गोलबजार नगरपालिका भित्रको लुटतन्त्रको कथा व्यथा लेख्न डोकोभरी कागज र दुई चार मुठा कलम लिएरै बस्नु पर्छ । “हरि अनन्त हरि कथा अनन्ता ” भने झैं गोलबजार नगरपालिका भित्रको लुट्ने तौरतरिका पनि अनन्त छ । यहाँ लुटतन्त्रको पार पाउनै मुस्किल छ । अन्तर कुन्तरमा लुकेका लुटतन्त्र त खोजिएकै छैन नाङ्गो आँखाले सिधा सपाट देखिने लुटतन्त्र नै अत्यास लाग्दो छ । मेयर श्याम श्रेष्ठको छत्रछायाँमा मौलाएको लुटतन्त्रको जालोले गोलबजार नगरपालिकालाई देशभरमा दुर्गन्धित बनाएको छ । आर्थिक वर्ष २०७९÷०८० कै महालेखा परीक्षकको प्रतिवेदन केलाएर हेर्ने हो भने लुटतन्त्रको ३ दर्जन भन्दा अधिक कथाहरु लेख्न सकिन्छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ – कुनै पनि परियोजनामा नगरपालिकाले एक पटक २ प्रतिशत कन्टेनजेन्सी कट्टा गर्न सक्छ । तर एउटै परियोजनामा दुई पटक त्यो पनि ३–३ प्रतिशत कन्टेनजेन्सी वापत रकम कट्टा गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ –“इन्जिनियरले लागत अनुमान तयार गर्दा नै ३ प्रतिशत कन्टेनजेन्सी कट्टा गरेको र लेखा शाखाले भुक्तानी दिने बेलामा पुनः ३ प्रतिशत कन्टेनजेन्सी वापत रकम कटाएको देखिन्छ । ” यसरी दुई दुई पटक त्यो पनि २ प्रतिशतको सट्टा ३ प्रतिशत रकम कन्टेनजेन्सीमा कट्टा गरेर उपभोक्ता समितिको शोषण गरिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ , – “ कन्टेनजेन्सी रकम कट्टा गरेपछि प्रत्येक आयोजनाको आयोजनागत खर्च अभिलेख राख्नु पर्छ । तर गोलबजार नगरपालिकामा खर्च अभिलेख नै नराखी सो रकम खर्च गरिएको प्रतिवेदनमा औंल्याइएको छ । ” अभिलेख दुरुस्त नहुँदा कुन कुन परियोजनाबाट दोहोरो रकम कट्टा भयो र कति खर्च भयो भन्ने कुरा यकिन गर्न नसकिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नीयम १०(७) अनुसार पूँजीगत तर्फ २ प्रतिशत र नेपाल सरकार अर्थ मन्त्रालयको पत्रानुसार सानातिना खर्चहरुमा २ प्रतिशत कन्टेनजेन्सी रकम कट्टा गर्न सकिने प्रावधान छ । त्यस विपरीत ३ प्रतिशत र दुई पटक कट्टा गर्दा ६ प्रतिशत रकम नाजायज तरिकाले कट्टा गरी उपभोक्ता समितिहरुको ढाड सेकिएको छ ।
कन्टेनजेन्सी वापत कट्टा भई जम्मा भएको रकम मेयर , प्रमुख प्रशासकीय अधिकृत , इन्जिनियर र लेखा अधिकृतले आर्थिक वर्षको अनत्यमा विभिन्न शीर्षकमा खर्च देखाएर बाँडिचुँडी गर्ने गरेका छन् । नीयम विपरीत दुई पटक कटाएको कन्टेजेन्सी करोडौमा जम्मा हुने गर्छ । त्यो रकमको कुनै लेखाजोखा नै छैन ।
मेयर श्याम श्रेष्ठको शासनकालमा गोलबजार नगरपालिकामा लुटतन्त्र एक रोमाञ्चकारी र मानोरञ्जनात्मक खेल बनेको छ ।