रैती , बिचौलिया, ठेकेदार र उद्योगीहरुको सगुनले ठडियो राजाको महल

[sharethis-inline-buttons]

राजतन्त्रमा बरु एउटा उक्ती प्रचलित थियो , “प्रजा मोटो भए दरवार बलियो हुन्छ ” । तर संघीय लोकतान्त्रिक गणतन्त्रमा त्यसको ठीक उल्टो भइरहेको छ । अहिले भनिन्छ “दरवार अग्लो भए पार्टीले फेरि जित्छ” । चोहर्वा दरवार र गोलबजार नगरपालिकाका राजा पुन चुनाव जित्ने मुडमा छन् । त्यसकारण उनी अग्लो दरवार बनाउँदैछन् । उनको यो कार्यलाई उनका पार्टीका आसेपासे कार्यकर्ताहरुले दर्रो समर्थन गरेका छन् । राजाको दरवार टावर जत्तिकै अग्लो हुनुपर्छ । राजाले कार्यकालको ५ वर्ष नगरपालिकाबाट मनग्गे कमाउनै पर्छ । अर्को चुनावका लागि पर्याप्त जोरजाम गर्नैपर्छ ।

एक दिन राजाको पुरानो दरवारमा गोलबजार नगरपालिकाको भौतिक निर्माण कार्य गर्ने सेटिङ्ग एजेण्टहरु भेला भए । उनीहरु मध्ये एकले भने ख्वामित हजुर यो दरवार पुरानो भयो । एउटा आधुनिक बङ्गलाको निर्माण सुरु गरिबक्स्योस् । हामी छौ त्यसमा लाग्ने खर्च तिर्ने बेहोर्ने । अर्का ठेकेदारले पनि सही थापे , हो “अन्नदाता” हजुरले एउटा दरवार ठ¥याउनै पर्छ । माने युग सुहाउँदो राजाको बैठक , खोपी र शयन कक्ष आदि सुविधा सम्पन्न हुनैपर्छ । बाहिरबाट आउने आगन्तुकहरुले हाम्रो महाराजको यो पुरनो महल देख्दा हामीलाई लाजको पसारो भयो महाराज ।

तेश्रो निर्माण व्यवसायीले पनि ठूलै चित्त देखाए । उनले भने , “ आश्रयदाता ” हजुरले आँटी बक्सियोस् । पु¥याउने दैव छन् । भगवानले थुकीछाडे एक वर्ष भित्रै अढाई तला एक सुसज्जित आधुनिक कुटी तयार हुन्छ । ५ वर्षे कार्यकालको एउटा चिनो पनि रहन्छ । भोलि सम्धी सम्धेना आउलान । महाराजको घर देखेर दिक्दार मान्लान । हामीलाई पनि लाज होला । चौथौ बीचौलिया पनि के कम । उनले भने , मौसुफ हजुरको १४ कोसको राज्य के कमजोर छ र ? सैकडौ व्यापारी छन् । उद्योग छ । दर्जनौ निर्माण कार्य सञ्चालनमा छ । कतैबाट रड , कतैबाट सिमेन्ट र कतैबाट नगद संकलन भैहाल्छ नी ! महाराजले शिलान्यास मात्र गरिबक्से पुग्छ । बाँकी हाम्रो जिम्मा भयो ।

नयाँ महलमा नयाँ बुहारी भित्र्याउने धोको त राजाको पनि थियो । शाहजादालाई लगनगाँठोमा बाँध्ने बेला पनि भएको छ । आफ्ना पालित पोषित रैतीहरुले पनि आड भरोसा दिएकै छन् । ठेकेदारहरुको कुरा राजालाई मनासिब लाग्यो । एक करोड जतिको लागतमा एउटा कटेरो नठ¥याई त भएन भन्दै राजाले पनि साइत जुराएर घरको शिलान्यास गरे ।

उहिले उहिले मधेशमा घारेहात लगाएर गाली गर्दा भन्ने गर्थे “जा तलाई घरहट लागोस् ” अर्थात घर बनाउने झ्याङ्लो आइलागोस् । नयाँ घर बनाउँदा त्यति सास्ती खप्नु पर्छ । जति पैसा हाले पनि काम अधुरै देखिन्छ । एउटा घर बनाउन आर्थिक रुपमा गृहस्थीको कम्मर भाचिन्छ । तर हाम्रा राजालाई नयाँ घर बनाउँदा सास्ती खप्नु परेन । मनकारी ठेकेदार , बिचौलिया , उद्योगहरुले अञ्जुली भरेर ओइ¥याए । दुई महिनामै एक तला ढलाई सकियो अब अर्को तलाको निर्माण कार्य द्रुतगतिमा बढेको छ ।

घर बनाउँदा राजालाई मारुती सिमेन्ट उद्योगलाई गरिदिएको उपकारको बदला ५ सय बोरा सिमेन्ट हात लाग्यो । ६ वर्षको स्थानीय कर नतिरेको कारण वडा नं. ९ ले उद्योगको सिफारिस रोक्का गरिदिएको थियो । राजाले हुकुम प्रमाङ्गीबाट कर नतिरी सिफारिस फुकुवा गराई दिए । त्यसको गुणपैचो वापत उद्योगले सामाजिक उत्तरदायित्व वापत खर्च गर्नु पर्ने बजेटबाट राजालाई ५ सय बोरा सिमेन्ट हस्तान्तरण ग¥यो । १५ शय्या को निर्माणधीन अस्पतालले पनि राजाको घरमा छड लगानी ग¥यो । यसो सापट पैचो लगेको भन्दै एक ट्रक छड अस्पतालका ठेकेदारले राजालाई टक्र्यायो ।

यसैबीच एक दिन चियागफमा राजाले थोरै खिन्नता व्यक्त गरे । घर त बनाउन थालियो तर दावानलले फेरि के के लेखिदिने हो । राजाले भने , हुन त मैले यस बीचमा जग्गा बिक्री गरेको छु । आम्दानी देखाउन सक्छु तर त्यो असत्ती पत्रकारले कहाँ छोड्छ र ! आफ्ना मौसुफको उदासी देखेर दायाँ वायाँ बसेका अनुचरहरुको रगत उम्लियो । उनीहरुले महाराजलाई ढाडस दिए । त्यस्ता पत्रकारहरुले लेख्दै गर्छ । महाराजलाई के फरक पर्छ ? मालिक हजुर चिन्तित नहोइबक्स्योस् । पार्टी पंक्तिमा हजुरको जय जयकार छ । विपक्षीहरु पनि महाराज प्रति भुवादार मखमली गलैचा जस्तै नरम छन् । त्यो पत्रकारलाई समाजमा जताततै गाली गरेको सुनिन्छ । महाराजकै चौतर्फी प्रशंसा छ ।

ढोके , हुक्के र अर्दलीहरुको कुरा सुनेर महाराज फेरि मखलेल भए । मृदु मुस्कान देखाउँदै महाराजबाट बिचौलिया , ठेकेदार र सगुन बुझाउने रैतीहरुलाई हुकुम भयो २०८१÷०८२ मा सबै भौतिक निर्माण कार्य ठेक्कार र कोटेशनबाट हुने व्यवस्था मिलाएको छु । मेरो यो कुटी पनि तम्तयार हुनुप¥यो र नगरमा ग्राभेल पनि छरिनु प¥यो । मेरो महिमा मण्डण गर्न पनि कमी गर्नु भएन । यो महल तयार भए पछि मैले फेरि चुनाव जित्छु त ? राजाले प्रश्न गरे । रैतीहरुले एक स्वरमा भने जरुर महाराज । यति सुनेर महाराज भित्र ज्युनार गर्न सवारी होइबक्स्यो । अनुचरहरु सलाम ठोकेर घर फर्किए ।


प्रकाशित : २०८१ भाद्र २३ आईतवार