अपाङ्ग इन्द्रको इलम र जाँगर ः १० जनाको परिवार भरण पोषण

[sharethis-inline-buttons]

अर्जुन थपलिया ÷ सिरहा
गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती ( कठघरा ) छ । यो गुम्तीको अघिल्तिर ५– ७ जना मानिसहरुले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षिय रैथाने अपाङ्ग इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो र सुस्वादु नास्ता खान हिजोआज घुइँचो लाग्न थालेको छ ।
इन्द्र साह जन्मजात अपाङ्ग होइनन् । एक प्रलयंकारी दुर्घटनामा परेर उनको दाहिदे खुट्टा घुँडामाथिबाटै काटेर मिल्काउनु प¥यो । उनी बैशाखीको साहारामा हँिडडुल गर्छन् । एकाबिहानै उनी घरबाट उठेर ५ सय मिटरको दूरीमा रहेको पसलमा बैशाखी टेक्दै आउँछन् । दिनभरी पसल चलाउँछन् र रातपरेपछि घर फर्किन्छन् ।
२०७६ असार २७ गतेसम्म उनी हट्टाकट्टा तन्नेरी र सपाङ्ग थिए । आफ्नै एउटा पिकअप भ्यान किनेर आफै ड्राइभिङ्ग गर्थे । मालसामान ढुवानी गर्थे । २०७६ असार २७ गते उनी काठमाडौंमा सामान उतारेर घर सिरहातर्फ फर्किंदै थिए । विपी राजमार्गको नेपालथोक नजिक पहिरोमा साहको पिकअप पुरियो । वडेमाको एउटा ढुंगाले उनको पिकअप भ्यानलाई काचकिच हुने गरी थिच्यो । पहिरो पन्छाएर साहलाई जीवितै उद्धार गरियो र काठमाडौं स्थित वि एण्ड वि हस्पिटलमा भर्ना गराइयो ।
४८ दिन आईसियू र त्यसपछि ४ महिनाको अस्पताल बसाई पछि उनी घर फर्किए तर उनको दाहिने खुट्टा घुँडादेखि माथिबाटै काट्नु प¥यो । साह भन्छन् “डुँडो खुट्टा लिएर घर फर्के । श्रीसम्पत्ति बेचेर ४८ लाख रुपैयाँ अस्पताललाई बुझाएँ । बिमाले जम्मा ९ लाख दियो । पिकअप भ्यान पनि कवाडी भयो । जीवन त जोगियो तर १० जनाको परिवार र आफ्नै जिन्दगीको भार बैशाखीमा हिँडेर कसरी पाल्ने चिन्ताले सतायो । ”
लमो समयसम्म घरमा त्यसै बसिरहन उनको मनले मानेन् । २०७८ सालमा राजमार्ग छेउमा एउटा गुम्ती ( कठघरा ) राखें । उनले चिया र नास्ताको पसल थापे । सुरुमा थोरै बिक्री हुन्थ्यो । पछि पछि प्रचार हुँदै गयो । अहिले दिन बदलियो । साह भन्छन् अब म नास्ता दिनै भ्याउँदिन । ग्राहकको चाप ह्वात्तै बढेको छ ।
साहको पसलमा अहिले “चिउरा , मुरही ( भुजा ) चना घुघनी ( विरौला ) , कचरी, आलुचप, हरियो खुर्सानी , प्याज एक टुक्रा र वीरेनुनको नास्ता सेट छ । त्यसमाथि शुद्ध दुधको स्पेशल चिया छ । गुम्ती भित्रै बसेर उनी कागजमा नास्ता दिन्छन् । ग्राहकले आफै उठेर नास्ताको पोका लैजान्छन् । गुम्तीको छेउमा ३ वटा बेञ्च छ । त्यसमा बसेर ग्राहकहरु हात–हातमा नस्ताको पोका लिएर खान्छन् । बस्ने ठाउँ नपाउनेले उभिएरै आन्छन् । आलुचप र कचरी प्याकिङ्ग गरेर घर घरमा लैजान्छन् । दिनभरीमा २ सय देखि २२५ जना ग्राहकले उनको पसलको सुस्वादु नास्ता खान्छन् । एउटा खाजाको पोकाको रु ६० पर्छ । दिनभरीमा १०–१२ हजारको बिक्री हुन्छ ।
साहको पसलमा ग्राहक ओइरिनुको कारण छ । उनले आज पकाएको कचरी र आलुचपको तेल भोलिपल्ट प्रयोग गर्दैनन् । बासी कचरी आलु चप र चना दिदैंनन् । डढेको तेल माथि अर्को तेल थपेर पकाउँदैनन् । शुद्ध खानेतेल मात्र प्रयोग गर्छन् । नास्ता पेट भरिने गरी दिन्छन्, त्यो पनि मात्र ६० रुपैयाँमा । अन्य पसलको तुलनामा सस्तो छ । साहले पकाएको चनाको घुघनी औधी स्वादिष्ट छ । छेउछाउका ग्राहक र राजमार्गमा चल्ने साना यात्रुबाहक गाडीहरुले पनि रोकेर पनि खाजा खान थालेका छन् । साह भन्छन् , “पहिले पहिले अपाङ्गको पसल भनेर दयामया देखाउँदै ग्राहक आउँथे तर अहिले उनको नास्ताको स्वाद सम्झेर ग्राहक आउँछन् । ”
साहले आफैले पसल र वरपर सरसफाई गर्छन् । प्याज काट्नु , आलु उसिन्नु , चना घुघनी पकाउने , बाल्टिनमा पानी ल्याउने , कचरी र आलु चप तार्ने र नास्ता पस्केर दिने यावत कार्य आफै गर्छन् । बजारबाट सामान पनि आफै किनेर ल्याउँछन् । कसैको सहयोग चाहिँदैन । झमक्क साँझ परेपछि उनी पसल बन्द गरेर उनी घर जान्छन् । साह भन्छन् कसैले मलाई अपाङ्ग हो भनेर नठानुन् । म सबै काम आफै गर्छु ।
साहका ४ जना भाइबैना छन् । बा , आमा , पत्नी , एक छोरा र एक छोरी गरी १० जनाको परिवार छ । छोराछोरीलाई बोर्डिङ्ग स्कूलमा पढाउने र सम्पूर्ण परिवारको भरण पोषण तथा रेखदेखको जिम्मेवारी अपाङ्ग इन्द्रकै काँधमा छ । सपाङ्ग हुँदा उनी अत्यन्त उर्जावान युवा थिए नै , अपाङ्ग हुँदा पनि उनको जोश र जाँगरमा किञ्चित कमी आएको छैन । इलमी इन्द्र गोलबजार नगरपालिका भित्र यवाहरुको आदर्श र अन्य अपाङ्गहरुका लागि पनि प्रेरणाका श्रोत बनेका छन् ।


प्रकाशित : २०८१ श्रावण १४ सोमबार