भन्नका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका हुन् तर उनीहरुको भूमिका यस्तो छ कि हामी एमालेका जनप्रतिनिधिहरुलाई किनारामा धकेली दिएका छन् । मेयर श्रेष्ठलाई वशीरकणमा पारेका छन् । गोलबजार नगरपालिका भित्रको तमाम जनविरोधी निर्णय , भ्रष्टाचार , कुशासन र अपारदर्शीताका लागि यो डिप क्याविनेट जिम्मेदार छ । मुखिया भन्छन् हामी एमालेका जनप्रतिनिधिहरुले मालपोत कर वृद्धिको विरोध गरेका थियौं तर डिप क्याविनेटको उक्साहटमा लागेर मेयर श्रेष्ठले मालपोत कर वृद्धि जस्तो जनविरोधी निर्णय लागू गराए । यसले एमालेको साख गिरेको छ । एमाले जनता बीच बदनाम भएको छ र अलोकप्रिय भएको छ ।
एमालेका नेता प्रमोद लामा भन्छन् कस्तो अचम्म छ , एकातिर नेकपा माओवादी केन्द्र मालपोत कर वृद्धि विरुद्ध आन्दोलनमा उत्रिएको छ अर्कोतिर सोही पार्टीका वडाध्यक्ष नगरपालिकाकोतर्फबाट वार्तामा बस्छन् । त्यही पार्टीका कार्यकर्ता आन्दोलनमा र त्यही पार्टीका जनप्रतिनिधि नगरपालिकाका तर्फबाट वार्तामा । यस्तो लज्जास्पद दृश्य दुनियाँमा कतै देखिदैन । माओवादीले मालपोत वृद्धिमा ल्याप्चे ठोक्ने आफ्ना वडाध्यक्ष धन प्रसाद लामालाई कारवाही गरोस् वा आत्मालोचना गराओस् । आन्दोलनको मोर्चामा सहभागी गराओस् ।
प्रमोद लामा भन्छन् लाज लाग्नु पर्ने हो माओवादी नेताहरुलाई । जुन सवालमा मेयर विरुद्ध आन्दोलनमा उत्रिएका छन् त्यही सवालमा उनकै पार्टीका वडाध्यक्ष लामाले मेयरलाई काँध थापेर भरथेग दिइरहेका छन् । माओवादी पार्टीका नेताहरुको यो जनता झुक्याउने खेल बन्द गरोस् ।
वाम वेद्धिजीवी दामोदर अधिकारी भन्छन् नगरपालिका मात्र होइन माओवादी पार्टी पनि अहिले लीलानाथ श्रेष्ठको वरिपरी घुमिरहेको छ । गोलबजारमा नेकपा माओवादी ५ चिरामा विभाजित छ । धेरै चोइटाहरु निरन्तर रुपमा लीलानाथ श्रेष्ठको सम्पर्कमा छन् । स्वयं विश्वनाथ साह ( नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य ) चोहर्वा दरवारसँग कतिपय विषयमा मोलतोल गरिरहेका छन् । गोलबजारमा माओवादीको आन्दोलन खाजा खुवाएरै चोहर्वा दरवारले तुहाइ दिन्छ । वार्ता भन्दै समय सार्दै तीन वर्ष बित्छ । वृद्धि भएको मालपोत फिर्ता हुँदैन । किनकि नेपाली कांग्रेसका वडाध्यक्षहरु मलपोत वृद्धिको पक्षमा छन् । कांग्रेसको साथ लिएर मेयरले माओवादी आन्दोलन तुहाउँछन् । अधिकारी भन्छन् त्यहाँ डिप क्याविनेट निकै बलियो छ । डिप क्याविनेटका सदस्यहरु मेयर प्रति वफादार पनि छन् ।
अधिकारी भन्छन् राजनीतिमा उतार चढाव गराउन अग्राख भइसेका लीलानाथ श्रेष्ठ एमालेका मुलखाँवा हुन् । उनले २०८४ को योजना र खाका अहिले बुन्न थालेका छन् । कांग्रेस र माओमादीका केही थान प्रभावशाली नेता र कार्यकर्ता एमालेमा हुल्ने र क्षती भएको टालटुल पारेर पुनर्भरण गर्ने तथा मेयरको टिकट आफ्नै परिवारमा राख्ने तानावाना र आधारभूमि तयार पार्दैछन् । बोली र व्यवहार हेर्दा माओवादीका केही नेता , कार्यकर्ता र जनप्रतिनिधि समेतले मेयर श्याम श्रेष्ठसँग पिरती गाँसेको र उतै लहसिन थालेको प्रष्टै देखिन्छ ।
यता नेपाली कांग्रेसका वडा नं. १३ का वडाध्यक्ष नन्द कुमार सिंहसँग जिज्ञाशा राख्दा उनले भने पार्टीले के गर्छ थाहा छैन तर म व्यक्तिगत रुपमा मालपोत वृद्धिको पक्षमा छु । पहिले बढाएकोमा ७५ प्रतिशत कम गरिएको छ । अब जति छ त्यो ठीक छ ।
त्यसैगरी वडाध्यक्ष बालकृष्ण गौतमसँग मालपोत २०७९ सालको दर रेटमा कायम हुनुपर्छ कि अहिलेको ठीक छ भनेर प्रश्न गर्दा उनले भने म एक शब्दमा जवाफ दिन्न । मेरो जवाफ के हो भने नगरपालिका पनि मर्नु हुँदैन । जनतालाई पनि मारमा पार्नु हुँदैन र मेयरको पनि मान सम्मान कायम रहनु पर्छ । गौतमलाई दर्जनौ पटक सोधियो उनले यही तीन वाक्य दोह¥याइ रहे ।
यता नेपाली कांग्रेसका नगर अध्यक्ष राजदेव साह लालबाबुसँग जिज्ञाशा राख्दा उनले भने हाम्रो पार्टीको बटमलाइन अडान हो मालपोत कर २०७९ अनुसार कायम हुनुपर्छ । व्यक्तिगत रुपमा जसले जोसँग माया लाए पनि जसलाई काँध थापे पनि मतलव छैन । पार्टीले मालपोत कर २०७९ मा फर्काउने चट्टानी अडान कायम राख्ने छ । साहले भने यो नेपाली कांग्रेसले नै गराउँछ । सडकमा पहिले नै उफीप्राफी गर्नेहरुलाई हामी हेर्दै छौं ।
यता जनमत पार्टीका नेता दुष्यन्त कर्ण भन्छन् जनमत चाँडै आफ्नो अडान लिएर नगरपालिका जान्छ । समयसीमा दिएका छौं । त्यसपछि हामी छाड्ने छैनौं । ७५ प्रतिशत मालपोत घटाइएको कुरा झुट हो ।
गोलबजारको राजनीतिक वृत्तमा अहिले सर्वाधिक चर्चा पाएको सवाल मालपोत वृद्धि, फर्जी कर्मचारीको नाम तलव निकासा र डिप क्याविनेट बनेको छ ।
गत साता तेतरिया स्कूलको एक बैठकमा पूर्व नगर उप प्रमुख तथा माओवादी नेतृ रेशम कुमारी थापाले बैठक स्थलमै सबैका सामु वडाध्यक्ष धन प्रसाल लामालाई भोलिका दिनमा एमाले प्रवेश गर्न खुट्टो उचाल्नु भएकै छ भनेर व्यङ्ग कसेपछि लामाले मलिन अनुहार लगाएको विषय अहिले चर्चामा छ । यद्यपि वडाध्यक्ष लामाले आफ्नो बाउ बाजदेखिको इतिहास नेकपा माओवादीसँग गाँसिएकोले पार्टी परिवर्तन गर्ने कुरा सपनामा पनि चिताउन नसक्ने बताएका छन् । उनले भने जनप्रतिनिधि भएको नाताले सहजिकरण गर्न वार्तामा भाग लिएको मात्र हो ।
त्यसैगरी वडाध्यक्ष बालकृष्ण गौतमले भने कसको तागत छ एमाले पार्टी भित्रको नेतामा, जसले मलाई एमालेमा लान सक्छ ? को छ त्यहाँ त्यो हैसियतको भन्दै उनले प्रतिप्रश्न गरेका छन् ।
राजनीतिक विश्लेषक तथा वाम वुद्धिजीवी दामोदर अधिकारी भन्छन् गोलबजार नगरपालिका भित्रको डिप क्याविनेट तोड्नै पर्छ । यसले सबै खराव निर्णय गर्छ तर जवाफदेही हुनु पर्दैन । यो डिप क्याविनेट पानी माथिको ओभानो बनेर प्रस्तुत हुन्छ । जवसम्म यो डिप क्याविनेट रहन्छ तवसम्म गोलबजार नगरपालिकामा सुशासन कायम रहन सक्दैन ।