
गोलबजार नगरपालिकाले मालपोत दरमा ५ हजार गुण वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ सम्म ५ रुपैया मालपोत तिर्दा हुने ठाउँमा अब ८ हजार मालपोत तिर्नु पर्ने भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि नगरसभाबाट पारित गरिएको करको दर रेट अनुसार मालपोत असुलीको आधारमा तीन भागमा जग्गाको वर्गीकरण गरिएको छ । पहिलो क्षेत्र हो औद्योगिक (कर्पोरेट ) क्षेत्र । यस क्षेत्र अन्तर्गत वडा नं. ४, ५ र ६ को अधिकांश भाग पर्दछ । बजार क्षेत्रको आवास क्षेत्रलाई औद्योगिक क्षेत्र बनाएर प्रति धुर २० रुपैयाँ मालपोत उठाउने विधेयक नगरसभाबाट पारित गरी लागू गरिएको छ । यस अनुसार विघाको ८ हजार हुन आउँछ ।
त्यसैगरी सम्पूर्ण नगर भित्रको गाउँ बस्ती र सडकले छोएको जग्गालाई आवास क्षेत्र घोषित गरी प्रति धुर १० रुपैयाँ मालपोत उठाउने नीयम लागू गरिएको छ । यस अनुसार १ देखि १३ वटै वडाको गाउँ बस्ती र सडकले छोएको जग्गाको मालपोत प्रति विघा ४ हजार तिर्नु पर्ने भएको छ ।
कृषिको लागि प्रयोग हुने जग्गामा पनि प्रति कट्ठा २० रुपैया मालपोत तोकिएको छ । यस अनुसार अब एक विघा जग्गाको ४ सय रुपैयाँ मालपोत तिर्नु पर्ने भएको छ ।
नयाँ नीयम अनुसार गोलबजार नगरपालिकाले मालपोत उठाउन थालेपछि आम जनता विलखबन्दमा परेका छन् । मालपोत तिर्न जाने नागरिकहरु अच्चम्भित भएर औंला टोक्छन् । गत वर्षसम्म ५ रुपैयाँ तिर्दा हुने ठाउँमा यसपाली एक्कासी ४ हजार देखि ८ हजार प्रति विघा मालपोत तिर्नु पर्दा जनताको मेरुदण्ड भाँचिएको महसुस भइरहेको छ । मालपोत तिर्न जाने नागरिकले यस्तो कसरी भयो ? यति धेरै कर कसरी तिर्न सकिन्छ भनेर प्रश्न गर्दा कर तिरेपछि विकास हुन्छ भन्दै कर्मचारीहरुले ओठे जवाफ फर्काएको एक किसानले बताए ।
यस विषयमा नेपाली कांग्रेसका नेता राजदेव साह लालबाबु भन्छन् , हामी समक्ष जनताहरु गुनासो गर्न आउन थाले । आम जनताको गुनासो बाक्लै आउन थालेपछि के भएको रहेछ भनेर बुझ्दै जाँदा हाम्रो ध्यान आकृष्ट भयो । उनले भने , “यो त सिधै रावण र कंश प्रवृति देखियो । आधुनिक राज्य प्रणालीमा प्रगतिशील कर प्रणाली हुन्छ । कर वृद्धि गर्दा समय , मूल्यवृद्धि , मुद्रास्फिति दर , आर्थिक गतिविधि सबै कुराको मूल्याङ्कन गरिन्छ । यो त अविवेकी र हुल्लडवाजहरुले सनक चढेर गरेको निर्णय जस्तै भएको छ । एकै पटक ५ हजार गुणा कर वृद्धि संसारमा कही कतै भएको छैन । ” थोरै पनि विवेक भएकाहरुले यस्तो निर्णय गर्दैनन् ।
नेपाली कांग्रेसका नेता साह भन्छन् , जनताको पीर मर्का बुझेर हामीले तत्कालै पार्टीको बैठक राखेर निर्णय गरेका छौं । एक साता भित्र यो रावण र कंशको जस्तो कर खारेज गरिएको र मालपोत पूर्ववत रुपमा कायम गरिएको लिखित घोषणा गरिएन भने नेपाली कांग्रेस सडकमा उत्रिन्छ । शासकहरुको सदबुद्धि पलाओस् । नत्र आन्दोलनको आँधीबेहरीले नगरपालिकाको कालोमैलो सफा गर्छ । नेपाली कांग्रेसले जन आन्दोलनको अगुवाई गर्छ । म स्वयं नेतृत्व गर्छु ।
नेपाली कांग्रेसको बैठकमा वडाध्यक्ष बालकृष्ण गौतमसँग स्पष्टिकरण सोधिएको छ । मेयर श्याम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको लाचार छायाँ बनेर जनघाति निर्णयमा किन सही गरेको ? मालपोत वृद्धिको निर्णयमा सही गर्नु अघि पार्टीलाई किन नसोधेको ? भ्रष्टाचारको केसहरुमा प्रमुख प्रशासकीय अधिकृत केसीको बचाउमा किन उभिएको जस्ता प्रश्नहरु सोधिएको कांग्रेस सुत्रहरुले जानकारी दिएका छन् । बैठकमा मेयर श्याम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृतसँगको अप्राकृतिक मोह र घनघोर घनिष्टताको कारण के हो ? बजारमा त बालकृष्ण गौतमको झुकाव देख्दा कतै लहसिएको हो कि भन्ने हल्ला छ त ! जस्ता प्रश्न र जिज्ञाशा उठाइएको थियो । बैठकमा गौतमलाई पार्टीका कार्यकर्ताहरुले हायलकायल पारेको सुत्रहरुले जानकारी दिएका छन् ।
पार्टीको बैठकमा नेतृत्व पंक्ति र कार्यकर्ताहरुले हुर्मत लिने गरी स्पष्टिकरण सोधेपछि गौतम हस्याङ्गफस्याङ्ग गर्दै मेयर श्रेष्ठलाई भेट्न पुगेको र तत्कालै कार्यपालिका बैठक गराएको बुझिएको छ । यस सम्बन्धमा वडाध्यक्ष गौतमलाई सोध्दा उनले पार्टी बैठकमा आफूलाई सोधनी भएको स्वीकार गरे । उनले कार्यपालिकाको बैठक भएको पनि स्वीकार गरेका छन् । उनले भने , मालपोत वृद्धिमा हाम्रो प्राविधिक त्रुटी भएको हो । कट्ठा लेख्ने ठाउँमा धुर लेखिएछ । हामी सच्याउँछौं । हिउँदै अधिवेशनमा यो निर्णय सच्चिन्छ । सच्याउन किन ढिलाई गरेको भनेर थप प्रश्न गर्दा उनले भने राजस्वका कर्मचारी तालिममा गएका छन् । कम्प्यूटर टाइप गर्ने मानिस छैन । उनी आएपछि सच्याउँछौं ।
मालपोत अस्वभाविक र अतिशय वृद्धि गरिएको सन्दर्भमा नेकपा एकीकृत समाजवादीका युवा नेता राम उदगार साह भन्छन् , अब मेयर श्याम श्रेष्ठले सिरिञ्ज लिएर जनताको रगत तान्न मात्र बाँकी छ । एक साता भित्र मालपोतको नाममा जनताको लहु तान्ने नगरपालिकाको निर्णय खारेज गरिएन भने हामी आन्दोलनमा उत्रिन्छौं । मेयर श्रेष्ठको रावण राज चल्दैन । उनले भने मेयर श्रेष्ठले गोलबजारबाटै बंगलादेशको दृश्यलाई निम्तो दिएका छन् ।
मालपोत वृद्धि सम्बन्ध पूर्व मेयर देवनाथ साह भन्छन् , पञ्चायतकालीन व्यवस्थामा समेत डेढ विघा जमिन हुने किसानलाई ९५ प्रतिशत मालपोत छुट गरिएको थियो । हाम्रो पालमा पनि हामीले रसिदको पैसा वापत मात्र ५ रुपैयाँ मालपोत उठायौं । हामीले सम्पति कर लगाउँदा आन्दोलन भएको थियो । त्यसपछि हामीले प्रति लाखमा १० रुपैयाँ सम्पति कर लगाएका थियौ । तर अहिले त नगरपालिकाले अत्याचारको सीमा नाघेको छ । यति मालपोत त जनताले तिर्नै सक्दैनन् । यो तुरुन्त बदर गरिनुपर्छ । पूर्व मेयर साहले भने जनताले चुनावमा गरेको गल्तीको नतिजा अहिले भोग्नु परिरहेको छ । उनले भने हाम्रा वडाध्यक्षहरु पनि मूर्ति जस्ता छन् । राम्रा देखिन्छन् तर बोल्दैनन् ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् मालपोत वृद्धिको अनुपात हेर्दा त लाग्छ नगरपालिका भित्रका शासकहरु रावण र कंशका उत्तराधिकारी हुन् । यो त सिधै लुटतन्त्र हो । थोरै पनि विवेक भएको शासकले यस्तो अत्याचारी र हाहाकारी कर लगाउँदैनन् । चोहर्वा दरवारलाई अधिक भन्दा अधिक कर असुलेर त्यसमा मौज गर्नुछ । तर बिचार पु¥याऔं , नगर भित्र सुनामी उठदै छ । सुनामीले उडाउला यति हेक्का राखे हुन्छ ।
यस प्रसंगमा मेयर श्याम श्रेष्ठसँग जिज्ञाशा राख्दा उनले भने हामीले कार्यपालिकाको बैठकमा छलफल गरेका छौं । कही कतै गल्ती भएको रहेछ भने त्यसलाई सच्याउँछौं । कार्यपालिकाबाट सच्याएर हिउँदे अधिवेशनबाट अनुमोदन गराउँछौं ।