भरत महराको संकटाभिमुख जीवन र गोलबजार नगरपालिकाको तिज पार्टी

[sharethis-inline-buttons]

अनन्य मित्र वडाध्यक्ष नन्द कुमार सिंह ज्यु
१३ नं. वडा , गोलबजार नगरपालिका

गोलबजार नगरपालिकाले यो वर्ष पनि तिज पर्वमा उत्सव भोज गर्न ३ लाख रकम कार्यपालिकाको बैठकबाट विनियोजन गरेको सुने । सोही दिन मेरो जम्काभेट वडा नं. १३ का वडाध्यक्ष मेरा अनन्य मित्र नन्द कुमार सिंहसँग भयो । मैले उनलाई सोधे – गत वर्ष नै तिजमा हाकिम र मेयरका पत्नीहरुलाई नगरपालिकाको बजेटबाट “फुलबुट्टे रेशमी फरिया चोली ” दिइएकोमा समाजमा धेरै छि ः छि ः दुरदुर भएको थियो । यस वर्ष पनि बजेट छुट्याउनु भएछ त ? तपाईहरु प्रतिपक्षीले यस्ता कुराहरुमा किन विमति नजनाएको ?

उहाँको उत्तर सुनेर म हतप्रभ भए । उहाँले चर्को आवाजमा मेरो जिज्ञासाको प्रतिवाद गर्दै भन्नुभयो , किन विमति राख्ने ? हामीले पास गरेको हो ? दलित , गरिब , कमजोर वर्ग र असहायहरुलाई तिजमा बोलाएर दर खुवाउन भनेर बकाइदा माइन्युट गरेर बजेट स्वीकृृत गरिएको छ । अख्तियार र महालेखाले पनि केही गर्न सक्दैन । नियमानुसार भएको छ ।

त्यसपछि मैले यति मात्र जिज्ञासा राखे , हेरौं तिजको पार्टी गरेको दिन कति जना गरिब, दलित , कमजोर र असहाय महिलाहरु बेलाइँदो रहेछ ! जसको नाममा माइन्युट गरेर रकम निकासा भएको छ त्यही वर्गलाई बोलाइन्छ कि बोलाइदैन ? मित्र सिंहले भन्नुभयो हेर्दै गर्नुस् ।

मित्र नन्द कुमार जी ,

तिजको दर खाने दिन भन्दा एक दिन अघि । नगरपालिकाको चौघेरो नजिकै एक होटलमा । नगरपालिकाले विनियोजन गरेको ३ लाख रकम खर्चेर तडक भडक सहित तिजको नाममा पार्टी गरियो । सुस्वादु भोजनका नानाथरी परिकार, मिष्टान्न , फलफुलका रस ,पकाएका , तारेका र साँदेका शिकारका चोक्टा र सोमरस पनि पस्किएर उल्लास मनाइयो । पार्टी भनेपछि मनुष्य औधी खुशी किन हुन्छ भनेको त कुरा यस्तो रहेछ , सरकारी खर्चमा अजीर्ण हुने गरी हसुर्न पनि पाइने , उन्मादी संगीतको तालमा नाच्न पनि पाइने । आनन्दको यो अतिरेकमा रम्ने अवसर त्याग्न निकै मुस्किल हुन्छ ।

पार्टी स्थलमा म स्वयं त गइन । तर त्यहाँ उपस्थित केही सहभागीहरुलाई मैले सोधे । नगरपालिकाले आयोजना गरेको तिज दरखाने कार्यक्रममा कति जना गरिब , दलित , कमजोर असहायहरु थिए ? मालिकको सुर्ती कारखाना र विडी कारखानामा सुर्ती कुट्ने मजदुर महिलाहरु आमन्त्रित थिए ? मालिकका खेतमा भदौरे प्रचण्ड घाम र उखरमाउलो गर्मीमा धान गोड्न पस्दा पिठ्यू पाछिएका मजदुर महिलाहरु कति थिए ? इटा भट्ठामा टाउकोमा इटा बोकेर ओसार्ने मैलाघैला महिलाहरु कति जना थिए ? शोषणपूर्ण बालीघरे प्रथा अनुसार घरघरै चाहारेर सेवा दिने कथित पानी नचल्ने बनाइएका दलित महलिाहरु कति जना थिए ?

उनीहरुले उत्तर दिए – अपवादलाई सिद्धान्त र उदाहरण नबनाउने हो भने, तपाईले सोधे जस्ता वर्ग र तहका भूईमान्छेहरु कोही पनि थिएनन् । “हुँदा खाने ” वर्गहरु थिएनन् “हुनेखाने ” वर्गहरु कै जमघट थियो । सुकिला मुकिलाहरु कै जमघट थियो ।

बालसखा नन्द कुमार जी ,

एकातिर तिज पर्वमा पार्टी गर्नका लागि सरकारी बजेट खर्च गर्ने कुनै पनि कानूनी प्रावधान छैन । कार्यपालिकालाई दिएको अधिकारको दुरुपयोग गरी जनताले तिरेको करबाट संकलित रकममा “गिर ” खेल्ने प्रवृति भ्रष्टाचारजन्य कसुर हो । गल्ती एक पटक हुन्छ । गत वर्षको गल्ती त्यो पनि जानिबुझी दोहो¥याउनु कानून व्यवस्थालाई चुनौती दिनु हो । गरिब, दलित , कमजोर र असहाय वर्गलाई देखाएर तिज पर्वको नाममा बजेट छुट्याएर सभ्रान्त, हुनेखाने र जनप्रतिनिधि तथा कर्मचारीहरुले पार्टी गर्नु कानूनी अपराध मात्र होइन घोर अनैतिक लज्जाजनक कुकृत्य पनि हो । गरिब , दलित कमजोर र असहाय वर्गको नाममा बजेट झिकेर जसरी मोज गरिएको छ , यो पापको प्रायश्चित गरेर पनि साध्य छैन । यसलाई सिधै आर्थिक अपचलन भन्न मिल्छ । जनताले रगत पसिना बगाएर तिरेको कर को यो भन्दा ठूलो दुरुपयोग अरु केही हुनै सक्दैन । म मेरा मित्र वडाध्यक्ष नन्द कुमार जीलाई चुनौती दिन चाहान्छु । नगरपालिकाले आयोजना गरेको तिज पार्टीमा गरिब, दलित, कमजोर र असहाय वर्गका कति जना महिला थिए ? हाजिरी वा तस्विर देखाएर पुष्टि गर्नुहोस् । नत्र स्वीकार गर्नुहोस् हामीले गरिब, दलित, कमजोर र असहाय वर्गलाई देखाएर सभ्रान्त वर्गलाई मोज गरेका छौं ।

दौतरी मित्र नन्द कुमार जी ,

मेयर श्याम श्रेष्ठले गोलबजार नगरपालिकालाई कसरी “दुहुनो गाई ” बनाएका छन् भन्ने कुरा पत्ता लगाउन अब कठिन छैन । प्रतिपक्षी दलका तपाई जस्ता नेपाली कांग्रेसको उदीयमान युवा नेता वडाध्यक्ष नै मेयरको हरेक गलत निर्णयको पक्षपोषक भए पछि उनलाई सजिलो र हाइसञ्चो भएको छ । तिजमा सरकारी रकम खर्चिनु हुँदैन भनेर प्रतिवाद गर्नु पर्ने स्थानमा उल्टै तपाई जस्ता कांग्रेसका वडाध्यक्षहरुले मेयरको गलत कदममा साथ सहयोग र बचाउ गरेपछि त्यहाँ सुशासनको आशा गर्नु व्यर्थ छ । अहिले यो कार्यकाल भरी तपाईलाई मेयर श्याम श्रेष्ठको “सागिर्द ” बनेर “काले काले मिलेर खाउँ भाले ” गर्न सजिलो भएको छ । तर आज तपाईले गर्नुभएको व्यवहारले भोलिका दिनमा तपाईले मात्र होइन तपाईको पार्टीले पनि जनता समक्ष जवाफ दिनु पर्ने छ । यसतर्फ तपाईको पार्टीको ध्यान किन पुग्दैन , मलाई थाहा छैन । पहाडे समुदायका महिलाहरुले तिज गर्छन् । उनीहरुका लागि ३ लाख बजेट छुट्याउनु भयो । अब मधेशी महिलाहरुले “जितिया” पर्वका लागि बजेट माग्न आए गोलबजार नगरपालिकाले के गर्छ ? यो प्रश्न पनि खडा भएको छ । जातीय विभेद त गर्न पाइदैन । मधेशी महिलाहरुका लागि जितियामा ३ लाख किन न छुट्याउने भन्ने प्रश्न उठ्नु त स्वभाविक हो ।

समाजवादी बिचारका अनुयायी मित्र नन्द कुमार जी

गोलबजार नगरपालिका वडा नं. ४ का १० वर्षिय बालक भरत महरा आसाध्य रोग लागेर मरण जीवनको दोसाँधमा छन् । उनी साच्चै दलित , गरिब , कमजोर र असहाय हुन् । उनको घरमा बिहान खाएपछि साँझ के खाने भन्ने चिन्ता हुन्छ । भरतको उपचारका लागि आमा कान्ति महरा दर्जनौपटक मेयर श्याम श्रेष्ठको घरमा पुगिन् । नगरपालिकामा पनि धाइन् । घरमा जाँदा मेयरले पर्सी नगरपालिकामा आउनु भनेर टारे । नगरपालिकामा जाँदा भोलि घरमै आउनु भनेर फर्काए । यो सिलसिला महिनौसम्म चल्यो । छोरोको प्राण रक्षाको लागि दुखियारी आमाले मेयर श्याम श्रेष्ठको अगाडि आँचल ( अचरा ) भूईमा ओछ्याएर भिख मागिन , अनुनय विनय गरिन् । रोइन् , कराइन् , अश्रुपुरित नयनले विलौना गरिन् । तर झुटा आश्वासन दिने बानी परेका मेयरले कान्ति आमा छोराको संवेदनशिलता बुझेनन् । कान्ति भन्छिन् हजुर काठको खुट्टा भए मेरो खुट्टा खिइएर घुँडासम्म आइपुग्थ्यो । म त्यति कुदें , धाएँ । तर निर्दयी मेयरले सुनुवाई गरेनन् । झुट बोल्नु उनको धन्दा नै रहेछ ।

हक्की सवभावका स्नेही मित्र नन्द जी

तपाईकै पार्टीका वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादव साक्षी छन् । उनैले अनेक श्रोतबाट खर्च जुटाएर बालक भरतको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार गराई रहेका छन् । यादव आफै भरतको उपचार खातिर काठमाडौं गएका छन् । ती बालकको जीवन जोगाउन यादवले गरेको प्रयत्न साच्चै प्रशंसनीय छ । उनले पनि दर्जनौपटक नगरपालिकामा भरतको उपचारको लागि कदम चाल्न आग्रह गरे । यो कुरा उनले फेसवुक स्टाटसमै उल्लेख गरेका छन् । वडाध्यक्ष यादव भन्छन् मेयरले वास्ता गरेनन् । हँ हँ भनेर टार्नु मेयर श्रेष्ठको “व्यसन” नै भएको छ । भरत जस्ताको उपचार गर्न कार्यपालिकाले किन चासो लिदैन ? किन तिज पार्टीका लागि ३ लाख बजेट छुट्याउने तुरुन्त सहमति हुन्छ ? के यो न्यायसंगत छ ? त्यो पार्टीमा खर्च गरिएको रकम भरत जस्ताको उपचारको लागि छुट्याउनु पर्ने हो की तिज पार्टीका लागि ? जनताले के भनेर तपाईहरुलाई भोट दिएका हुन् ? भोलिका दिनमा भरत जस्ता दलितका घरमा कसरी भोट माग्न जानु हुन्छ ? जनताले सोध्लान प्रतिपक्षी भएर नगरपालिकामा भएको भ्रष्टाचार रोक्न के के भूमिका खेल्नु भयो ? के उत्तर दिनुहुन्छ ? एक दिन जनता जाग्ने छन् ।

मेरा मित्रको जय होस्
अर्जुन थपलिया


प्रकाशित : २०८१ भाद्र २१ शुक्रबार