कार्यपालिका बैठकमा घम्साघम्सी ः माफी माग्न राजी भएनन् मुखिया

[sharethis-inline-buttons]

“बरु म पद त्याग्छु र सत्य कुरा बोलेकोमा माफी माग्दिन । ” एक माग्दिन , दुई माग्दिन तीन माग्दिन । यो चट्टानी अडान व्यक्त गरेर बैठक छोडेर बाहिरिए वडाध्यक्ष उपेन्द्र मुखिया ।

यो घटना हो हिजो शनिवार बसेको गोलबजार नगरपालिकाको कार्यपालिका बैठकको । मेयर श्याम श्रेष्ठ काठमाडौंबाट फर्किनासाथ उनले अघोषित आपतकालीन कार्यपालिकाको बैठक बोलाए । किनकि जनताको “नली हाड फुटाएर मासी झिक्ने गरी ” बढाएको मालपोत करको सर्वत्र विरोध भइरहेको थियो । मेयर विरुद्ध आन्दोलनका हुंकारहरु सडकमा सुनिन थालेको थियो । मेयरको दायाँ वायाँ बसेर साथ दिने दुई बलिष्ट पाखुराको रुपमा रहेका विपक्षी वडाध्यक्षहरुलाई पनि उनीहरुका पार्टीले कर वृद्धिमा स्पष्टीकरण सोधेर नौनाडी गलाएको अवस्था थियो । एमालेका वडाध्यक्षहरुले त कर वृद्धिको सुरुवातदेखि नै विरोध गरेका थिए । आन्दोलनको आँधीबेहरीले उडाएर मैनावती पारी दरवारमा थन्काइ देला भन्ने भयले मेयरले हत्तपत्त बैठक बोलाएका थिए ।

कार्यपालिका बैठकले वृद्धि गरिएको कर फिर्ता लिने एजेण्डामा छलफल र निर्णय लिनु पर्ने थियो । तर त्यो भन्दा पहिले आफूहरुले गरेको कुकृत्यको सामाजिक सञ्जालमा भण्डाफोर गरिदिने गोलबजार नगरपालिका वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखियामाथि बैठकमा सबै जाइलागे । बैठक सुरु हुनासाथ मेयरका प्रियपात्र विपक्षी दुई वडाध्यक्षले उपेन्द्र मुखियाले माफी माग्नु पर्ने प्रस्ताव राखे ।

प्रतिपक्षी वडाध्यक्षहरुको तर्क थियो ः हामीले मालपोत कर वृद्धि टाइप मिस्टेक हो , कर्मचारीको प्राविधिक त्रुटी हो भनेर ढाकछोप गरिरहेका थियौं । तर मुखियाले किन सामाजिक सञ्जालमा सत्य कुरा खोलिदिनु प¥यो । आखिर निर्णयमा उनको पनि हस्ताक्षर छ । वडाध्यक्ष मुखियाले गाँठी कुरा चुहाइ दिएकोले हामीले हाम्रो पार्टीमा मफी माग्नु प¥यो । नगरपालिका विरुद्ध आन्दोलन उठ्ने वातावरण बन्यो । यसमा मुखियाले क्षमा याचना गर्नुपर्छ ।

आफूले गलत कामका लागि पनि होस्टे गर्दा हैंसे गर्ने प्रतिपक्षी दुई वडाध्यक्ष मुखियामाथि आक्रमक भएको देखेर मेयर श्रेष्ठ गदगद भए । उनले पनि मुखियाले माफी माग्नै पर्ने अडान दोहो¥याए । बिहान सुरु भएको बैठक मा तीन घण्टासम्म मुखियाले माफी माग्नु पर्ने विषयमा घम्साघम्सी चलिरह्यो । मुल विषय मालपोत घटाउने कुरामा छलफल नै प्रारम्भ भएन ।

चट्टानी अडान राख्ने र डार धम्कीको परवाह नगर्ने उपेन्द्र मुखिया गलेनन् । उनले बैठकमा भनिरहे म माफी माग्दिन । किनकी मैले सत्य कुरा जनता समक्ष जाहेर गरेको हुँ । सत्य बोले वापत माफी माग्ने कुरै आउँदैन । ११ बजेसम्म मुखियालाई गलाउने र झुकाउने यत्न प्रयत्न गरियो । मेयरले पार्टीमा कुरा उठाउने धम्की पनि दिए । । तर पनि मुखिया टसमस भएनन् । अन्त्यमा मुखियाले भने बरु म वडाध्यक्ष पदबाट राजीनामा गर्नुपर्छ भने गर्छु । पार्टीमा पनि सामना गर्छु तर माफी माग्दिन । यति भनेर मुखिया बैठक छोडेर बाहिरिए ।

वडाध्यक्ष सुकदेव सिंह भन्छन् , मुखियालाई अचेट्न र हायल कायल पार्न निकै जोर जुलुम गरे । तर उनी आफ्नो अडानमा कायम रहे । मैले पनि भने कसैले आफ्नो बिचार राखे वापत माफी माग्नु पर्ने कुरा ठीक होइन । यसरी बोल्ने र लेख्ने स्वतन्त्रताको हरण हुन्छ । वडाध्यक्षहरु आफ्नो बिचार राख्न स्वतन्त्र छन् ।

मुखिया बाहिरिएपछि बढाएको मालपोत फिर्ता लिने गरी एउटा संशोधन प्रस्तावमाथि छलफल प्रारम्भ भयो । नगरपालिका विरुद्ध तयार भएको जनमत र आन्दोलनको वातावरणलाई मत्थर पार्न सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले भूमिका खेल्ने सहमति भयो ।


प्रकाशित : २०८१ भाद्र २३ आईतवार