माउण्ट एभरेष्ट ईन्टरनेशनल कलेजका विद्यार्थीहरुलाई उच्चस्तरीय अभिमुखिकरण सहित कक्षाको सुरुवात

[sharethis-inline-buttons]

गोलबजार स्थित माउण्ट एभरेष्ट ईन्टरनेशनल कलेजले “बिबिए” कक्षाको सुरुवात कार्तिक ८ गतेबाट गर्ने भएको छ । विद्यार्थीहरुलाई उच्च मनोवलका साथ अध्ययन थाल्न कलेजले उच्चस्तरीय अभिमुखिकरण तथा उत्प्रेरणा कक्षाको व्यवस्था गरेको छ ।

कलेजले जानकारी दिए अनुसार कार्तिक ८ गते राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर प्रसाद यादव स्वयं कक्षाको उद्घाटन गर्न आउनु हुने छ । उहाँले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने र शैक्षिक उन्नयनका विषयमा उत्प्रेरणात्मक अभिमुखिकरण गराउनु हुने छ ।

त्यसैगरी सोही दिन एसियाका चर्चित तथा बरिष्ठ शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीहरुलाई शिक्षाको उद्देश्य र गुणस्तरीय शिक्षाबारे अध्यापन गराउनु हुनेछ ।

कार्तिक ९ गते ग्लोबल आइएमई बैंकका मधेश प्रदेश प्रमुख धोज विक्रम साउदले विजनेस तथा व्यवस्थापन विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गराउनु हुने छ ।

कार्तिक १० गते विद्यावारधि गर्नुभएका कर्पोरेट प्रशिक्षक तथा कन्सलट्यान्ट अनन्तराज घिमिरेले विद्यार्थीहरुलाई उत्प्रेरणासहितको प्रशिक्षण प्रदान गर्नुहुने छ ।
कार्तिक ११ गते सिरहाका पत्रकार तथा सामाजिक कार्यकर्ता अर्जुन थपलियाले पत्रकारिता तथा सामाजिक सवाल विषयमा आफ्ना अभिव्यक्ति राखेर विद्यार्थीहरुलाई आलोचनात्मक चिन्तनधारा बारे अभिमुकिरण गराउनु हुनेछ ।

कार्तिक १२ गते मारुती सिमेन्ट उद्योगका भि.पी. हरिष चन्द्रले उद्योग व्यवस्थापन बारे कक्षा लिनु हुने छ ।

माउण्ट एभरेष्ट ईन्टरनेशनल कलेजका संस्थापक मनोज यादवका अनुसार विद्यार्थीहरुको हौसला तथा मनोवल बढाउन र अध्ययनमा विविधता ल्याउन विभिन्न विषयका विद्वानहरुबाट कक्षा सञ्चालन गराउने प्रबन्ध मिलाइएको हो । आगामी दिनहरुमा पनि यो क्रम जारी रहने छ । बेला बेलामा ख्याति कमाएका र विशेषज्ञता हासिल गरेका व्यक्तित्वहरुलाई बोलाएर कक्षा सञ्चालन गर्ने योजना छ ।

संस्थापक यादवले भन्नुभयो हाम्रो उद्देश्य प्रज्ञावान , क्षमतावान र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार पार्नु हो ।

 


प्रकाशित : २०८१ कार्तिक ६ मंगलवार