पत्रकार सुरेश राय भाइ – विद्रोहीले इतिहास रच्छ – अविरल अघि बढ

[sharethis-inline-buttons]

पत्रकार सुरेश रायको फेसबुक भित्तामा एउटा स्टाटस झुल्कियो । मेरो चक्षु पर्नसाथ साथ दुई पटक पढें र त्यसको स्क्रिनसुट सुरक्षित गरें । स्टाटसमा सुरेश भाइले लेख्नु भएको छ ः

“ गोलबजार नगरबासीको प्रश्न ….? किन गोलबजार नगरपालिकाको वेथितिबारे लेख्दैनौं । यो प्रश्नको जवाफ मसँग त्यतिबेला थिएन । मैले दिन नि सकिन । नगरबासीसँग मेरो अनुरोध धैर्य गर्नुस् , ढिलो भए पनि कडा जवाफ दिनेछु । चाँडै आउँदै छ गोलबजारको वेथिति बारे । ”

पत्रकारितामा वामे सर्दै गरेका सुरेश राय भित्ता समाएर “थिगिरी” गर्दै थिए । “वामेसर्दै” गरेको र “थिगिरी” भनेर उनको “कद” घटाएको होइन । ४० वर्ष देखि पत्रकारिता क्षेत्रमा जुत्ताको तलुवा घिसारेको म र विगत दुई–तीन वर्षदेखि पत्रकारितामा सकृय भएको सुरेश रायको अनुभवको तुलना गर्दा उनको पत्रकारिताको उमेर तथा अनुभवलाई मैले “वामेसर्दै” गरेको वा “थिगिरी” भन्न सुहाउँछ । तर छोटो समयमा सुरेश भाइले पत्रकारितामा समाएको लय,गति र धार आशलाग्दो छ । मनमोहक छ । सन्तोषप्रद छ । यद्यपि काँडा झैं प्रकृतितः तिखारिने, सिरुपाते झैं कसैले उध्याएर धारिलो बनाउने काम अझैं बाँकी छ । रिपोर्टिङ्गमा गुणवत्ता, सवालगत चेतमा प्रष्टता, समाजको शक्ति संतुलनको बोध , प्रस्तुतिकरणको शैलीमा मौलिकता र नवीनतासहित धाराप्रवाह प्रफुष्टन जस्ता सुधारका पक्षहरु परिस्कृत हुँदै जाला । सुरेश रायको पत्रकारितामार्फत समाजलाई सुसूचित गर्ने जमर्को स्राहनीय छ ।

सुरेश रायको यो स्टाटसबाट अचानक छोटो समयमै उनी पत्रकारितामा तन्नेरी भएको आभाष भएको छ । उनले स्पष्ट जनाउ दिएका छन्– “म बिकाउ पत्रकार होइन ।” उनले सिंहनाद गरेका छन् , “ म लोभ लालचमा पर्दिन ।” गोलबजार नगरपालिका भित्रको वेथिति देखेर उनीभित्र छटपटी छ । त्यसको पर्दाफास गरी जनता समक्ष पस्किन उकुसमुकुस भएको छ । गोलबजारका जनताको आशा पूरा गर्न उनी व्यग्र छन् । उनले समाचार सम्प्रेषण गर्न ढिलाई भएकोमा नगरबासीसँग एक प्रकारले क्षमा याचना गर्दै थोरै समय धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले मोलाहिजाको माखेसाङ्गलो चुँडाएका छन् । उनी पिजडा तोडेर बाहिर निस्केको मात्र नभई दिमागी गुलामीबाट पनि आफूलाई मुक्त भएको घोषणा गरेका छन् । अब उनीमा कुनै दिग्भ्रम बाँकी छैन । उनलाई पत्रकारिताको सच्चा दिशाबोध भएको छ । उनी जनमुखी पत्रकारिताको मर्म बुझ्न सफल भएका छन् । सुरेश भाइले धैर्य गर्न समाजलाई आग्रह गरेर आफू शूक्ष्मातिशूक्ष्म अध्ययनमा लागेको संकेत गरेका छन् । नाङ्गो आँखाले प्रथम दृष्टिमै जताततै वेथिति देखिने गोलबजार नगरपालिकाको बारेमा उनले ठूलो तैयारी गरिरहेको लख काट्न सकिन्छ ।

सुरेश रायले दुई दिन अघिमात्र गोलबजार नगरपालिकाले सञ्चालन गरेको कथित मेयर कप व्याडमिन्टन प्रतियोगिताबारे फेसबुक स्टाटस लेखेर केही प्रश्न तेस्र्याएका थिए । माओत्सेतुङ्गले भने झैं जनतालाई अर्ती उपदेश नदेउ , अर्ती उपदेशले समाज फेरिदैंन । जनतालाई प्रश्न गरेर उत्तरको खोजी गर्न भन । प्रश्नमा धेरै तागत हुन्छ । प्रश्नले संसारमा हलचल ल्याउँछ । माओले भने जस्तै भयो । कथित मेयर कप ब्याडमिन्टन प्रतियोगिता बारे पत्रकार सुरेश रायको तीनवटा प्रश्नले मात्र गोलबजार नगरपालिका र चोहर्वा दरवारमा भूइँचालो गयो । मेयर श्याम श्रेष्ठले आफ्नो विरुदावली लेख्ने आश गरेका पत्रकारले अचानक प्रश्न तेस्र्याएको देखेपछि उनलाई जाडो महिनामा एकाबिहानै नुहाएर चिसो बासी भात खाँदा “थुरुरु” मुटु कामे झैं भयो । आफ्नो लुटको स्वर्गबारे खनीखोत्रो नगर्न सुरेश भाइलाई ललाउने फकाउने प्रयत्न हुँदै थियो । तर सुरेश भाइले अर्को स्टाटस पोष्ट गरेर आफू कुन मार्गको यात्री हो भन्ने स्पष्ट पारिदिए । कथित मेयर कप व्याडमिन्टन प्रतियोगिता बजेट पचाउने अति नै भद्दा र कलाविहीन नाटक मञ्चन मात्र हो भन्ने कुरामा कुनै शंका छैन । मुट्ठीभर नातागोता , आसेपासेहरुको विलासी सौख पूरा गर्न जनताले पसिना बगाएर तिरेको करको योभन्दा घृणित अपव्यय अरु केही हुन सक्दैन । कथित मेयर कप व्याडमिन्टन प्रतियोगित बारे प्रश्न उठाएर पत्रकार सुरेश भाइले विद्रोहको विगुल फुकिदिएका छन् । वेथिति विरुद्ध कलम घस्ने शंखनादले सामन्ती दरवार र लुटतन्त्रको जग हल्लिएको छ । भ्रष्ट नोकरशाह भाग्ने तरखरमा पुगेका छन् ।

गोलबजार नगरपालिकाको वेथिति बग्रेल्ती छ । निर्लज्ज र निकृष्ट प्रकारको भ्रष्टाचारलाई छताछुल्ल पार्न कलम चलाउने म “एकलप्रयत्नी ” पत्रकार थिएँ । मलाई पनि जनताले प्रश्न गर्थे , “कसैले देख्दैन र लेख्दैन – तिमी मात्र किन लेख्छौं ? ” म भन्थे अहिले म एक्लै छु तर एक दिन लस्कर खडा हुन्छ । सुरेश भाइ मेरो सहयात्री खडा भएका छन् । क्रमश अन्य पत्रकार साथीहरु पनि यो सतमार्गमा उभिने छन् र केही समय पछि नै ताँती खडा हुने छ ।

पत्रकार भाइ सुरेश राय, तिम्रो कलम जीवित र जागृत रहोस् । तिम्रो कलम अजेय र अमूल्य रहोस् । तिम्रो कलम भ्रष्टाचार वेथिति विरुद्ध बज्र समान बनोस् । तिम्रो कलम अन्याय, अत्याचार, शोषण, दमन र भ्रष्टाचार विरुद्ध खडा भएर जनताको गाँस, बास, कपास, राजनीतिक स्वतन्त्रता तथा न्याय र समानतामा आधारित समाज निर्माणका लागि सतमार्गमा सदैव कटिबद्ध रहोस् । मेरो शुभकामना छ ।


प्रकाशित : २०८१ असार २२ शनिबार