के पत्रकारिता भनेको “ मौतका कुँवा ” हो त ?

[sharethis-inline-buttons]

अर्जुन थपलिया
पत्रकार मुकेश यादव ( स्वामी ) ले धनगढीमाई नगरपालिकामा भएको भ्रष्टाचार बारे जम्मा दुईवटा समाचार लेखेका थिए । त्यहाँका नगर प्रमुख शिवशंकर महतोको आवेग सगरमाथाभन्दा माथिको उचाईमा पुग्यो । धन्न धम्की फोनमार्फत आयो । आमने–सामुन्ने भएको भए मानौ मेयर महतोले पत्रकार मुकेशलाई धृतराष्ट्रले भीमको फलामे मुर्ति चकनाचुर पारे झैं पार्थे । फोन सम्वाद गर्दैगर्दा मेयर महतो अभिमानको अरबी घोडामा सवार थिए । उनको रीसको पारो नियन्त्रण बाहिर थियो । स्वस्थानी व्रतकथाका पात्र महादेवको जटाबाट उत्पति भएका वीरभद्र झैं कटट्ट दाह्रा किट्ने , आँधि झैं सुसाउने सास फेर्ने र पटटट हाडीमा मकै फूल उठ्ने शैलीमा प्रस्तुत भए । लर्तरो भए मुकेश डरले बेहोस हुने थिए होलान् । तर पत्रकार मुकेश आफैमा पत्रकारिताका धौलागिरी मन्दराचल हुन् । समुन्द्र मन्थनमा यो पर्वतलाई धुरी बनाइएको शास्त्रमा वर्णित छ । औंला देखाउँदा फतक्क कुहिएर झर्ने चिलिला होइनन् मुकेश । इस्पाती छाती लिएर पत्रकारिताको मैदानमा डटेका छन् । उनलाई मेयर महतोले तर्साउन र गलाउन सक्ने कुरा भएन । भविष्यमा पनि त्यसको कुनै सम्भावना छैन ।
बोल्ल्दाबोल्दै मेयर महतो ज्वरआक्रान्त व्यक्ति झैं वर्वराउन थाले । उनले मुकेशलाई “दुई कौडीको पत्रकार” र “पत्रकारिता घुसारी दिने ” सम्म भन्न भ्याए । गम्भीर भएर गम्ने हो भने मेयर महतोको यो अभिव्यक्ति “गालीगलौज ” को श्रेणीमै पर्छ । थोरै पारिश्रमिक पाउने , सम्पत्ति कम भएको , वातानुकूलित गाडीमा नचढ्ने , चर्को घाम र चिसो सिरेटोमा फिल्डमा खटिएर समाचार संकलन गर्ने र जनतालाई सूचना पस्किने एक जना श्रमजीवी पत्रकार मुकेशलाई मेयर महतोले “दुई कौडी” को व्यक्तित्व भनेर लाञ्छित गरेर “हेय” उपमा दिएका होलान् । तर पत्रकार मुकेश लोकतन्त्रका सिपाही हुन् । सुशासनका अभियन्ता हुन् । समाजलाई सत्य तथ्य अवगत गराउने अनुसन्धानकर्ता पनि हुन् । राज्य र समाजलाई हेर्ने तेश्रो “चक्षु” पनि हुन् । समाजमा लोकतान्त्रिक मूल्य र मान्यता कायम गर्ने दृष्टिकोणबाट हेर्दा मुकेश “दुई कौडी ” का होइनन् अपितु “अमूल्य निधि” हुन् । मेयर महतोको त्यो दिनको अभिव्यक्तिको आधारमा उनको मूल्याङ्गन गर्ने हो भने उनलाई क्षणिक उग्रता प्रदर्शन गर्ने अपरिपक्व मश्तिष्क भन्दा अतिशोयुक्ति नहोला । उनले देखाएको अनुसारको दम्भ पूरा गर्न सक्ने उनको ल्याकत र वर्कत पनि छैन । उनले कुनै पनि हालतमा मुकेशको पत्रकारिता कहीँ कतै लगेर घुसार्न सक्दैनन् । उनले आवेश थाम्न नसकेर जसरी मुकेशको हुर्मत लिन खोजे त्यसले उनकै व्यक्तित्व विघटन गराएको छ ।
पञ्चायतकालमा पत्रकारिता गर्नुको अर्थ हुन्थ्यो बढीमा मारिनु र घटीमा जेल नेल पर्नु । थुनामा पर्नु र मुद्दा मामिला झेल्नु त सामान्य नै थियो । राजनीति गर्ने नेताहरुको लागि पनि उस्तै जोखिम थियो । लोकतन्त्र आएपछि पत्रकारितालाई राज्यको चौथो अङ्ग, समाजको ऐना वा लोकतन्त्रको पथ प्रदर्शक अनेक विशेषणले अलङकृत गरियो । तर भनाइ र व्यवहारमा भिन्नता देखिन्छ । वास्तवमा लोकतन्त्र आएपछि पनि पत्रकारहरुको लागि पत्रकारिता “मौत का कुवाँ” नै सावित भएको छ । भ्रष्टाचार विरुद्ध खोजी गरेर समाचार प्रकाशित गर्ने पत्रकारहरु विनय आजाद , मुकेश यादव, अर्जुन थपलिया, दिनेस्वर गुप्ता लगायत अन्य दर्जनौ पत्रकारहरुले धम्की , थुना र हिंसात्मक हातपातको शिकार हुनुपरेको छ । पत्रकारहरुसँग त्यस्तै व्यवहार गरिन्छ जुन व्यवहार जमिन्दारको बेठवेगारीमा काम गर्ने मजदुरसँग गरिन्छ । पत्रकारका लागि यो पेसा खान नपाएर पेट पाल्नका लागि मौतका कुँवामा पसेर जोखिम मोलेर मोटरसाइकल फनफनी घुमाउने व्यक्ति जस्तै भयो । हरहमेसा ज्यान जोखिममा । पलपलमा मारिने डर । जवकी राजनीतिकर्मीहरु पदमा पुगेर आफूलाई “गद्दीनसिन राजा” ठानेर निरंकुशता प्रदर्शन गरिरहेका छन् । त्यसको पछिल्लो उदाहरण सिरहामा मेयर महतोलाई लिन सकिन्छ । पत्रकार मुकेशलाई उनको धमक्याउने शैली र चरित्रको मजवुन हेर्दा पञ्चायतकालीन अञ्चलाधीशको जस्तै थियो । मानौ उनीसँग “मृत्युदण्डकोे फर्मान” जारी गर्ने अधिकार छ । मानौ उनको “हुकुम प्रमाङ्गी” चल्छ । मानौ उनले मुकेशलाई पत्रकारिता गर्न नदिने “सनद” जारी गर्न सक्छन् ।
मेयर महतोलाई हेक्का रहोस् । संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपालको संविधानले मानिस–मानिस बीच पत्रकारलाई “दुई कौडीको मानिस ” र मेयरलाई “मान सम्मानयुक्त विशेष मानिस ” हुने विभेद गर्न मनाही गरेको छ । सबैको मान बरावर छ । अर्को कुरा मुकेश जस्तो कलमजीवी मेयर महतोको “मृत्युमय फतवा” बाट डरायो भने समाजमा अनाचार फैलिन्छ । दिउँसै अन्ध्यारो हुन्छ । लोकतन्त्रको स्पन्दन बन्द हुन्छ । मुकेश जस्ता पत्रकारलाई के लाग्छ भने जुन मृत्यु पत्रकारिताको कर्तव्य पथमा मिल्छ त्यो ज्यानभन्दा महत्वपूर्ण हुन्छ । मेयर महतो ज्यु, अब २१ सौं शताब्दीमा बन्द समाजको अभ्यास सम्भव छैन । अब खुला समाजको अभ्यासलाई कसैले रोक्न सक्दैन ।
मेयर महतोलाई पनि स्वतन्त्रता प्राप्त छ । उनले आफ्नो गुणगानमा विरुदावली लेख्ने पत्रकारहरु नियुक्त गर्न सक्छन् । त्यस्ता पत्रकारहरु उपलब्ध पनि छन् । पारितोषिक दिएर दैलोमा पत्रकार राख्न सकिन्छ । घरबाट निस्कन साथ मेयरको चम्किलो जुत्ताको वयान गर्दै चार पंक्ति लेखिदिने पत्रकार पनि समाजमा उपलब्ध छन् । तिनलाई आफ्नो महिमामण्डण गर्न लगाउने मेयरको अवसर कसैले खोस्न सक्दैन । कहिलेकाँही केही पत्रकारहरुलाई परिचालन गरेको पनि देखिन्छ । भाडाका पत्रकारहरुसँग पनि हाम्रो आग्रह छ कि तपाईहरुले आफ्ना सीप र कौशल प्रयोग गरेर मेयर महतोको जयगान गर्न सक्नु हुन्छ । मात्र के बिचार गरिदिनुस् भने चार पैसाको लागि अर्को सहकर्मीले संप्रेषण गरेको सूचनाको खण्डण नगरी दिनुस् । सक्नुहुन्छ भने पत्रकारिताको यति आचारसंहिता पालन गरिदिनुस् । आगे हजुर हजुरको मर्जी । तर स्वाभिमानी पत्रकारहरुलाई निचा देखाउने , तर्साउने , धम्की दिने र प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने जमर्को नगर्दै उत्तम स्थिति रहला । पत्रकारिता प्रति उत्सर्ग स्तरको लगाव र प्रेम भएका पत्रकारहरु पनि छन् यहाँ ।
यद्यपि मेयर महतोले एक प्रेस विज्ञप्ती प्रकाशित गरी आफूलाई सच्याउनु भएको छ । उनको यो कदमलाई हामी महत्व दिन्छौ । किनकि लोकतन्त्रमा आलोचना र आत्मलोचनालाई शुद्धिकरणको एक उपक्रम ( विधि ) मानिन्छ । संसारमा कुनै पनि व्यक्ति निष्कलंक र वेदाग हुँदैन । गल्ती कमजोरी सबैबाट हुन्छ । कुनै एक मामिलामा गल्ती गर्दैमा मानिसको विद्वता र आचरण सधैको लागि समाप्त हुँदैन । नयाँ उठान र नयाँ उडानले गति र लय समात्न सक्छ । तर गल्तीबाट सिक्ने मानसिकता हुनुपर्छ । लोकतन्त्रलाई जीवन पद्धति बनाऔं । पत्रकारितालाई “मौत का कुवाँ” ठानेर यो पेसामा हरहमेसा जोखिम छ भन्ने मानसिक भारी बिसाउन दिनुस् । पत्रकारहरुलाई पनि जोखिमरहित वातावरणमा कलम चलाउन पाउने सामाजिक परिस्थिति निर्माण हुन दिनुस् ।


प्रकाशित : २०८१ भाद्र ८ शनिबार