राजस्व उठाउँदै खल्तीमा हाल्दै प्रमुख प्रशासकीय अधिकृत

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाको ३ वटा हाटबजार ठेक्काबाट उठ्ने रकममा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदार बीच अनुचित साँठगाँठ देखिएको छ । हाट बजारबाट उठाइएको राजस्व अपचलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ प्रारम्भ भएकै दिन साउन १ गतेबाट मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवले गोलबजार गुदरी हाट , बाख्रा बजार र चोहर्वा पशु हाटबजारमा शुल्क ( बट्टी ) उठाउन थालेका छन् । ठेकेदारले ठेक्का चलन पुर्जी लिनु अघि अनिवार्य रुपमा बैंक ग्यारेण्टी बुझाउनु पर्छ । तर बैंक गरेण्टी नै बुझाइएको छैन । ठेक्का सम्झौता पनि भएको छैन । तर ठेकेदारले गैर कानूनी रुपमा ठेक्का कार्यान्वयन गरी शुल्क उठाउन थालेका छन् ।
यस सम्बन्धमा मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवसँग जिज्ञाशा उनले भने , “राख्दा उनले भने हामीले गुदरी हाट बजार , बाख्रा बजार र चोहर्वा पशुहाट ठेक्का लिएर गत साउनदेखि नै शुल्क उठाइरहेका छौं ” । चोहर्वा पशु हाट ३५ लाख, गोलबजार गुद्री हातबजार २७ लाख र बाख्रा बजार २७.लाखमा मानकी निर्माण सेवाले चालु आर्थिक वर्षको लागि ठेक्का सकारेको थियो । सञ्चालक यादवले भने छिट्टै बैंक ग्यारेण्टी पनि बुझाउछौं ।
गोलबजार नगरपालिकाका राजस्व शाखा हेर्ने कर्मचारी रामवृक्ष महतो भन्छन् बैंक ग्यारेण्टी बुझाउन नसकेको कारण ठेक्का सम्झौता भएन । सम्झौता नभएसम्म चलन पुर्जी दिन मिल्दैन । असारमा बैंकले बैंक ग्यारेण्टी जारी गरेन भनियो । साउन भरीमा अडिट गराएर बैंक ग्यारेण्टी बुझाउने शर्त थियो । भदौको पहिलो साता बित्दासम्म बैंक ग्यारेण्टी बुझाइएको छैन । मेयर साहव र प्रमुख प्रशासकीय अधिकृतको तजविजमा केही रकम किस्ता नगरपालिकाको खातामा जम्मा गरेर ठेकेदारले हाटबजार शुल्क उठाइरहेका छन् ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् , प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी भ्रष्टाचारका मास्टर माइन्ड हुन् । उनले नियतवश र आर्थिक अपचलन गर्ने तानावाना बुनेर यस्तो प्रकृया अपनाएका हुन् । बैंक ग्यारेण्टी नलिइ, सम्झौता नगरी र चलन पुर्जी समेत नलिई कसरी ठेक्का कार्यान्वयन गरियो ? कानून अनुसार त मिल्दै मिल्दैन । म चुनौती दिन चाहान्छु , ल कुन कानूनमा टेकेर यो ठेक्का कार्यान्वयन गराइएको हो बताउनु प¥यो ।
नेता सिंह भन्छन् यसमा लामो र गहिरो षडयन्त्र छ । अब ती ठेकेदारले रकम श्रीधर केसीलाई बुझाउँछन् । नगरपालिकाको खातामा थोरै जम्मा हुन्छ । धेरजसो राजस्व अपचलन हुन्छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतको खल्ती भरिन्छ ।
नेता सिंहले भने , आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा पनि उनले गोलबजार हाटबजार ठेक्का लगाए तर सम्झौता गरेनन् । चलन पुर्जी दिएनन् । दुई वर्षसम्म हाट बजारबाट उठेको राजस्व १ करोड ५२ लाख अपचलन गरियो । नगरपालिकाको खातामा जम्मा गरिएन । बाँडचुड गरेर हिनामिना गरियो । अख्तियारमा उजुरी परेको छ र छानविन कै क्रममा छ । त्यही घटनाको पुनः पुनरावृति गरिएको छ । उतिबेलाका ठेकेदार भन्छन् हामीसँग सम्झौता भएको छैन , चलन पुर्जी दिएको छैन हामी रकम तिर्दैनौ । कर्मचारी र जनप्रतिनिधि भन्छन् ठेकेदारले रकम बुझाएन असुल उपर गर्न सकिएन । नगरपालिकाको १ करोड ५२ लाख राजस्व गुमेको छ ।
नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री राजकुमार सिंह भन्छन् बैंक ग्यारेण्टी नराखी उधारोमा ठेक्का कार्यान्वयन गर्ने अधिकार कुनै आर्थिक कानूनले दिएको छैन । सम्झौता नगरी तथा चलन पुर्जी नलिई ठेकेदारले हाटबजारमा कदम राख्नै पाउँदैन । ती ठेकेदारले बैंक ग्यारेण्टी ल्याउन नसक्दा ठेक्का रद्द गरी अर्को ठेकेदारसँग सम्झौता गरिनु पथ्र्यो । सरकारी काम उधारोमा हुँदैन । अब ती ठेकेदारले म सम्झौता गर्दिन भन्यो भने के हुन्छ ? बैंक ग्यारेण्टी ल्याउनै सकेनन् भने के हुन्छ ? अहिलेसम्म उठाएको शुल्क ठेक्काबाट मान्ने कि अमानतबाट ? यसरी गैर कानूनी रुपमा ठेक्का चलन चलाउनुको पछाडि दुर्नियत देखिन्छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुका अध्यक्ष तथा युवा नेता सुरेश यादव भन्छन्, “हाट बजारबाट उठती रकम हिनामिना गर्ने र बाँडेर खाने प्रपञ्च गरिएको छ । अहिले ठेकेदारले केही रकम नगरपालिकामा बुझाएका छन् । पछि रकम बुझाए पनि खातामा जम्मा गरिंदैन । अमानतमा उठाएको र थोरै रकम उठेको देखाइन्छ । किनकि ठेक्का सम्झौता भएकै छैन । चलन पुर्जी दिएकै छैन । ” यादव थप्छन् , बैंक ग्यारेण्टी भए पो ठेकेदारलाई नगरपालिकाले कक्रयाएर असुल गर्न सक्छ । अन्तिममा ठेकेदारले बुढी औंला देखाइ दिन्छ । नगरपालिकाको राजस्व व्यक्तिको आम्दानी बन्न पुग्छ । उनले भने प्रमुख प्रशासकीय अधिकृत केसीको कुसाग्र दिमागबाट उब्जिएको भ्रष्टाचारी योजना हो । उनले गोलबजार नगरबासी अब धेरै दिन मौन रहन नहुने बताए ।

 


प्रकाशित : २०८१ भाद्र ७ शुक्रबार