२८ वर्ष भयो समितिको अध्यक्ष भएको , अब कहिले भारी बिसाउनु हुन्छ ?
देवनाथ साह ः गोलबजार नगरपालिकामा मात्र नभई दस दिशा दस प्रगन्नामा उनी चर्चित छन् । उनी आफैलाई गोलबजारको संस्थापकहरु मध्ये एक हुँ भन्छन् । उनी २०७५ देखि २०७९ सम्म गोलबजारको पहिलो निर्वाचित मेयर पनि बने । जीवनको उत्तराद्र्ध वयमा छन् । यो उनको जीवनको हीरक कालखण्ड हो । उनै देवनाथ साह २०५५ सालदेखि अहिलेसम्म अनवरता रुपमा गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिक अध्यक्ष पदमा बलपूर्वक र अवैधानिक रुपमा कायम छन् । यो २८ वर्षे अवधिमा उनले न कहिल्यै साधारण सभा गराए न उपभोक्ता समितिको बैठक नै गराए । तर अध्यक्ष पदमा विराजमान रहे । यहाँसम्म कि गरिमामय मेयर पदमा निर्वाचित भएर ५ वर्षे कार्यकाल पूरा गर्दा पनि उनले खानेपानी उपभोक्ता समितिको अध्यक्ष पद छोड्न उचित ठानेनन् ।
२८ वर्षदेखि खानेपानी उपभोक्ता समितिका अध्यक्ष पद अवैधानिक रुपमा अगोटेर बसेका साह गोलबजार उद्योग व्यापार संघका पनि दुई कार्यकाल अध्यक्ष रहेका थिए । त्यतिबेला पनि उनले साधारण सभा नगराई कार्यकाल भन्दा ४ वर्ष बढी अध्यक्ष पदमा कायम रहेका थिए । उनका सहपाठी रहेका नेपाली काँग्रसका नेता चन्द्रदेव यादव भन्छन् , मेयर पद लम्ब्याउने कुरा उनको कावुमा थिएन । सरकारले चुनाव घोषणा गरिहाल्यो । नत्र चुनाव नगरी उहाँ आजीवन मेयर पदमा बस्न पनि पछि पर्नु हुन्थेन । मेयरमा दोहरिन पनि कोसिस गर्नुभयो तर पराजित भएर मात्र घरमा थन्किनु प¥यो ।
माओवादी नेता रामचन्द्र सिंह भन्छन् , “नेतृत्व गर्नका लागि आवधिक निर्वाचनमार्फत विधानले तय गरेको समयसीमा भित्र जनताबाट अनुमोदित हुनुपर्छ । यसैलाई लोकतान्त्रिक पद्धति भनिन्छ । तर कुनै व्यक्ति सामाजिक, आर्थिक र राजनीतिक शक्ति हत्याएर विधान विपरीत २८ वर्षसम्म लगातार अध्यक्ष पदमा कब्जा जमाएर बस्छन् भने त्यसलाई किमार्थ लोकतान्त्रिक चरित्र भन्न मिल्दैन । देवनाथ साहलाई सधै शक्तिमा रहने र आर्थिक चलखेलमा लिप्त रहने आकांक्षा रहन्छ । उनको पदलोलुपताका कारण उनको व्यक्तित्वमा ह्रास आएको हो ।
अवैधानिक समिति ः
२०५५ सालमा गठन भएको गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २८ वर्ष पुग्नै लाग्यो । समितिका उपाध्यक्ष समशेर भण्डारी, सचिव प्रकाश साह, सदस्यहरु राम प्रताप तामाङ्ग, सुशिला साह र रामबहादुर साह ५ जनाको मृत्यु भएको पनि १० वर्ष पार भयो । ९ सदस्यीय समितिमा अब मात्र ४ जना जीवित छन् । त्यसमध्ये अध्यक्ष देवनाथ साह र कोषाध्यक्ष चन्द्रकुमार लामाले जन्मको हीरक महोत्सव मनाउने उमेरका छन् । बहुमत सदस्यको मृत्यु भइसक्दा पनि यो अवैध उपभोक्ता समिति अझै कायम छ । मृतकहरुको किर्ते हस्ताक्षर गरेर भए पनि अहिलेसम्म निर्णयहरु गरिंदैछ । विधान अनुसार ५ वर्षमा साधारण सभा गरेर नयाँ समिति चयन गर्ने प्रावधान छ । तर २८ वर्षमा एक पटक पनि साधारण सभा गरिएन । २८ वर्षमा उपभोक्ता समितिको पूर्ण बैठक एक पटक पनि गरिएन । जहिले जे निर्णय गर्दा पनि सुटुक्क माइन्युट लेखेर घर घरमा गएर हस्ताक्षर गराइयो । कतिपय हस्ताक्षर देब्रे हातले एकै जनाले गरिदिए । २८ वर्षमा खानेपानीको आम्दानी र खर्च कहिल्यै सार्वजनिक गरिएन । लेखापरीक्षण प्रतिवेदन कहिल्यै सार्वजनिक गरिएन ।
खानेपानीको अवस्था ः
१६०० घरधुरी उपभोक्ता भएको गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले अहिले पुगनपुग ४ सय घरधुरीलाई पानी आपूर्ति गरिरहेको छ । १२ सय घरधुरी नामका लागि उपभोक्ता छन् तर उनीहरुको घरमा पानी पुग्दैन । राजमार्गदेखि दक्षिण पानी आपूर्ति बन्द भएको २० वर्ष भयो । राजमार्ग पुनर्निर्माण गर्दा दक्षिणतर्फ जाने पाइप उखेलियो । जसले पायो उसैले पाइप उठाएर लगे । खानेपानीको मूल्यवान पाइपहरु क्वाडीमा बिक्री गरियो । तर समितिले उक्त पाइप संकलन गरेर पुन पाइपलाइन बिछ्याउन सकेन । ७० मिटर उचाईको ओभरहेड ट्यांकी रहेको यस खानेपानी योजनामा ४९.५ हर्षपावरको मोटर जडित छ । दैनिक ८ लाख लिटर पानी आपूर्ति गर्ने क्षमता छ । १६०० घरधुरीलाई बिहान बेलुका पानी दिन सक्ने क्षमताको खानेपानी योजना लगभग वेथितिले गर्दा सीमित मात्रामा प्रयोग भइरहेको छ । जम्मा ४ सय घरधुरीलाई मात्र बिहानको समयमा मात्र पानी उपलब्ध गराइन्छ ।
खानेपानी उपभोक्ताका घरहरुमा लगाइएको मिटर प्रायजसो टुटफुट भइसकेको छ । । कसले कति पानी प्रयोग ग¥यो भन्ने कुनै लेखाजोखा छैन । ४ सय घरधुरी मध्ये केही मनकारी व्यक्तिहरुले पानीको महसुल तिर्छन् । अधिकांशले महसुल पनि बुझाउँदैनन् । मासिक लाखौं रुपैयाँ महसुल उठ्नु उठाउनु पर्ने ठाउँमा मुस्किलले १० हजार उठ्ने गरेको कर्मचारी सर्वजित महतोले बताए । उठेको रकम पनि कहा,ँ कसले र कसरी प्रयोग गरेका छन् कुनै अत्तोपत्तो छैन । दुई जना कर्मचारीहरुको तीन वर्षदेखिको पारिश्रमिक दिइएको छैन । विद्युतको करिब ३ लाख महसुल बक्यौता छ । कर्मचारीहरुले बिहान ह्याण्डल घुमाएर पानी छोड्ने र बन्द गर्ने गरिरहेका छन् । तर खानेपानीको कार्यालय दिनभरी बन्द नै रहन्छ ।
बजेटको अपव्यय, बर्बादी र अपारदर्शीता ः
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पाइपलाइन विस्तार गर्न दिएको दसौं हजार मिटर पाइप कहाँ पुग्यो ? कुनै लेखाजोखा छैन । सरकारी बजेटबाटै शौचालय भवन निर्माण गरियो तर त्यसको समुचित प्रयोग पनि छैन । सरकारकै अनुदानबाट गोदाम घर निर्माण गरियो । त्यो घर पनि भुतबंगला भएर बसेको छ । पानीको पर्याप्त आपूर्ति गर्न थप बोरिङ्ग जडान गरियो तर उक्त बोरिङ्ग सफल हुन सकेन । परिणमस्वरुप लाखौं रुपैयाँको अपव्यय भयो । पुरानो मुल बोरिङ्गमा मोटर फेर्ने बेलामा असावधानी गरिंदा बीचैमा अडकियो । पछि त्यसलाई ठोकठाक गेरर घचेटेर पताल पु¥यायो र नयाँ मोटर लगाइयो । एउटा मोटर बिना उपयोग बर्बाद भयो । २८ वर्षको दरबियानमा हरेक वर्ष नेपाल सरकार वा कुनै न कुनै दातृ संघसंस्थाबाट कुनै न कुनै प्रयोजनका लागि बजेट आएको छ । तर कुन वर्ष कति बजेट आयो र के काममा कति खर्च भयो उपभोक्ताले थाहा पाएनन् । सारा रहस्य र जानकारी अध्यक्ष साह र कोषाध्यक्ष चन्द्रकुमार लामाकै मनमा रह्यो ।
राष्ट्र संघीय नियोगको अनुदान र सोलार जडान ः
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ( जस्टेड ) नाभेम्बर २०२२ मा गोलबजार खानेपानी तथा सरसफाई परियोजनाका लागि १ करोड १२ लाख४९ हजार ९ सय ९१ रुपैयाँ बजेट स्वीकृत ग¥यो । उक्त रकमले खानेपानी परियोजनामा सोलार प्यानल जडान गर्ने र सौर्य उर्जाबाट खानेपानी सञ्चालन गर्ने उद्देश्य थियो । यो परियोजना ल्याउन राष्ट्र संघीय नियोगमा झुठो विवरण पेस गरियो । सुत्रहरुले जानकारी दिए अनुसार अवैधानिक भइसकेको समितिलाई वैधानिक भनियो । मृत्यु भइसकेका उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको किर्ते हस्ताक्षर गरियो । ४ सय घरधुरी मात्र उपभोक्ता कायम रहेको मा १६०० घरधुरी को विवरण पेस गरियो । संघ संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको समिति नवीकरण नभए पनि नगरपालिकाले सिफारिस गरिदियो । ढाँट छल गरेर भए पनि बजेट ल्याइयो । सूर्योदय उर्जा प्रा.लि.ले ठेक्का लिएर ६४ किलोवाट विद्युत उत्पादन हुने क्षमताको सोलार प्यानल जडान गरिएको छ ।
नगरपालिकाको भूमिका ः
२०७९ मा भएको नगरपालिकाको निर्वाचन ताका नेकपा एमालेले गोलबजार खानेपानी उपभोक्ता समितिलाई एउटा ऐजेण्डा नै बनाएको थियो । एमालेले जित्नासाथ नगरपालिकाले हस्तक्षेप गरेर पुरानो समिति भंग गर्ने र साधारण सभा गराएर नयाँ नेतृत्व चयन गर्ने नारा नै दिइएको थियो । तर त्यस्तो हुन सकेन । नेपाली कांग्रेसका नेता चन्द्रदेव यादव भन्छन् , “कसको साइनो र स्वार्थ कता गाँसिएको छ – केस्रा केस्रा केलाउनु पर्छ । खुटयाएर हेर्नुपर्छ । खानेपानीमा अध्यक्ष देवनाथ साह विपक्षी भए पनि कोषाध्यक्ष चन्द्रकुमार लामा एमालेका प्रभावशाली नेता हुन् । व्यक्तिगत रुपमा देवनाथ साह र चन्द्रकुमार लामा बीच घनिष्ट सम्बन्ध छ । त्यसकारण खानेपानीमा हस्तक्षेप गरिएन । यादव भन्छन्–अर्को पक्ष पनि विचारणीय छ । खानेपानीमा नगरपालिकाले हस्तक्षेप नगर्ने नगरपालिकामा माओवादीले मेयरलाई सघाउने आधारशिलामा बसेर भद्र सहमति पनि गरिएको छ । काले काले मिलेर खाउँ भाले भनेको यही हो । ”
नेकपा एकीकृत समाजवादीका नेता योेगेन्द्र सिंह भन्छन् , विधानले तोकेको भन्दा बढी समय पदमा बाहाल रहनु अनैतिक मात्र होइन गैर कानूनी पनि हो । यसले समाजमा लोकतान्त्रिक पद्धतिलाई पनि कलंकित बनाउँछ । एउटै व्यक्ति साधारण सभाबाट अनुमोदित नभई २८ वर्षसम्म लगातार पदमा कायम रहनु कुशासनको द्योतक हो । यसलाई सभ्य समाजले जायज भन्न मिल्दैन ।
यस विषयमा देवनाथ साहलाई प्रश्न सोधियो, “२८ वर्ष भयो खानेपानीको अध्यक्ष हुनुभएको , अब कहिले भारी बिसाउनु हुन्छ ? कि अझै पदमा कायम रहने इच्छा छ ? उनले जवाफ दिए अब छिट्टै साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गरिदिन्छु ।