
स्वास्थ्य चौकीको ढोकामा ताल्चा लगाइएको छ । सर्वस्वहरण भए जस्तै आकुल व्याकुल र मलिन अनुहार लिएर ढोकामा एउटी दुखिया उभिएकी छिन् । उनी घरीघरी आवेगमा आउँछिन् । घरी निराशामा लामो सास फेर्छिन । कुनै बेला थाकेर सुस्केरा हाल्छिन् । रञ्जु कुनैबेला आवेगमा आएर चर्को स्वरमा बोल्थिन् त कुनैबेला वेदना छचल्किएर उनको आँखाको गहभरी आँशु भरिन्थ्यो ।
स्वास्थ्य चौकी वरिपरी दर्जनौ सेवाग्राही पर्खेर बसेको ४ घण्टा बितिसकेको थियो । उपचार पाउन आएका गर्भवती , नयाँ सुत्केरी महिला , घाउमा ड्रेसिङ्ग गराउन पर्खेका बिरामी , ज्वराक्रान्त बालबालिकाहरु सेवाग्राही थिए । उनीहरुको धैर्यताको बाँध टुट्न थालेको थियो । सेवाग्राहीहरु होहल्ला गर्न थालेका थिए ।
ढोका बन्द भएका कारण स्वास्थ्यकर्मीहरु भित्र छिर्न पाएका थिएनन् । समस्या समाधान होला भनेर वरण्डामा कुरेर बसेका थिए । रञ्जुको ठाउँमा नयाँ नियुक्ति लिएर हाजिर हुन पुगेकी अर्की महिला कर्मचारी पनि तनावमा थिइन् । जागिरको पहिलो दिन , हाजिर गरेर रमाउँला भन्दै कार्यालयमा पुगेकी ती महिलालाई पनि पहिलो गाँसमै ढुङ्गा परेजस्तो भएको थियो ।
वरण्डाको एक छेउमा वडाध्यक्ष धन प्रसाद लामा किंकर्तव्यविमुढ भएर बसेका थिए । दबाब दिउ वा जोर जोरजुलुम गरेर ढोका खुलाऔं भने रञ्जुले पासो लागेर मरिदिन्छु भन्दै लामासमक्ष न्यायको गुहार लगाएकी छिन् । ढोका नखुलाउँ त उपचारका लागि आएका दर्जनौ सेवाग्राही स्वास्थ्य चौकी वरिपरी कुरेर बसेका छन् । दिनभरी स्वास्थ्य चौकी बन्द गरिएको थाहा पएर आधा दर्जन पत्रकारहरु घटनास्थलमा पुगेको देखेपछि वडाध्यक्ष लामा झस्किए । वडाको समस्या सर्वत्र पुग्ने भयो भन्ने उनको चिन्ता थियो । वडाध्यक्ष लामालाई के गरौं , के नगरौं भयो । केहीबेर उनी विलखबन्दमा परे ।
वडाध्यक्षको एकल अनुनय विनयबाट ढोकामा धर्ना दिएकी रञ्जु साह टसमस नभएपछि उनले गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्ण र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पनि फोन गरेर बोलाए । सबैले अनुरोध गरेपछि अन्तत ४ बजेतिर रञ्जुको मन पग्लियो । नगर प्रमुख श्रेष्ठ काठमाडौंबाट फर्किएपछि ७ दिन भित्र छलफल गरेर समस्याको समाधान गर्ने शर्तमा स्वास्थ्य चौकीको ढोका खोलियो । यो दृश्य हो गोलबजार नगरपालिका वडा नं. ३ जमदह स्वास्थ्य चौकीको । हिजो आइतबार जमदह स्वास्थ्य चौकीमा यस्तै विद्रुप रमिता थियो ।
वडाध्यक्ष लामाले भने , दुई वर्ष अघि गोलबजार नगरपालिकाले सबै कर्मचारी हटायो तव स्वास्थ्य चौकीहरुबाट कार्यालय सहयोगीहरु ( पियन ) पनि हटाइए । स्वास्थ्य चौकीहरुमा कार्यालय सहयोगीहरुको खाँच्चै भयो । त्यतिबेला रञ्जु साह एक जना प्रभावशाली आफन्त श्याम कुमारीलाई लिएर नगर प्रमुख श्याम कुमार श्रेष्ठ नजिक पुगिन् । उनले आफू गरिब, दुखियारी भएको व्यथा सुनाएर जमदह स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा पुन नियुक्ति मागिन् । मेयर श्रेष्ठले लिखित नियुक्ति त दिएनन् तर उनीहरु तीनजना बीच भद्र सहमति भयो । अहिले मौखिक रुपमै बिना नियुक्ति काम गर्दै गर्ने । ज्यालादारीमा राखेर तलब दिन्छु । पछि स्थायी नियुक्ति गरिदिन्छु ।
मेयर श्रेष्ठको मौखिक आश्वासन कै भरमा रञ्जुले पुगनपुग दुई वर्ष वडा नं. ३ जमदहको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गरिन् । वडाध्यक्ष लामा भन्छन् मैले देखेकै हो , रञ्जुले कुचो लगाएको , नास्ता पानी ओसारेको, बैठकहरुमा सरसफाई गरेको । दुई वर्ष नबिराई काम गरिन् । लामाले भने , मेयर साहेवसँग के सहमति भएको थियो रञ्जु र मेयरले जानुन् तर मजदुरले काम गरे पछि ज्याला पाउनै पर्छ । पारिश्रमिक नदिई काम लगाउनु शोषण हो , अन्याय हो , वेनिसाफी हो । समस्या खडा गरिदिनु हुन्छ मेयरले भोग्नु पर्छ हामीले – वडाध्यक्ष लामाले विवशता प्रकट गर्दै भने ।
रञ्जुले भनिन् , सहमति त मलाई स्थायी गरिदिने भएको थियो । मैले परीक्षा पनि दिएँ । तर मलाई पास गरिदिएनन् । मेरो ठाउँमा अर्की महिला नियुक्ति लिएर आइन् । मैले काम गरेको दुई वर्षको पारिश्रमिक त दिनुप¥यो नी ! रञ्जु भन्छिन् , स्थायी नियुक्ति पाउने आशमा मैले दुई वर्ष तलब नलिई काम गरें । मलाई नियुक्ति दिने वचनवद्धता गरेका थिए मेयरले । बोलीको ठेगान नभएको मेयरले अर्को मान्छे नियुक्त गरेपछि कमसेकम मेरो ज्याला मजदुरी त दिनु पर्छ नी ! मेरो पसिनाको दाम नदिए म फेरि एक सातापछि स्वास्थ्य चौकीमा ताला लगाउँछु ।
रञ्जु त एक प्रतिनिधि पात्र मात्र हुन् । मेयर श्रेष्ठको झुठा आश्वासनको शिकार भएर विगत दुई वर्षदेखि मजदुरी गर्ने तर ज्याला नपाउने दर्जनौ पीडितहरु छन् । वडा नं. २ कि इन्द्रकला यादव पनि यसरी नै ठगिएकी छिन् । उनको पनि करिव ९ महिनाको पारिश्रमिक मेयर श्रेष्ठको झुटको खोलाले बगाएको छ ।
पुराना तथा पाका वामपन्थी चिन्तक दामोदर अधिकारी भन्छन् , कम्युनिष्ट पार्टीका नेताका हैसियतमा श्याम श्रेष्ठ मेयर भएका हुन् । कम्युनिष्ट सिद्धान्तले भन्छ बिना पारिश्रमिक मजदुरलाई काम लगाउन हुँदैन । अझै काम गर्नु पूर्व मजदुरलाई मजदुरी दिनुपर्छ भन्ने पनि कम्युनिष्टहरुको माग छ । कानूनले पनि सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिई काम लगाउन पाइदैन भनेको छ । काममा लगाएर पारिश्रमिक नदिए शोषण गरेको ठहर्छ । श्रम ऐन अनुसार कारवाही हुन्छ । मेयर श्रेष्ठलाई कम्युनिष्ट सिद्धान्त र प्रचलित नेपाल कानूनबारे यति त हेक्का हुनु पर्ने हो नी !
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् मेयर जस्तो गरिमामय पदमा बसेको मान्छेले कानून , सामान्य सामाजिक नैतिकता र न्याय निसाफको हेक्का राख्नुपर्छ । मेयरको बोलीमा वजन हुनुपर्छ , मैले बोलेको पु¥याउनु पर्छ , जथाभावी झुटा आश्वासन दिनु हुँदैन, वाराम्वार झुट बोल्दा जनतामा फटहा भएको सन्देश जान्छ भन्ने बिचार पु¥याउनु पर्छ । बोलेर पु¥याउन नसक्ने कामका लागि एक क्षणको लोकप्रियताको लागि झुटको खेती किन गर्ने ? काम लगाएर पारिश्रमिक नदिनु अनैतिक त हो नै अपराध पनि हो । सिंह भन्छन् मध्ययुगिन समाजमा पनि यस्तालाई जनताले वेनिसाफी र चण्डाल राजा भन्ने आँट गर्थे ।
काम गरेको ज्याला नपाउनु भनेको वर्वर जंगली व्यवस्था हो । त्यहाँ इन्साफ म¥यो भन्ने जान्नु । रञ्जुका घरमा बालबच्चा गुँडमा बचेराले मुख आँ गरेर बसेजस्तो बसेका होलान् । आमा काम गर्न गएकी छिन् । फर्किदा चामल , तिउन तरकारी लिएर आउँछिन् भन्ने आशा छ । रञ्जुलाई पनि घरको आर्थिक अभाव र अनेक गर्जो टारेर सजिलो सास फेरुँला भन्ने धोको थियो । तर गरिब दुखिया रञ्जुको सपना झुट बोलेर नथाक्ने राजाको फुस्सा बचनसँगै विलायो । दुई वर्षको परिश्रम खेर जाँदा रञ्जु झन् गरिबी गहिरो खाडलमा डुबिन् । रञ्जु औडाहामा छिन् । उनको बालबच्चाको मुखबाट गाँस खोसिएको छ ।
मेयर श्रेष्ठको यस्तो रवैयाले समाजमा कस्तो थिति बस्ला ? कस्तो नैतिक मूल्य मान्यता स्थापित होला ? के इन्साफ शब्दको मूल्य दुई कौडीमा झरेकै हो त ? समाजको अगाडि पनि यो नैतिक प्रश्नले जवाफ माग्दै छ ।