पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष जेल सजाय तोकियो

[sharethis-inline-buttons]

मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री विजय यादवलाई भ्रष्टाचार गरेको कसुरमा भ्रष्टाचार रोक्न पदीय दायित्व पूरा नगरेकोमा १ वर्ष थप गरी ९ वर्ष १ महिनाको जेल सजाय तोकिएको छ । विशेष अदालतले आज दण्ड सजाय निर्धारण गर्दै दिएको फैसलामा यादवबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ विगो र सो अनुसारको जरिवाना समेत असुल गर्ने फैसला सुनाएको छ ।

सर्लाही जिल्लाको लालबन्दी स्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पालन परियोजनामा पूर्व मन्त्री यादवसहित ५ जनालाई कैद तथा जरिवाना तोकिएको छ ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त , महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी , र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद र मन्त्री यादव सरह नै विगो र जरिवाना असुल गर्ने विशेष अदालतको फैसलामा उल्लिखित छ ।

गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारी बाबाु श्रेष्ठको इजलाशले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २५ गते पेसी तोकेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानको नाममा सरकारबाट १७ करोठ ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दा पनि कामको प्रगति शून्य देखिएकोले ७ जना विरुद्ध २०८० असोज २१ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिष्ठानले विषालु सर्पले टोक्दा प्रयोग हुने औषधी “एन्टी स्नेक भेनम” उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनिएको थियो ।
विषालु सर्प पालन , विष संकलन , प्रशोधन र “एन्टी स्नेक भेनम” उत्पादन गर्ने प्रयोजनका लागि भौतिक संरचना निर्माण गर्ने भन्दै मिलेमतोमा सरकारी रकम निकासा गराई अपचलन गरिएको अख्तियारको दावी थियो । भ्रष्टाचारले बदनामी कमाए पछि भलनाथ खनालको नाम हटाएर सो संस्थाको नाम अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ ।

मधेशमा उपेन्द्र यादव पछि दोश्रो पुस्तामा प्रभावशाली मानिएका जसपाका नेता विजय यादवले विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिन सक्ने मौका अझै कायम छ । तर विशेष अदालतको फैसलाले हाललाई उनको राजनीतिक भविष्य धरापमा परेको स्पष्ट दृष्टिगोचर हुन्छ ।


प्रकाशित : २०८१ असार २५ मंगलवार