लेख्दा कन्नु हुँदैन । कनीकुथी लेखेको लेखनी घतलाग्दो हुँदैन । बरु सन्दर्भ सामाग्री खोजेर लेखौं तर लेखाई घतलाग्दो हुनुपर्छ । पाठकले अद्योपान्त पढ्नु पर्छ । पत्रकारिता गर्दा त्यसै भन्थे र त्यस्तै गर्थे दिलीप सिंह । २०५९ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले १५ वर्षसम्म श्रमजीवी पत्रकार भएर कलम चलाए । पत्रकारिताबाट विश्राम लिनु अघि उनी नयाँ पत्रिकामा सिरहाबाट रिपोर्टिङ्ग गर्दथे । पत्रकारिता क्षेत्रमा घाम पानी सहेर , ढिडोरोटो खाएर अनेक अभाव र दुख सहेर उनले काम गरेका थिए । दुब्लो पातलो भए पनि दिलीप हक्की स्वभावका थिए र लेखाईमा पनि उनी डर धाक नमानी सत्यतालाई शब्दमा उतार्थे । त्यसकारण उनी कति पटक सांघातिक आक्रमणमा पनि परेका थिए । उनले लेखेका खोजमुलक समाचार र आलेखहरुले प्रशासन ,राजनीतिक वृत्त र समाजलाई झक्झक्याउथ्यो । राज्यको नीतिगत पक्ष र सामाजिक संरचनामा उनको लेखाईले खास मार्गदर्शन गथ्र्यो ।
दिलीप सिंहका रिपोर्टहरु अभिरुचीका साथ अद्योपान्त पढ्ने गरिन्थ्यो । पत्रकारितामा सकृय रहुञ्जेल दिलीप सिरहाबाट पत्रकारिता क्षेत्रमा उदाएका एक नक्षत्र थिए । पत्रकारिताको अनुभवले दिलीपलाई निजामती सेवामा पनि उत्तम बन्न सघायो । पत्रकारिता क्षेत्रमा हुँदा लोकसेवा पास गरेर गएका कर्मचारीहरु कसरी लोक शासक भएर जनतालाई सताउँथे भन्ने कुरा उनले देखेका थिए । धेरै पटक लेखेका पनि थिए । पत्रकारिता क्षेत्रमा हुँदा उनले जनताका बीचमा रहेर उनीहरुको भावना ,चाहना, आशा , आवश्यकता, डर , खुशी र त्रास के के हुन् भन्ने कुरा राम्ररी ठम्याएका थिए । हत्केलामा ठेला उठुञ्जेल मिहिनेत गर्नु त उनको स्वभाव नै बनिसकेको थियो ।
पत्रकारिता क्षेत्रमा सकृय रहँदा नेपाल सरकारकोतर्फबाट उनलाई भ्रष्टाचार विरुद्ध युवा कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । मानव अधिकार संरक्षणका लागि लहानमा सिंहलाई दुई पटक सम्मान गरिएको थियो । शान्ति सुरक्षा कायम राख्न उनको लेखाईबाट मद्दत पुगेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले पनि उनलाई पुरस्कृत र सम्मान गरेको थियो ।
सिरहाको लहान निवासी सिंहले २०७४ फागुन १८ गते लोक सेवा पास गरेर सरकारी सेवामा प्रवेश गरे । कम्प्यूटर अपरेटर पदमा नियुक्ति लिएर सरकारी सेवामा प्रवेश गरेका सिंहको पहिलो पोष्टिङ्ग जिल्ला प्रशासन कार्यालय वैतडीमा भयो । त्यसपछि उनको पत्रकारिता क्षेत्रबाट वर्हिगमन भयो । उनी सरकारी सेवामा दत्तचित्त भएर काम गर्न थाले । वैतडीमा एक वर्ष बिताएका सिंहलाई कार्य दक्षताकै आधारमा गृह मन्त्रालयमा तानियो । त्यसपछि उनलाई अद्यागमन विभागमा पठाइयो । अहिले उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अद्यागमन विभागमा कार्यरत छन् ।
पत्रकारिता छोडेर निजामती सेवामा प्रवेश गरेका दिलीपले ७ वर्ष भित्रै एक उत्तम र अब्बल दर्जाका कर्मचारीको पहिचान बनाउन सफल भएका छन् । सिंह भन्छन् , कर्मचारी भएपछि जनताले , “यी व्यक्ति हाम्रा सेवक हुन् ” भन्ने महसुस गर्नुपर्छ । किञ्चित विलम्व नगरी सहज र सरल ढंगबाट कार्य सम्पादन गर्नुपर्छ । मेरा हरेक क्षणको हरेक कार्यले देश र जनता समक्ष उन्नतिमुलक परिणाम निस्कनुपर्छ भन्ने सिंहको धारणा छ ।
कार्य कुशलता , लगनशिलता र इमान्दारिता कै कारण गत शनिवार निजामती सेवा दिवसको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय सिवमा स्थल अद्यागमन कार्यालयले सिंहलाई उत्कृष्ट कर्मचारी घोषणा गरेर नगद ५ हजार पुरस्कारसहित सम्मानित गरेको छ । निजामती सेवाको कनिष्ट पदमा रहेर पनि उनले राष्ट्र र समाजको मनग्गे सेवा गरेका छन् । निजामती सेवाको बगालमा दिलीप सिंह एक उज्ज्वल र उत्कृष्ट छवि लिएर अलग पहिचान बनाएका छन् । स्वच्छ छविका कर्मचारी खोज्न बत्ति बालेर हिँड्नु पर्ने बेलामा दिलीप सिंहले सिरहा जिल्लाका बासिन्दाहरुलाई गर्व गर्ने व्यक्तिका रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।