कार्तिक ४ गते राति चोरहरुको लागि गोलबजार खेल मैदान जस्तै रह््यो । उनीहरु रातभरी बिना कुनै डर निस्फिक्री भएर वडा नं. ४ र ६ का विभिन्न घरहरुमा परेड खेलेर चोरी गर्न सफल भएका छन् । वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन पछाडि सुनिल शर्मा ठाकुरको घरमा झ्याल फुटाएर पसेका चोरले अढाई तोला सुनका गर गहना र लत्ता कपडा चोरी लगेका छन् । शर्माको घरमा कोही मानिस नभएको मौका छोपेर चोरहरुले चोरी गरेका छन् ।
त्यसैगरी वडा नं. ६ स्थित मुक्ति नेपालकी अध्यक्ष श्याम कुमारी साहको घरमा ताला फुटाएर भित्र पसेर दराज फुटाएर सरसामान चोरी गरेका छन् । चोरहरु सिसिटिभी क्यामरा छल्दै भित्र पसेका छन् । त्यसकारण चोरहरु पेसेवर भएको आशंका बढेको छ । श्याम कुमारी साह काम विशेषले काठमाडौ गएको बेला चोरहरुले मौका छोपेर चोरी गरेका छन् । चोर आएको थाहा पाएर साहको घरमा रहेकी एक बालिकाले गुहार मागेर चिच्याउँदा पनि छरछिमेक आउन सकेनन् । किनकि साहका घरमा चोरी गर्न गएका चोरहरुले वरिपरीका छरछिमेकको घरमा बाहिरबाट चुकुल लगाइदिएका थिए ।
गोलबजारकै वडा नं. १३ मा गत असोज महिना भित्र ३ पटक चोरी र रहजनीका वारदात भएको थियो । डङ्ग्राहा टोलमा मोहमद नथुनीको घरमा कालो रेनकोट लगाएर आएका १० जनाको एक आपराधिक जत्थाले लुटपाट गरेका थिए । त्यसैगरी सोही ठाउँ बस्ने विनोद साफीको घरमा पनि रहजनी डाका गरिएको थियो । डङ्ग्राहाकै सिकिन कुमार साहको घर पनि लुटिएको थियो । त्यसको ३ दिन पछि विन्देस्वर महराको घरमा लुटपाट भयो ।
गत असोज २७ गते आइतबार राति नाच हेर्न गएका डङ्ग्राहाका २१ व्र्षिय कृष्ण कुमार महराको हत्या भयो । धारिलो हतियार (सुइरो ) घाँटीमा रोपेर हत्या गरिएको महराको शव आधा गाडिएको अवस्थामा फेला परेको थियो ।
वडा नं. १३ डङ्ग्राहाका बासिन्दाले प्रहरी समक्ष वाराम्वार सुरक्षा माग गरे पनि गोलबजार प्रहरीले चासो नदिएको उनीहरुको गुनासो छ । चोरी र रहजनी डकैति र हत्याको आपराधिक वारदात निरन्तर बढ्न थालेपछि डरले डङ्ग्राहाबासी भय आक्रान्त छन् । उनीहरु शान्तिपूर्वक रातभरी निदाउन सक्दैनन् । गोलबजार नगरपालिकामा चोरी डकैति र हत्याका संगिन अपराध ह्वात्तै बढेको छ । तर स्थानीय प्रहरी मुकदर्शक भएर बसेको छ । अहिलेसम्म कुनै पनि घटनामा अनुसन्धान गरी अपराधीहरु पत्ता लगाउन र पक्राउ गर्न प्रहरी असफल भएको छ । डङ्ग्राहाका नेकपा एमालेका नेता नारायण महरा भन्छन् हामीले शान्तिपूर्वक दुई गाँस दाना खान पाएका छैनौ । गाउँबाट उठीबास हुने बेला भैसक्यो । कुनबेला कसले आएर मार्ने हो भन्ने त्रास छ ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् , गोलबजारमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको छ । अपराध बढ्दै छ । लागू पदार्थको व्यापार र सेवनमा पनि नियन्त्रण भएको छैन । समाजमा त्रास फैलिएको छ । यसतर्फ स्थानीय प्रहरी र प्रशासनको ध्यान आकृष्ट हुन आवश्यक छ ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहसँग प्रतिक्रिया माग्दा उनले भने हत्या हाम्रो एरियामा भएको होइन । सुखीपुरको एरिया पर्छ । जहाँसम्म चोरी डकैतिको कुरा छ मैले पेट्रोलिङ्ग खटाएकै छु । प्रहरी घुमिरहेकै छ । अपराध कम गर्ने प्रयास गरिरहेकै छु ।