
अर्जुन थपलिया ÷सिरहा, १५ साउन ।
गोलबजार नगरपालिकामा गत आर्थिक वर्षको असार २४ गते भित्रै सम्पन्न हुनु पर्ने तालिम साउनको १३ गतेबाट सञ्चालन गरिएको छ । तर तालिमको व्यानरमा भने असार १८ देखि २१ गतेसम्मको मिति राखिएको छ । तालिमका सहभागीहरुको हाजिरी पनि असार १८ कै मितिमा गराइएको छ ।
गोलबजार नगरपालिकाकी उप प्रमुख मान्ती साहले गत साउन १३ गते तालिमको उद्घाटन गरिन् । तालिमका सहभागीहरुमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,मेलमिलाप केन्द्रका सदस्यहरु र नगरपालिकाका अन्य पदाधिकारीहरु रहेका छन् । तालिमको विषय छ ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ । तालिम ४ दिनसम्म सञ्चालन हुनेछ । तर तालिमको व्यानरमा लेखिएको छ “असार १८ देखि २१ गतेसम्म ” ।
गोलबजार नगरपालिका न्यायिक समितिको अगुवाईमा भईरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेल मिलापकर्ताहरुलाई अहिले आएर तालिम दिइदै छ । असारमै सक्नु पर्ने कार्यक्रम साउनको १३ गते देखि १६ गतेसम्म हुने नगर उपप्रमुख मान्ती साहले हाकाहाकी जानकारी दिइन् । गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा २ को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ कोे समन्वयमा नियम विपरीत अभिमुखिकरण कार्यक्रम संचालन भइरहेको पाइएकोे छ ।
प्राप्त जानकारी अनुसार यो तालिमको लागि नगर उपप्रमुख साहले असारमै १० लाख पेश्की लिएकी थिइन् । असारमा वडाध्यक्षहरुलाई तालिममा बस्ने फुर्सद नभएको कारण तालिम सञ्चालन गर्न सकिएन । तर स्थानीय संघ संस्थाहरुसँग सम्झौता भई कार्यादेश दिइसकिएकोले तालिम सम्पन्न नभए पनि भुक्तानीको लागि बील भपाई पेस गरिसकिएको छ । पेस भएको फाइललाई आर्थिक वर्ष २०८१÷८२ मा भुक्तानी हुने गरी अनुसूची १८ नंं मा राखिएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार २४ गते भित्रै सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्य साउनमा कार्यक्रमको उद्घाटन गरिएको छ । उप प्रमुख साहले कर्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरु कार्यक्रममा सहभागी हुनु र सबैको आँखा अगाडि नै कार्यक्रमको मिति एक महिना अगाडिको राख्नुले नगरमा बेथितिले चरमोत्कर्ष पार गरेको स्थानीय एमालेका नेता गणेश गौतमको भनाइ छ ।
वडा नं. ९का पूर्व वडाध्यक्ष रामपुकार कामती भन्छन् – अनुसूची १८ मा राखेर बील अनुसार भुक्तानी लिने गरी फाइल पेस भएकोले तालिम सञ्चालनको नाटक मञ्चन गरिएको हो । तस्बिर र भिडियो खिचेर प्रमाण देखाउनका लागि मात्र औपचारिकता पूरा गरिएको हो । उनले थप्दै भने तालिम अनीयमित ढङ्गले गरेका छन् । नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागी हनु नै पालिकाको वेथिति उदाङ्गो भएको देखिन्छ ।
तालिममा सहभागी वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामालाई यो के भइरहेको छ भनेर सोधिएको प्रश्नमा उनले भने , “व्यानरले बोलि सकेको छ , स्थानीय जनप्रतिनिधि र वडा स्तरीय मेलमिलाप सदस्यहरुलाई क्षमता विकासको लागि तालिम राखेको हो । हामीलाई अहिले प्रशिक्षकले विषय बस्तु पनि हदम्यादकै बारेमा जानकारी गराई रहनु भएको छ । उनले ठट्यौली गर्दै भने – सोही अनुसार यो कार्यक्रम सिध्याउन ३५ दिनको म्याद थप गरिएको हो ।
नगर प्रवक्ता समेत रहेका वडा नम्वर ६ का वडा अध्यक्ष संजित कुमार लामाले भने आफू बाहिर रहेकाले या कार्यक्रको बारेमा जनाकारी नभएको बताए । आफू भर्खरै कार्यक्रममा आएकोले यस विषयमा केही जानकारी नै नभएको बताएर पन्छिए ।’
यस कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, जिन्सी शाखाका प्रमुख निरञ्जन शाक्य र सम्वन्धित शाखाका अधिकारी नानीमैया खपाङ्गीले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताए । उनीहरुले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी छैन । कसले कसरी गराई रहेको छ । हामीले बुझेका छैनौं ।
‘वास्तवमा भन्ने हो भने असारमै सक्नु पर्ने कार्यक्रम हो । वडा अध्यक्षहरुको वेस्तताको कारण हामीले असारमा काम गर्न सकेनौ’ उपप्रमुख मान्ती साहले भनिन् ‘वडा अध्यक्षहरुको वेस्तताका कारण हामीले साउनको १३ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन गराइरहेका छौं ।’
गत आर्थिक वर्षको योजना अहिले सञ्चालन गर्न मिल्छ भन्ने प्रश्नमा उपप्रमुख साहले भनिन् , ‘ गर्न मिल्छ होला, अहिलेसम्म हाम्रो १८ नम्वर भर्ने कार्यपालिकाको बैठक बसेको छैन । बैठक वस्दा त्यसमा यसलाई पनि घुसाउन मिल्छ होला भन्ने लागेर कार्यक्रम गराईरहेका छौं ।
नगर प्रमुख श्याम श्रेष्ठ , उपप्रमुख मान्ती साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी बीच भएको आन्तरिक सहमति अनुसार गोलबजार नगरपालिको लक्षित वर्गको सम्पूर्ण कार्यक्रम उपप्रमुख मान्ती साहले जिम्मा पाएकी छन् । उनले आर्थिक सेटिङ्गमा विभिन्न संघसंस्थालाई कामको जिम्मा दिएको स्रोेतले जानकारी दिएको छ । लक्षति वर्गको कार्यक्रमको लागि पालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख बजेट विनियोजन गरेको थियो । उप प्रमुख साहले विना वार्गेनिङ एउटा पनि कार्यक्रम नगर्ने गरेको स्रोतको दावी छ ।
न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट जसरी पनि पचाउनु पर्छ भन्ने मनासायले अहिले कार्यक्रम गरिरहेको वडाअध्यक्षहरु नै बताउँछन् । गोलबजार नगरपालिका वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्छन् यिनीहरुले भ्रष्टाचारमा नयाँ किर्तिमान कायम गर्ने भए । उनले भने मलाई पनि तालिममा बोलाइएको थियो तर म यो अनैतिक कार्यमा सहभागी नहुने भनेर उपस्थित भइन ।
वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण गौतम भन्छन् , म त काठमाडौमा छु । तर जसले गरे पनि गर्न नहुने काम गरेका छन् । असार १८ को मिति राखेर साउनमा तालिम सञ्चालन गर्नु सरासर अनैतिक कार्य हो । यसले नगरपालिकामा भ्रष्टाचार व्याप्त छ भन्नेहरुलाई बल दिन्छ । उनीहरुको आरोपलाई सत्य पुष्टि गर्छ ।
तर वडा नं. १३ का वडाध्यक्ष नन्द कुमार सिंह भन्छन्, “ मिल्छ , किन मिल्दैन । हामीलाई तालिमको आवश्यकता थियो । पहिलेकै मिति राखेर तालिम चलाउँदा पनि के फरक पर्छ ? यो अनैतिक पनि होइन र गैर कानूनी पनि छैन ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् , “यो जसरी पनि बजेट सिध्याउने र कमिसन सुरक्षित गर्ने ध्येयका साथ सबैको सहमतिमा गरिएको भ्रष्टाचार हो । यसमा नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सबैको सहमति र संलग्नता छ । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै छापा मारेर व्यानर र हाजिरी कब्जामा लिएर कारवाही प्रकृया अगाडि बढाउनु पर्ने माग गरेका छन् । ”