
गोलबजार नगरपालिका स्थित राम प्रताप राम प्रसाद जनता बहुमुखी क्याम्पस गोलबजारको ११ सदस्यीय सञ्चालक समिति गठन भएको छ तर समितिमा महिलाको प्रतिनिधित्व शून्य छ । हिजो मंगलबार क्याम्पसमा बसेको सञ्चालक समितिको बैठकले माओवादीका स्थानीय रामचन्द्र सिंह र एमालेका कार्यकर्ता खगेन्द्र तामाङ्गलाई सञ्चालक समितिमा मनोनित गरिएको थियो ।
११ सदस्यीय सञ्चालक समितिमा सूर्यमान लामा अध्यक्ष , जगत यादव उपाध्यक्ष , सदस्यहरुमा संघीय सांसद लीलानाथ श्रेष्ठ , नेपाली कांग्रेसका नेता चन्द्रदेव यादव, क्याम्पस प्रमुख किशोर साह, उप प्राध्यापक प्रदीप साह, प्रदेश सांसद मनोज कुमार सिंह , मेयर श्याम कुमार श्रेष्ठ , उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह , माओवादी नेता रामचन्द्र सिंह र एमाले कार्यकर्ता खगेन्द्र तामाङ्ग रहेका छन् ।
सञ्चालक समितिका सदस्यका हैसियतमा बैठकमा सांसद लीलानाथ श्रेष्ठको पनि उपस्थिति थियो । त्यसैगरी माओवादीका नेता जगत यादवको पनि उपस्थिति रहेको थियो । सुत्रहरुले जानकारी दिए अनुसार बैठकमा एमाले नेतृ खेम लक्ष्मी श्रेष्ठ र माओवादी नेतृ गंगा क्यापछाकी तथा हसिना खातुनको पनि नाम मनोनयनका लागि प्रस्ताव गरिएको थियो । तर खाली रहेको दुई सदस्यको स्थानमा महिलाको चयन गर्नेतर्फ कसैले रुची देखाएनन् ।
नेपालको संविधानले नै समावेशी राज्य तथा संघ संस्थाको परिकल्पना गरेको छ । हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था छ । तर समावेशीताको लच्छेदार भाषण छाँट्ने सांसद लीलानाथ श्रेष्ठले आफ्नै उपस्थितिमा गोलबजार क्याम्पसमा गठन गरेको सञ्चालक समितिमा एक जना पनि महिलाको नाम नपर्दा थोरै पनि संवेदनशीलता देखाएनन् ।
मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साह भन्छिन् ११ सदस्यीय सञ्चालक समिति गठन हुँदा पनि एक जना महिला हुनुपर्छ भन्ने चेत नखुल्नुले पुरुष प्रधान समाज र त्यसबाट अनुप्रणाणित नेताको मनोविज्ञान र व्यवहारलाई उदाङ्गो पारेको छ । यो लिङ्गिय समावेशीता मास्ने राजनीतिक हिंसा हो । महिला प्रतिनिधित्वविहीन गोलबजार क्याम्पसको सञ्चालक समिति कानूनको नजरमा पनि मान्य र ग्राह्य हुन सक्दैन । महिला प्रतिनिधत्व बिनाको समितिमा बस्नु लोकतान्त्रिक आचरण विरुद्ध हो । नेताहरुले नैतिकताको हेक्का राखुन् ।
त्यसैगरी जनमत पार्टीका राम प्रगेश यादव भन्छन् गोलबजार क्याम्पस कुनै पार्टी विशेषको पैतृक सम्पति होइन । आ आफ्नो पार्टीको मान्छे राखेर एकलौटी सञ्चालक समिति गठन गरेका छन् । यो हामीलाई स्वीकार्य हुँदैन । यता जनता समाजवादी पार्टीका नेता हीरा यादवले पनि क्याम्पसमा आफ्नो पार्टीलाई सोधीखोजी नगरिएकोमा दुख व्यक्त गरेका छन् । उनले भने हामी पनि यहाँ उपस्थित छौं । हाम्रो प्रतिनिधित्व खोई ? उनले भने हामी चाडै खोजिनीति गर्छौ ।