नेकपा एमालेको नगरस्तरीय घोषणा पत्र र विकासको नालीबेली – १

[sharethis-inline-buttons]

¥याकको धूलो झार्ने क्रममा नेकपा एमालेले गोलबजार नगरपालिकामा चुनाव ताका जारी गरेको घोषणा पत्र भेटियो । औंला भाँचेर गनिल्याउँदा चुनाव भएको र निर्वाचित जनप्रतिनिधिहरुले पद सम्हालेको झण्डै २ वर्ष ५ महिना पगेछ । पदावधिको आधा समय त गुज्रियो । तर घोषणा पत्र अनुसार काम कति भयो त ? केलाउने प्रयास गर्दा निम्नानुसार देखियो । आज पहिलो नालीबेलीमा सवस्थ्य सम्बन्धी घोषणा र कार्यान्वयनको विश्लेषण ।


एमालेको घोषणा पत्रमा भनिएको छ – स्वास्थ्य सम्बन्धी एकल महिला , वृद्धवृद्धा र दलितहरुका लागि एक लाखसम्मको स्वास्थ्य विमाको व्यवस्था गर्ने । तर आजसम्म एक जनाको पनि स्वास्थ्य बिमा गरिएको छैन । दोश्रो बुँदामा भनिएको छ पालिका भित्रको सबै स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने र स्वास्थ्यकर्मीको उचित व्यवस्था गर्ने । यो बुँदा पूरा गर्न पनि आज पर्यन्त कुनै कदम चालिएको छैन । पालिकामा रहेको सबै स्वास्थ्य संस्थाहरुको हालत उस्तै छ जस्तो घोषणा पत्र जारी गर्नु पूर्व थियो । स्वास्थ्य शाखाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो , “ आजसम्म स्वास्थ्य संस्था स्तरोन्नतिका लागि एक पैसा बजेट छुट्याइएको छैन । भौतिक निर्माणमा सिन्को पनि भाँचिएको छैन । जस्तो थियो उस्तै चलिरहेको छ । पूर्व मेयरको पालामा मै ठेक्का लागेको १५ शय्याको अस्पताल भवन बन्दै छ । यो मेयरको पालामा केही भएको छैन । गोदाम बनाइएको कोभिड अस्पतालमा वर्षेनी ३० लाख रकम नेपाल सरिकारबाट आउँछ । त्यही पैसा खर्च गर्न गोदाममाथि तला थपिएको छ । ४ वटा आधारभूत स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी झिकेर पठाइएको छ । स्वास्थ्य चौकीहरुमा पनि कार्यालय सहयोगी छैनन् । भ्याकेन्सी निस्केको र परीक्षा लिएको वर्षदिन हुनलाग्यो । रिजल्ट होला र कर्मचारी पाइएला भन्ने आश गरेर बसेका छौं । ”
घोषणा पत्रको चौथो बुँदामा भनिएको छ –जिल्ला भित्र सुत्केरी गराउने महिलालाई निशुल्क एमबुलेन्स सेवा प्रदान गर्ने । यो बुँदा पनि लागू भएन । आजसम्म गोलबजार नगरपालिकाका कुनै सुत्केरी हुने महिलाले एम्बुलेन्स भाडा वापत एक रुपैयाँ पाएका छैनन् । नेपाल सरकारबाट एम्बुलेन्स भाडा वापत सशर्त अनुदानमा आएको ४० हजार रुपैयाँ पनि कसैलाई प्रदान नगरी दुई वर्षदेखि फ्रिज गराएर पठाइएको छ ।
घोषणा पत्रको पाँचौ बुँदा त झन आकाशको फल आँखा तरी मर सावित भएको छ । पाँचौ बुँदामा लेखिएको छ – “नगरभित्र कुनै एक स्वास्थ्य संस्थालाई जिल्ला अस्पताल सरह सेवा सुविधा दिने गरी स्तरोन्नति गर्ने । ” घोषणा पत्रको सर्वाधिक महत्वपूर्ण र जनताको आवश्यकतासँग जोडिएको यो बुँदा कार्यान्वयन गर्ने कुरा त परै जाओस् नेकपा एमालेका जनप्रतिनिधिहरुलाई यो बुँदाको सम्झना पनि छैन । ७० हजार जनसंख्या भएको गोलबजार नगरपालिकामा आजसम्म एक जना एमविविएस स्तरको चिकित्सक पनि छैनन् । उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह भन्छन् , “मेयर श्याम श्रेष्ठ निजी अस्पतालहरुको उद्घाटन गर्न मै मस्त र व्यस्त छन् । तर एउटा सरकारी अस्पताल सञ्चालन गर्ने जमर्को गर्दैनन् । ”
घोषणा पत्रको छैठौ बुँदा कार्यान्वय गर्न सवैभन्दा सजिलो छ । यो बुँदा कार्यान्वयन गर्न एक रुपैयाँ पनि खर्च लाग्दैन । एउटा आदेश मात्र गरिदिए पुग्छ । तर पनि गोलबजार नगरपालिकाले यो बुँदा कार्यान्वयन गर्न सकेन । छैठो बुँदामा लेखिएको छ ध्वनी प्रदूषण गर्ने डिजे नियन्त्रण गर्ने । तर गोलबजारमा डिजे पनि नियन्त्रण हुन सकेन ।
यसरी हेर्दा नेकपा एमालेबाट नगरमा जितेका जनप्रतिनिधिहरुले आफ्नो तस्बिर सहित जारी गरेको घोषणा पत्रमा स्वास्थ्यतर्फ उल्लेख गरिएका बुँदा शून्य प्रतिशत कायान्वयन गरेका छन् । घोषणा पत्र अनुसार सिन्को भाँचेका छैनन् ।
नेकपा एमाले गोलबजार नगर अध्यक्ष राजकिशोर सिंहलाई प्रश्न सोधियो – तपाईँसँग नगरपालिकाको चुनावमा पार्टीका तर्फबाट जारी गरिएको घोषणा पत्रको प्रति छ ? उहाँले भन्नुभयो मसँग छैन । दोश्रो प्रश्न थियो , – बजेट बनाउने बेलामा घोषणा पत्र राखेर पार्टी कमिटीमा कहिल्यै छलफल भएको छ ? दोश्रो प्रश्नको आशय बुझेर होला उत्तर दिंदा उहाँ सम्हालिन खोज्नुभयो । मसँग प्रति नभए पनि साथीहरुसँग होला नी ! तर उहाँले इमान्दारिता नगुमाई सिधा उत्तर दिनुभयो छलफल त भएको छैन । घोषणा पत्रको खोजी पनि भएको छैन ।
नेकपा एमालेका नेता गणेश गौतम भन्नुहुन्छ ,“ बिचरा हाम्रो मेयर साहवलाई विपक्षी दलहरुले कामै गर्न दिएनन् । नत्र उहाँले गोलबजारमा “चार चाँद ” लगाइ दिनुहुन्थ्यो । कर्मचारी हटाउँदा विपक्षीहरुले आन्दोलन गरिदिए । फेरि अदालतमा मुद्दा हालिदिए । आन्दोलन र मुद्दामा अल्झिएर मेयर साहवले घोषणा पत्र एक दिन पनि हेर्न भ्याउनु भएन । घोषणा पत्र कार्यान्वयन नहुनुमा विपक्षी दलहरु दोषी छन् ।”
नेकपा एमाले कै नेता किरण लामा भन्नुहुन्छ , “ पार्टीले जारी गरेको घोषणा पत्र त चुनावमा जनता झुक्याउन मात्र काम लाग्दो रहेछ । त्यसपछि त त्यो कागजको खोस्टाको कामै छैन । आजसम्म नगरपालिकामा जितेर जाने जनप्रतिनिधिले होस् वा पार्टी कमिटीमा कसैले पनि घोषणा पत्र पल्टाएका छैनन् । अर्को चुनावमा जनताले घोषणा पत्र पल्टाएर के के काम ग¥यौ भनेर देखाउ भनेर सोध्दा हामीले के जवाफ दिन्छौ होला कोनी ? यसरी नै हो भने त जनताका अगाडि मुख देखाउने उपाय पनि रहने छैन ।
अर्का एमाले नेता तुलसी उपाध्याय भन्छन् हाम्रो दरवारलाई थाहा छ चुनाव कसरी जितिन्छ भनेर । घोषणा पत्र र विकास केही होइन । चुनावका बेला कहाँ कसलाई कति चारो हाल्नुपर्छ दरवारलाई थाहा छ । कसको दाम कति हो दरवारलाई थाहा छ । यो कुरा दरवारियाहरु खुलेआम भन्छन् पनि । त्यसकारण यो घोषणा पत्र भर्सेला परोस् । चुनाव फेरी पनि नेकपा एमालेको नाममा दरवारले नै जित्छ ।
नेकपा एकीकृत समाजवादीका नेता योगेन्द्र सिंह भन्नुहुन्छ , “घोषणा पत्र भनेको राजनीतिक दल र तीनका उम्मेदवारले जनतासँग गरेको वाचा , प्रतिज्ञा र वोलकवोल हो । हाम्रो समाजमा अझै पनि लोकतन्त्रको जीवित अभ्यास हुनसकेको छैन । विकसित मुलुकहरुमा जनताले घोषणा पत्रको प्रति राखेका हुन्छन् । अर्को पटक भोट माग्न आउँदा घोषणा पत्र देखाएर यस मध्ये कुन कुन काम ग¥यौ भनेर सोधनी गर्छन् । ”
नेता सिंहले थपे , “राजनीतिक दल र नेताहरुले पनि पदबाट बाहिरिने बेलामा घोषणा पत्र अनुसार यति काम ग¥यौं भनेर रिपोर्ट कार्ड ( प्रगति प्रतिवेदन ) प्रकाशित गर्छन् । हाम्रो यहाँ घोषणा पत्रमा ठूला सपना बाँडेर जनता झुक्याउने र भोट लिने हो । त्यसपछि चुनावी घोषणा पत्रलाई ट्वाइलेट पेपर जस्तै फोहोर पुछेर फाल्ने हो । गोलबजार नगरपालिकामा पनि त्यस्तै भएको छ । नेकपा एमालेले घोषणा पत्र मार्फत जनतालाई बाँडेको सपनाको पाँच प्रतिशत पनि काम भएको छैन ” ।


प्रकाशित : २०८१ श्रावण ३२ शुक्रबार