चोहर्वा दरवारले छप्पर फारेर लोकतन्त्र मेरो घरमा छिराइदियो

[sharethis-inline-buttons]

अर्जुन थपलिया

गत शुक्रवार अर्थात भदौ २८ गते । राति लगभग २ बजेर ११ मिनेट , चकमन्न समय । सिंह दरवारबाट हिँडेको संघीय लोकतान्त्रिक गणतन्त्र चोहर्वा दरवार हुँदै मेरो घरमा आइपुग्यो । छप्पर फुटाएर मेरो घरभित्रै पस्यो । मेरो छनामामाथि अझै डोव ( चिन्ह ) छ । काठमाडौंको सिंहदरवारबाट २०७२ सालको संविधान घोषणासँगै हिँडेको संघीय लोकतान्त्रिक गणतन्त्र गाउँको सिंहदरवार चोहर्वा दरवारमा कैद थियो । चोहर्वा दरवारले संघीय लोकतान्त्रिक गणतन्त्रमा थोरै समाजवाद समेत मिसाएर गत शुक्रवार मध्यरातमा मेरो घरमा छिराइदियो । चोहर्वा दरवारले शाहजादामार्फत अस्लिल र भद्दा गाली तथा ज्यान मार्ने धम्कीको किस्तीमा सजाएर पठाएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद हाम्रालागि निकै महंगो सावित भयो ।

चोहर्वा दरवारका शाहजादा आफै आएका थिए । टुवोर्ग वियरको नसामा धुत पाँच जनाको समूह लिएर आए । सिलभर कलरको हाफडाला चारपाङ्ग्रेमा हुकिएर आएका शाहजादाको गाडी मेरो घर अगाडि रोकियो । गाडीको झ्याल खोलियो र ४ वटा वियरको बोतल मेरो आँगनतर्फ प्रहार गरियो । दुईवटा बोतल घरको भित्तामा लाग्यो । दुई वटा बोतल आँगनसम्म आइपुग्यो । त्यसपछि गाडिबाट ओर्लिएर छानामाथी ढुङ्गा प्रहार गर्न सुरु गरियो । घरको छानामाथि र आँगनमा ढुङ्गा वर्षिए पछि मेरो घर परिवारमा अत्तालो छुट्यो । भाइ, बुहारी , बुढी आमा र हामी पतिपत्नीको पनि ढुकढुकी बढ्यो ।

मध्यरातमा छानामाथि ढुंगा बर्सिदा र वियरका बोतल आँगनमा खस्दा उत्पन्न हुने भय र त्रास निकै भयानक थियो । अत्तालिने गरी मानसिक तनाव त भयो नै । मेरी ७६ वर्षिय बुढीआमाको आँखा रसायो । चिलको आक्रमण हुँदा कुखुराले चल्ला छोपेजस्तै मेरी महतारी मलाई छोप्दैथिइन् । टायलको छानामाथि ढुंगा बजारिदा मेरा अनुज र अनुज बधु खाटमुनि पसेर ज्यान जोगाएका थिए । मेरा कनिष्ट अनुज भन्दै थिए , तपाईँको पत्रकारिताको कमाल हो यो । घरमा मध्यरातमा आतंक आइलाग्छ । हामीले हार गुहार गरेपछि मेरा छरछिमेक गाउँले तत्कालै जम्माजम्मी भए । हामीलाई सुरक्षा , सानत्वना र ढाडस दिए ।

यो गरिब र कमजोर पत्रकारको रैनबसेरा तोडफोड भएको छ । वर्षायाम सकिएकै छैन । फुटेका टालीबाट पानी धरधरी घरभित्र चुहिने पक्का छ । वर्षाले छपक्कै भिजेका माटोका टायल नसुकी फेर्न पनि मिल्दैन । बीचको टायल फेर्न पुरै छाना उजारेर नयाँ सेटिङ्ग गर्नुपर्छ । आज मेरी आमाले नयाँ जुक्ति झिकिन् । पुराना एक्स–रे को निगेटिभ खोजेर फुटेका टालीको ठाउँमा घुसार्नु भएकोछ । आमा हुन् , बालबच्चालाई न्यानो र ओभानो बनाउन प्रयत्न गर्नु स्वभाविक हो । पुरानो हिन्दी गीतको याद आयो , “वो होते हैं किस्मत बाले जिनके माँ होती है ” ।

शुक्रवार मध्यरातमा मेरो घरमा आक्रमण भयो । मैले हिजो असोज ३ गते इलाका प्रहरी कार्यालयमा जाहेरी दरखास्त पेस गरे । प्रहरीले मेरो जाहेरी लियो तर दर्ता नम्बर दिएन । अध्ययन गर्नुपर्छ भनेर टारेर मलाई फर्काइयो । म निरीह भएर फर्किए । मैले दोश्रो पटक अनुभव गरे चोहर्वा दरवारकै फगत खेलौना रहेछ सिरहाको प्रहरी प्रशासन । यहाँ कानून सबैका लागि बरावर होइन रहेछ । मूल राजतन्त्र फाले पनि छोटे राजाहरु गाउँ गाउँमा रहेछन् । आज चोहर्वा दरवारको छानामाथि मध्यरातमा बोतल र ढुंगा प्रहार भएको भए छानविन र अनुसन्धानका लागि दर्जनौ व्यक्ति गिरफ्तार भइसक्थ्यो । एसपी , सिडिओलाई भोक र निन्द्रा लाग्दैनन्थ्यो । तालिम प्राप्त कुकुर आउँथ्यो । अपराधी पत्ता लगाइन्थ्यो । तर मेरो घरमा भएको आक्रमण बारे २ वटा सिसिटिभी फुटेज र ३ जना देखिजान्ने साक्षी मैले स्वयं प्रहरी समक्ष प्रस्तुत गर्दा पनि प्रहरी कदम चालेन । शाहजादालाई कानूनको दायरामा ल्याउने कुनै चासो देखाइएन ।

जव जव चोहर्वा दरवार र शाहजादाले ममाथि घात र प्रहार गर्न खोजेको समाचार वा फेसबुक स्टाटस लेख्छु वा भ्रष्टाचार गरेको समाचार प्रकाशित गर्छु तव तव मलाई एकजनाले खुचिङ्ग गर्दै प्रतिक्रिया पठाउँछन् । उनी हुन् श्रमजीवी सहकारीका अध्यक्ष सुशिलचन्द्र अधिकारी । सबैलाई थाहा छ उनी राजावादी हुन् । उनी भन्छन् , वडा खुब राजतन्त्र फाल्ने आन्दोलनमा लागेका थियौं नी ! हेर अब भोग –राजा फाल्दा के नतिजा भोग्नुपर्छ । म उनलाई भन्छु “लोतन्त्रको विकल्प लोकतन्त्र नै हो ”। लोकतन्त्रले आफुले आफैलाई परिस्कृत गर्दै लैजान्छ । हामीले चाहेको जस्तो सुन्दर लोकतन्त्र अझै आएको रहेनछ । तर एक दिन त्यो सुन्दर लोकतन्त्र आउँछ जहाँ कानूनको राज्य हुन्छ । ठूला साना सबैलाई समानरुपमा कानून लाग्छ । बोल्ने तथा लेख्ने स्वतन्त्रता पूर्णतया प्रचलन हुन्छ । जहाँ मान्छेको ससम्मान बाँच्ने अधिकारको राज्यले ग्यारेण्टी गर्छ । जहाँ चोहर्वा दरवार जस्ता छोटे राजाहरुको हैकम , शोषण ,दमन समाप्त हुन्छ । एक दिन भ्रष्टाचारमुक्त राज्य संयन्त्र बन्छ । नागरिकले नागरिक भएर जीवनयापन गर्ने दिन आउँछ ।

प्रहरी प्रशासन चोहर्वा दरवारको दास सरह भएको देख्दा हाम्रो परिवार शाहजादाबाट ज्यादै असुरक्षित देखिन्छ । कानूनी राज्यको उपहास भएको देख्दा खिन्नता र विरक्ति पनि बढ्छ । तर समाज अझै न्याय र निसाफको पक्षमा सतिसाल झैं उभिएको छ । त्यसकारण परिस्कृत लोकतन्त्र र सुन्दर तथा सभ्य समाजको स्थापना सम्भव देखिन्छ । मेरो घरमा भएको आक्रमण पश्चात सबै राजनीतिक दलहरु, पेशागत क्षेत्रका महानुभावहरु, उद्यमी , व्यापारी, शिक्षक , विद्यार्थी , युवा , ज्येष्ठ नागरिक र पत्रकार साथीहरु मेरो घरमै आउनु भयो । घटनाबारे जानकारी लिदै हाम्रो हौसला बढाउनु भयो । हामीलाई ढाडस दिनुभयो । आक्रमण प्रति खेद र निन्दा प्रकट गर्नुभयो । दोषीहरुमाथि कारवाही गर्नुपर्ने र न्याय प्राप्त हुनुपर्छ भनेर अभिमत जाहेर गर्नुभयो । यसबाट देखिन्छ – समाज मृत छैन । समाज डराएको छैन । राज्य संयन्त्र चोहर्वा दरवारले कब्जा गरेपनि समाज न्याय मर्न दिने पक्षमा छैन । त्यसकारण म आशावादी छु – चाहेर्वा दरवारका जस्ता वादशाहहरुलाई जनताले छिट्टै कठालो समातेर सत्ताको घोडाबाट खसाल्ने छन् । राज्य सत्तामा दरवारहरुको हालिमुहाली एकदिन समाप्त हुनेछ । प्रथम जनता हुन् भन्ने सिद्धान्त लागु हुनेछ । चोहर्वा दरवारको सेवक बनेर बसेको प्रहरी प्रशासन एक दिन व्यवसायिक क्षमतासहित निष्पक्ष रुपमा जनताको पक्षमा खटिने छ ।

चोहर्वा दरवारलाई ज्ञात होस् म अहिंसाको पक्षमा अटल छु । यो मेरो निष्ठा चोहर्वा दरवारको उक्साहटबाट फेरिने छैन । तर चोहर्वा दरवारले जुन बाटोमा शाहजादालाई हिँडाएको छ त्यो सर्वनाशको मार्ग हो । हामीले देखेका छौं जसले बन्दुक उठायो त्यसको अन्त्य पनि बन्दुकबाटै भयो । यो पत्रकार सोझो , निर्धो र कमजोर छ तर जुन दिन कुनै बलियोसँग फेला पर्छ त्यो दिन धरधरी रुनुपर्ला । बेलैमा चेतना भया ।

अन्त्यमा न्याय र समानताका पक्षधर सिङ्गो समाज र राजनीतिक दलहरु प्रति आभार व्यक्त गर्दछु । म निरन्तर , अविराम र निर्भय भएर न्याय र समानताको पक्षमा , समाजको पक्षमा कलम चलाइरहनेछु ।


प्रकाशित : २०८१ आश्विन ४ शुक्रबार