अख्तियारको कारवाही छल्न बनाइएको बाँध बग्यो

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडानं. ८ मैनावती नदीमा निर्माण गरिएको बाँध असार २६ गतेको भेलले बगाएको छ । गत फागुन महिनामा बनेको बाँध पाँचौ महिनामै स्वात्तै बगेको छ । बाँध बगाएपछि गोलबजार नगरपालिका वडा नं. ४ चोहर्वा र वडा नं. ८ भाइजी टोलबीच आवागमन बन्द भएको छ ।
२०७५ सालमा यस स्थानमा गोलबजार नगरपालिकाले एक पुल निर्माण गरेको थियो । ठूलो नदीको बीचमा ३० फिट मात्र लम्बाई र ७ फिट उचाइ भएको पुल निर्माण गरिएको थियो । दुईतिर नदी बग्ने र बीचमा बिना उपयोग पुल ठिंग उभिएको स्थिति देखिएपछि सञ्चारमाध्यमहरुमा पुलको उपयोगिता र डिजाइनबारे प्रश्न उठाइएको थिययो ।

गलत डिजाइन र बिना प्रयोजन पुल निर्माण भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए । छानविनको क्रममा तत्कालीन मेयर देवनाथ साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई अख्तियार दुरुपोग अनुसन्धान आयोगले वयानका लागि बोलायो ।

अख्तियारको कारवाहीबाट बच्न गोलबजार नगरपालिकाबाट अन्यत्र गइसकेका प्रमुख प्रशासकीय अधिकृत केसी पुनः गोलबजार नै सरुवा गराएर आए । उनी आउना साथ गत पुष २९ गते हिउँदे नगरसभा गराएर मैनावती पुलको अधुरो काम पूरा गर्ने भन्दै ५० लाख बजेट जिनियोजन गराए । नातागोतामा पर्ने भएकोले हालका मेयर श्याम कुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत केसीलाई बजेट विनियोजन गर्न सघाए ।

नगरसभाबाट बजेट विनियोजन भएपछि केसीले नगरपालिकाको ट्रयाक्टर , ट्रिपर,स्काभेटर ( जेसिभी ) र बजेट खर्चेर अधुरो तथा उपयोगविहीन पुलको दायाँ बायाँ बाँध बाँधेर आवागमन गर्ने सडक तयार पार्न लगाए । वडा नं. ४ चोहर्वा गाउँ र वडा नं. ८ को भाइजी टोल बीच आवत जावत गर्न मिल्ने बाँध बनाइयो । नियम विपरीत र गलत डिजाइन अनुसार पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको र आयोगले छानविन गरिरहेको थियो । बाँध बाँधेर पुललाई प्रयोगमा ल्याउने र अख्तियारमा रहेको उजुरीको फाइललाई मुलतवीमा पु¥याउने उद्देश्यले युद्धस्तरमा बाँध निर्माण गरियो ।

नयाँ बाँध बाँध्ने कामको डिजाइन र इष्टिमेट देखाइएन । ठेक्का वा उपभोक्ता समिति के मार्फत काम गरिएको हो – सबैकुरा गोप्य राखियो । गोलबजार नगरपालिकाले बाँध बाँध्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुन थप उजुरी प¥यो । दोहोरो उजुरी परेपछि गत चैत ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतहरुले पुल तथा बाँधको स्थलगत निरीक्षण गरी मुचुल्का उठाएको वडा नं. ८ का वडाध्यक्ष देवनारायण सिंहले बताए ।

वडाध्यक्ष सिंहले भने एउटा गल्ती छोप्न सय गल्ती गरे जस्तै भयो । चैतमा भएको हल्का वर्षले नै बाँध कटान सुरु भयो । मैले मेयर साहेबलाई फोन गरेर जानकारी दिएँ र अवलोकन गर्न भने । वडाध्यक्ष यादवले थपे –त्यो बाँध टिक्दै टिक्दैन भनेर मैले उहिल्यै भनेको हुँ । मैनावती नदीको भल त्यति सानो पुलबाट कसरी छिर्छ ? झन् सत्यानास पार्छ । पूर्वपट्टीको खेल मैदान र मलामी घर पनि बगाउँछ । आखिर मैले भने जस्तै भयो । नहुने काम गरेपछि यस्तै बर्बादी र तनाव हुन्छ । असारको बाढीले बाँध स्वात्तै बगायो । पैसाको नास भयो । हामीले त पुल बनाउँदै देखि रोकेका थियौं ।

यसबारे प्रतिक्रिया दिंदै स्थानीय माओवादी नेता रामचन्द्र सिंह भन्छन्, यो बाँध प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई अख्तियारको कारवाहीबाट बचाउन हतार हतार निर्माण गरिएको थियो । गलत डिजाइन र उपयोगहीन पुलको औचित्य पुष्टि गर्न बाँध बनाइयो । पुललाई प्रयोगमा ल्याएको देखाउन बाँध बाँधेर अख्तियारलाई भिजिट गराइयो । अख्तियारलाई झुक्याइयो र फाइल बन्द गराइयो । तर असारको सामान्य वर्षाले बाँध वेपत्ता बनायो । सिंह भन्छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा पुन छानविन गर्नुपर्छ । एउटा अपराध छोप्न झन् ठूलो आर्थिक अपराध भएको छ ।

सेवा निवृत डिभिजनल इन्जिनियर जगदिश महतो भन्छन् , विशाल मैनावती नदीको भेललाई लाई २२ फिट लम्बाई र ८ फिट उचाईको पुलबाट छिराउने कार्य इन्जिनियरिङ्ग होइन धृष्टता मात्र हो । पुलबनाउनु नै गलत थियो झन् बाँध बाँध्नु महाभुल हो । श्रोत साधनको अपव्यय हो । जति पटक बाँध बाँधे पनि बगाउने निश्चित छ ।

नोट ः फोटो र भिडियो ह्वाटसअपमा छ ।


प्रकाशित : २०८१ असार २७ बिहीबार