तस्बिरहरुले देखाउँछ गोलबजार वडा नं. ४ मा सडकको दुर्दशा , वडा नं. ७ मा बस्ती नभएको स्थानमा पनि सडक ढलाई

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडा नं. ४ गोलबजारको शहरको मूलभाग हो । गोलचक्करदेखि दक्षिण हाइस्कूलसम्मको क्षेत्र शहरको पुरानो भूभाग हो । गोलबजारको स्थापना हुँदा हाटबजारको शिलान्यास यही भूमिमा भएको थियो । बजार स्थापना भएको आधा शताब्दी नाघेपछि यसले नगर र शहरको दर्जा पायो । नामले उच्च भए पनि वास्तविकताले यो शहरी क्षेत्रको भौतिक संरचनाको हालत तन्नम देखिन्छ ।


शहरको मूल भाग हाईस्कूलको दक्षिण पिपलबोटबाट उत्तर राजमार्गको गोलचक्करसम्म आइपुग्न लगभग ४० वटा खाल्टाखुल्टी पार गर्नुपर्छ । त्यसमध्ये ३ वटा ठूला खाल्टोेमा बाइक फस्ने र लड्ने डर हुन्छ । प्रत्येक खाल्डोमा पानी जमेको छ । सडक हिलाम्मे छ । सडकका खाल्डोहरु यात्रुको लागि धराप थापे जस्तै छ । पैदल यात्रुहरु पनि दबदबे हिलो टेकेर हिँड्नु परेको छ । विद्यालयको पछाडि फोहोरको डंगुर छ ।


जिल्ला विकास समिति अस्तित्वमा छँदै गोलचक्करदेखि हाइस्कूलसम्म ओटासिल गुणस्तरको कालोपत्रे गरिएको थियो । त्यो कालोपत्रे उक्किएर भत्किएर नष्ट भइसकेको छ । शिव मन्दिरदेखि उत्तर गोलचक्करसम्म मुख्य बजार भित्रै पनि दर्जनौ खाल्टाखुल्डी परेको छ । शिवमसन्दरदेखि दक्षिण त झन् कालोपत्रेको नामोनिसान छैन । सुख्खायाममा शहर धूलाम्मे हुन्छ र वर्षयाममा हिलाम्मे ।
सडकको तस्बिर खिच्दै गर्दा बाटैमा जम्काभेट भएका वडा नं. ११ का वडाध्यक्ष शोयव अनवरले बुलेट मोटरसाइकल अड्याएर भने , यो बाटो हिँडिसक्नु छैन । हामी त प्राय इटाभट्ठा छेउको बाटो प्रयोग गर्छौ ।


एमाले नेता सुवर्ण दहाल भन्छन् , “हाइस्कूलमा अध्ययन गर्ने छात्रछात्राहरु र अध्यापन गराउने शिक्षकहरु क्याम्पस रोड हुँदै विद्यालय जान्छन् । किनकि यो सडकबाट आउँदा लुगा घुँडामाथि सारेर हिलो टेक्दै आउनुपर्छ । हाटबजार आउनेहरुले पनि सास्ती भोग्नैपर्छ । ” १ हजारभन्दा अधिक विद्यार्थी दैनिक आवत जावत गर्ने मार्ग यस्तो हिलाम्मे हुँदा पनि नगरको आँखा उघ्रेको छैन । यस क्षेत्रका बासिन्दा दुखि छन् ।


यस सम्बन्धमा वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादवसँग जिज्ञाशा राख्दा उनले भने , “वडा नं. ४ मेयर साहवको प्राथमिकतामा पर्दैन । मैले धेरै पटक अनुरोध गरे शहरको मुल भागलाई बजेट थपेर दिनुस् । सडकको अवस्था खराव छ भनेर रिपोर्ट गरे । तर वडा नं. ४ मूल शहरी भाग प्रति नै वेवास्ता छ । लगडी गदियानी जमदह राजमार्गमा पर्छ भनेर टार्ने काम भइरहेको छ । कमसेकम धूलो र हिलो त निवारण गरौं भन्दा पनि नगरले संवेदनशीलता देखाइएन । वडाको क्षमताले भ्याउँदैन । ”

उता वडा नं. ७ मेयर श्याम श्रेष्ठको वडा हो । जहाँ बस्ती नै नभएको स्थानमा पनि आरसिसी ढलान गरी सडकलाई चिरिच्याँट्ट पारिएको छ । मेयर श्रेष्ठको वडामा जहाँ जुन जुन स्थानमा श्रेष्ठतम जातीहरुको जग्गा जमिन छ , त्यहाँसम्म आरसिसी ढलान सडक निर्माण गरिएको छ ।


गोलबजार ४ का बासिन्दा रामकुमार साह भन्छन् मेयर श्याम श्रेष्ठको स्मार्ट सिटी बनाउने घोषणा राम्रैसँग कार्यान्वयन हुँदैछ तर वडा नं. ७ मा । अन्यत्र होइन । विकासमा यो क्षेत्रिय र जातीय भेदभाव गोलबजार नगरपालिकामा नीतिगत र संस्थागत बनाइएको छ ।


प्रकाशित : २०८१ श्रावण ३१ बिहीबार