स्थानीय तहमा भ्रष्टाचारको मूल भनेको जिन्सी शाखा पनि हो । स्थानीय तहले गर्ने सारा खरिद र सामान वितरण प्रकृयाको केन्द्र नै जिन्सी शाखा हो । त्यसकारण जिन्सी शाखामा स्थानीय तह प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको विश्वासपात्रलाई नियुक्त गरिन्छ । जिन्सी शाखामा अनियमितता र गडबडी नगरी अतिरिक्त लाभ लिन सकिदैन । त्यसकारण जिन्सी शाखा प्रमुख अनियमितता र गडबडी गर्ने तर जाँचकीले हतपती फेला पार्न नसक्ने क्षमता तथा कला कौशलले भरिपूर्ण रकमी व्यक्ति हुनुपर्छ । कलम चलाउन , कमिसन बटुल्न र त्यसलाई दुरुस्त कागजी जामा लगाएर सफा र चिरिच्याँट्ट देखाउने तिलस्मी ( जादुयी ) क्षमताले निपुण व्यक्ति जिन्सी शाखा प्रमुख छ भने त्यहाँ कमिसन रकमको विशाल रास ( ढेरी ) लाग्छ ।
यस्तै भएको छ गोलबजार नगरपालिकामा । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नीयम ९९ र सोही नीयमावलीको ९४, ९५ र ९६ बमोजिम जिन्सी मालसामानको लगत खडा गरी राख्नु पर्ने र जिन्सी शाखाको अनुगमन निरीक्षण गराई सो को प्रतिवेदन तयार पार्नु पर्ने उल्लेख छ । मर्मत सम्भार गर्नु पर्ने सामान ३ महिना भित्र र लिलाम गर्नु पर्ने सामान ६ महिना भित्र लिलाम गरिसक्नु पर्ने पनि कानूनी व्यवस्था छ । तर गोलबजार नगरपालिकामा जिन्सी शाखाको न त अनुगमन भएको छ न निरीक्षण । न त कुनै प्रतिवेदन तयार पारिएको छ ।
जिन्सी शाखा व्यवस्थित गर्न महालेखा परीक्षक फारम नं. ४०१ द्येखि ४१८ सम्म भर्नु पर्ने व्यवस्था छ । जिन्सी हिसाव र श्रेष्ता दुरुस्त राख्न महालेखा परीक्षकबाट २०७७।४।१ देखि नै सार्वजनिक सम्पति व्यवस्थापन प्रणाली पिएएमएस लागू गरिएको छ । नियम अनुसार शाखागत रुपमा खरिद गरिएका सामान तथा सम्पतिहरु पिएएमएस प्रणालीमा दाखिला देखाउनै पर्छ । तर गोलबजार नगरपालिकाको जिन्सी शाखाले महालेखा परीक्षक फारम नं. ४०१ देखि ४१८ का फारमहरु भरेको छैन । पिएएमएस प्रणालीमा शाखागत खरिदलाई दाखिला गराएको छैन ।
माथि उल्लेखित बेथितिहरु मनगढन्ते र कपोलकल्पित आरोप होइनन् । यो कुरा आर्थिक वर्ष २०७९–८० को महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ र उल्लेख छ । महालेखाको प्रतिवेदनमा यतिसम्म भनिएको छ कि गोलबजार नगरपालिकाको जिन्सी व्यवस्थापन बारे यकिन भएर केही भन्न र लेख्न नै सकिएन । सर्वथा र सर्वत्र भद्रगोल छ । कति सामान वा सम्पति खरिद भयो भन्ने नै श्रेष्ता नभए पछि जसले जहाँ जति लुकाए पनि भयो हसुरे पनि भयो र जति बाँडे पनि भयो ।
नेपाली कांग्रेसका युवा नेता सुरेश साह भन्छन् नगरपालिकाको आधा जति बजेट खर्चिने जिन्सी शाखालाई भद्रगोल अवस्थामा राख्नुको तातपर्य नै गोलमाल मच्चाउनु हो । महालेखाले समेत ठम्याउन नसक्ने भद्रगोल कस्तो होला ? अरुले के झन् के पार पाउनु ?
गोलबजार नगरपालिकामा जिन्सी व्यवस्थापन भद्रगोल
प्रकाशित : २०८१ श्रावण १३ आईतवार