नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोलबजार नगर कमिटीले आज एक पत्रकार सम्मेलनमार्फत गोलबजार नगरपालिकामा भइरहेको अनियमितता र वेथिति विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
गोलबजारस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको तर्फबाट गठित संघर्ष समितिका संयोजक जीवन कुमार यादवले पार्टीकातर्फबाट प्रेस विज्ञप्ती वाचन गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
गोलबजार नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा अत्यधिक वृद्धि गरेको र नेकपा माओवादी केन्द्रले त्यसमा विरोध जनाए पनि वेवास्ता गरिएकोले आन्दोलन गर्न बाध्य भएको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ साविकमा ५ रुपैयाँ मात्र मालपोत तिर्नु पर्ने ठाउँमा गोलबजार नगरपालिकाले अचाकली वृद्धि गरी प्रति कट्ठा ४ सय मालपोत असुल गरेको छ ।
त्यसैगरी नगरपालिकाबाट हुने विकास निर्माण, कर्मचारी भर्ना र स्वास्थ्य चौकी तथा सशस्त्र प्रहरी बल रहेको जग्गा अधिग्रहण गर्न उदासिनता देखाएको भन्दै त्यसतर्फ सो पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।
प्छिल्ला दिनहरुमा स्थानीय सरकार नै नभएको जनताले महसुस गरेको भन्दै नेकपा माओवादी केन्द्र गोलबजार संघर्ष समितिले निम्नानुसार आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
मंसिर ४ गते गोलबजारमा खवरदारी सभ ागर्ने , ६ र ७ गते कालोपट्टी बाँधेर नगरपालिकाको द्वारमा धर्ना दिने, मंसिर ७ गते भित्र सबै वडाहरुमा नगरपालिकामा रहेको वेथिति विरुद्ध सभा गर्ने , ९ गते नगरपालिकामा सिट्ठी जुलुस गर्ने र ११ गते नगर प्रमुख , उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा पस्न एक घण्टासम्म अवरोध गर्ने संघर्षको कार्यक्रमहरु घोषणा गरिएको छ ।
नेकपा माओवादीका नेता प्रवेश लामाले पत्रकार सम्मेलनमा आन्दोलनको औचित्य र बाध्यताबारे थप प्रष्ट पारेका थिए । उनले भने नगरपालिकाले विपक्षी राजनीतिक दलहरुलाई उनीहरुले उठाएको सवालमा ढाँटेको र टार्ने तथा अल्मल्याउने गरेको दावी गरे ।