श्रीधरको चक्रव्युहमा परिन् मान्ती साह , छिचोल्न निकै कठिन छ

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाको प्रतिष्ठाको चीरहरणको आज उत्कर्ष देखिएको छ । साउन १३ गतेलाई असार १८ गते लेखेर सञ्चालन गरिएको तालिम हलमै अख्तियारले छापा मारेर कागज पत्रहरु कब्जामा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएका दुई जना अनुसन्धान अधिकारीले तालिम साउन १३ देखि १६ गतेसम्म सञ्चालन भएको ब्यहोराको मुचुल्का लेखेर तालिमका सहभागीहरुबाट सहीछाप गराइ लगेको छ ।

असारको मिति राखेर साउनमा तालिम सञ्चालन गरिएको र बजेट अपचलन गर्न खोजिएको भन्दै गत साउन १४ गते विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । समाचार छ्यापछ्याप्ती भएर जनमानसमा नराम्रो छाप परेपनि तालिम रोकिएन । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आज समापनको दिन तालिम हलमै छापा मारिएको थियो ।

अख्तियारले छापा मारेपछि गोलबजार नगरपालिका भित्र केहीबेर हल्लिखल्ली मच्चिएको थियो । विभिन्न तहमा परामर्शहरु लिने र बच्ने बचाउने रणनीतिको तानाबना बुन्न थालियो । यता तालिमका सहभागी लगायत संयोजन गर्ने नगर उपप्रमुख मान्ती साह चिन्तामा परेकी छन् । तालिम सञ्चालनको जिम्मेवारी र त्यसको कानूनी उत्तरदायित्व उप प्रमुख साहकै भएको र जवाफदेहीता पनि उनैले वहन गर्नु पर्ने परिचर्चा सुरु भएको छ । मेयर श्याम कुमार श्रेष्ठ र, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले तालिम सञ्चालनबारे अनभिज्ञता जाहेर गरेर सबै दोषको भार उप प्रमुख साहको थाप्लोमा हालेका छन् ।

उप प्रमुख साह निकट एक कार्यपालिका सदस्यले नाम उल्लेख नगर्ने शर्तमा दावानललाई बताए अनुसार उप प्रमुख साह निकटम व्यक्तिहरुसँग सरसल्लाह लिंदैछिन् । उनले नगरपालिकाको नेतृत्व र व्यवस्थापनबाटै आफू विरुद्ध षडयन्त्र भएको र एकल रुपमा फसाउन खोजिएको महसुस गरेकी छिन् । धोवियाधार र जमदह सडकको फाइलमा हस्ताक्षर नगरेको बदला स्वरुप मानमर्दन गर्ने र मुद्दामा फसाउने व्युहरचना गरिएको उप प्रमुख साहको ठहर रहेको ती कार्यपालिका सदस्यले बताए । उनले उप प्रमुख साहलाई उद्धृत गर्दै भने दुई दिन अघि पनि उपरोक्त फाइलहरुमा हस्ताक्षर गरिदिन उप प्रमुख साहलाई दबाब दिइएको थियो । “हम तो डुवेंगे सनम तुमको भि ले डुबेंगे ” उखान सम्झिदै आवश्यक परे रणचण्डीको रुप धारण गरेर पनि लड्न तयार रहेको र षडयन्त्रको पर्दाफास गर्ने निधो गरेको उप प्रमुख साहको भनाइ रहेको ती कार्यपालिका सदस्यले बताए ।

वडा नं. ४ का वडाध्यक्ष सकलदेव भन्छन् , मेयर श्याम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको पहिलो कोपभाजनमा म परें । उनीहरुले मलाइ चरित्रच्युत गर्न व्युह रचना गरे । दोश्रो निशानामा परिन् नगर उपप्रमुख मान्ती साह । उनको लागि विशेष चक्रव्युहको रचना गरियो । यो चक्रव्युहको रचियता पनि नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत केसी नै हुन् । धोवियाधार र जमदहको दुई फाइलमा हस्ताक्षर नगरिदिए वापत उनलाई तह लगाउन अख्तियारको फन्दामा पार्ने प्रयास गरिएको हो ।

यादव भन्छन् अब पालो छ एक जना शाखा प्रमुख कर्मचारीको । जसलाई दशैं अघि हटाउने प्रपञ्च गरिएको छ । एक कार्यपालिका सदस्यको पनि धर्नासो खुस्काउने गरी प्रहार गर्ने तयारी गरिंदैछ । सबै कुरा स्पष्ट देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत केसी चक्रव्युहको खेलमा लाग्नु भएको छ । तर यदाकदा बुमर्याङको ( आफैतिर तीर फर्किने अवस्था ) नआओस् । मैदानमा युद्धको आह्वान नै भएपछि प्रतिरक्षाका लागि अरु पनि रणकौशल देखाउलान् ।

यता स्थानीय वुद्धिजीवी प्रदीप साहले आज एक फेसबुक स्टाटस लेखेर पहिलेको मिति राखेर तालिम सञ्चालन गर्नु अनैतिक हो तर एक्ली मान्ती साहलाई घानमा पार्ने षडयन्त्र गर्न खोजिएको र यसले नगरपालिकामा बहुपक्षीय टकरावको स्थिति सृजना हुने स्पष्ट पारेका छन् ।

निकट सुत्रका अनुसार उप प्रमुख मान्ती साहले न्यायमा पहुँच विषयक तालिम असारको मिति राखेर साउनमा सञ्चालन गर्ने कुरामा मेयर श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत केसी, लेखा प्रमुख र सबै वडाध्यक्षहरुको सहमति लिएर सञ्चालन गरेकी थिइन् । १४ गते साउनमा मिडियामा समाचार आएपछि पनि उप प्रमुख साहले अब के गर्ने भनेर सबैलाई सोधिन् । सबैले तालिम निरन्तर जारी राख्नुस् भनेर सल्लाह दिए । तर आज अन्तिम दिन समापन समारोहमा मेयर श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा बोलाउँदा पनि उनी आएनन् । एकछिन पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिबासको टोलीले छापा हान्यो ।

कानूनका ज्ञाता दामोदर अधिकारी भन्छन् , साउन १३ गते दिन असार १८ गतेको मिति हालेर व्यानर टाङ्नु नै किर्ते जालसाजी हो । यसलाई गोलबजार नगरपालिकाले अख्तियार समक्ष कसरी औचित्य पुष्टि गर्छ ?ः यो त सिधै हतकडी लाग्ने र निलम्वनमा पर्ने स्तरको अपराध हो । अख्तियारले सोध्छ साउन १३ लाई असार १८ भन्न मिल्छ ? के हुन्छ यसको जवाफ ? निरुत्तर भएर अपराध स्वीकार गर्नु बाहेक उपाय छैन ।

अधिकारी भन्छन् , प्रमुख प्रशासकीय अधिकृत र मेयर पनि पानीमाथि ओभानो बन्न सक्दैनन् । दुई दिन अघि मिडियामा समाचार आइसक्दा पनि यस विषयमा चासो लिएर किन यथोचित कदम नचालेको ? अख्तियारले उनीहरुसँग पनि सोध्नुपर्छ र सोधिने छ । उनले थपे गोलबजार नगरपालिकामा एउटा लाज भन्ने कुरा त्यागे पछि सबै जायज देखिन्छ भने जस्तै भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता योगेन्द्र कुमार सिंहले भने गोलबजार नगरपालिका हदैसम्म बदनाम भयो । हुँदाहुँदा अख्तियारले छापा मार्नु पर्ने दिन पनि देखियो । कोही प्रति कसैलाई विश्वास र भरोसा छैन । हामीले जे गर्दा पनि हुन्छ भन्ने गजेंडी मार्गमा हिँडेको देखिन्छ ।, अब झन् एकले अर्काको गाँड कोर्ने अभ्यास सुरु हुने देखिन्छ ।

नेकपा एमालेका नेता सोनेलाल तामाङ्ग भन्छन् चोहर्वा दरवारले कहिले सुकदेव सिंहलाई हातमा लिएर मान्ती साहलाई दमन गर्ने त कहिले मान्ती साहलाई नजिक बनाएर सुकदेव सिंहको उछितो काढ्ने राणनीति लिएको छ । चोहर्वा दरवारका कारण लालपुरमा एमालेलाई एक ढिक्का हुन दिएको छैन । यसले आफैलाई घाटा हुन्छ । ढाँट कुरा र छलछाम धेरै दिन चल्दैन । कर्मचारीलाई मेयरले चलाउनु पर्ने हो । यहाँ त पुच्छरले सोलोडोलो ज्यान हल्लाइ दिएको छ ।


प्रकाशित : २०८१ श्रावण १६ बुधबार