मुसहर्निया खोलाले टेम्पु बगायो , ६ जना यात्रुको उद्धार

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका ३ जरुवाबाट एक बिरामी बालक सहित ६ जना यात्रु लिएर गोलबजारतर्फ आइरहेको ३४४३ नं.को टेम्पु मुसहर्निया खोलाले बगाएको छ । आज बेलुका ४ बजे जरुवाबाट चालक दीपक श्रेष्ठ बिरामी बोकेर गोलबजारतर्फ आइरहेका थिए । खोला पार गर्दागर्दै अचानक ठूलो भल आयो र हेर्दाहेर्दै टेम्पु बगाएर लगेको प्रतक्ष्यदर्शी प्रेम बहादुर बस्नेतले बताए ।

वरपरका गाउँलेहरु जुटेर नदीको बाढीमा पसेर ६ जना यात्रुको सकुशल उद्धार गर्न भ्याएका थिए । बाढीमा परेकाहरुलाई सामान्य चोटपटक लागेको बस्नेतले बताए ।
गाउँलेहरुले बाढीमा पसेर टेम्पुमा डोरी बाँधेर तानेर बाहिर निकालेका थिए । टेम्पु नदीमा बल्ड्याङ्ग खाएर क्षतिग्रस्त भएको छ ।

मुसहर्निया खोलामा पुल नबनेको कारण जरुवा क्षेत्रका जनतालाई गोलबजारसम्म आउन जान पनि कठिनाइ भइरहेको छ । बस्नेत भन्छन् वर्षायाममा बिरामी लिएर गोलबजारसम्म पुग्न सकिदैन । आजै ६ जनाको ज्युज्यान भगवानकै कृपाले बाँच्यो ।

 


प्रकाशित : २०८१ असार २७ बिहीबार