सिरहा जिल्लामा निर्माण भइरहेको “गोलबजार– लगदि गदियानी सडक ” कालोपत्रे गर्ने निर्माण व्यवसायीले सव–बेसमा कमअसल निर्माण सामाग्री प्रयोग गरेको छ । ठेक्का सम्झौतामा उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नु पर्ने ठाउँमा स्थानीय “ गागन नदीबाट उत्खनन् गरी ल्याएको ” अधिकाधिक माटो र बालुवा तथा कम भाग गिट्टी मिसिएको सामाग्री सव– बेसमा प्रयोग गरिएको छ ।
गोलबजार – लगदि गदियानी सडकका निर्माण व्यवसयी पेटीदार सम्भू कन्सट्रक्सनले सो सडकको सव–बेसमा हाल्ने भन्दै स्थानीय गागन नदी ठेक्कामा लिएर उत्खनन् गरेको थियो । सडकमा सव–बेस हाल्न ८० हजार घनमिटर उत्खनन्को इजाजत पाएको सो कम्पनीले गोलबजार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई मिलाएर लगभग साढे दुई लाख घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको थियो । अधिक उत्खनन् गरिएको नदीजन्य पदार्थ स्थानीय क्रसर उद्योगहरुलाई बिक्री गरेको सम्भू कन्सट्रक्सनले गोलबजार –लगदी गदियानी सडकको १५ किलोमिटर भागमा त्यही गागन नदीबाट उत्खनन् गरिएको ८० हजार घनमिटर कमअसल सामाग्री सव–बेसमा ओछ्याएको छ । सव बेसमा कमअसल निर्माण सामाग्री प्रयोग गरिएको कारण छिटफुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे भएको छ । ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक धूलाम्मे हुन्छ ।
गोलबजार नगरपालिका १२ का गणेश गौतम प्रश्न गर्छन् , “ सव– बेस हालेर रोलिङ्ग गरिएको सडक यस्तो हिलाम्मे हुन्छ ? ” यस्तो सव – बेसमाथि कसरी एग्रिगेट बेस हाल्ने ? यो जनताको भविष्यसँग खेलवाड हो । गौतम भन्छन् –“निर्माण व्यवसायी सम्भू कन्सट्रक्सनले गागन नदीको बालुवा र माटो हाल्न खोज्दा सुरुमा नियमकारी निकाय हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले रोकेका थिए । ” यो नदीजन्य पदार्थ सव–बेसमा हाल्न पाइदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि सम्भू कन्सट्रक्सनले उक्त नदीजन्य कमअसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो । त्यसमा ग्राभेल मिसाएर स्तरीकरण गरेर सव–बेसमा हाल्ने भनियो । तर तीन महिना पछि ग्राभेल नमिसाई त्यही माटो र बालुवा सव–बेसमा हालिएको छ । गौतम प्रश्न गर्छन् तीन महिना अघि अस्वीकृत भएको निर्माण सामाग्री तीन महिना पछि कसरी मान्य भयो ? उनले यो प्रकरणमा नियमनकारी निकाय र ठेकेदार पक्षबीच अनुचित लेनदेनबाट सम्झौता भएको आशंका गरेका छन् ।
गोलबजार नागरिक समाजका अगुवा राम नारायण सिंह भन्छन् , –“सव–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो । सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर सम्भू कन्सट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरुलाई मिलाएर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ । उनले भने ,– यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहान्छु ।
धनगढीमाई नगरपालिकाका इन्जिनियर सम्भू यादव भन्छन् , “ सव– वेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनु पर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सव– बेस र बेस हाल्नुपर्छ । बेस एग्रिगेटको पनि साइज हुन्छ । निश्चित मात्रामा डस्ट मिसाइन्छ । ” जस्तोतस्तो माटो र बालुवा सव– वेस र बेसमा हाल्नै हुँदैन । कालोपत्रे सडकको टिकाउपन “ सव–बेस र बेस ” मै अन्तरनिहित हुन्छ । सव–बेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक भासिनु हुँदैन ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादव भन्छन् , “सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखियो । त्यसकारण अस्वीकृत गरिएको थियो । पछि गिट्टी मिसिएको सामाग्री भनेर वेस ओछ्याउन दिइएको हो । ” उनले भने सव–बेसको सामाग्री ल्यावमा परीक्षणको लागि पठाइएको रिपोर्ट आएपछि स्पष्ट हुन्छ ।
यता सम्भू कन्सट्रक्सनका सञ्चालक दीपक कार्कीसँग यस बारे प्रतिक्रिया माग्दा उनले भने हामीले सव–वेस मा राम्रै सामाग्री हालेका छौं । अहिले वर्षाले ठाउँ ठाउँमा सडक बिग्रेको र आवागमन अवरुद्ध भएकोले त्यसलाई खुलाउन माटो हालिएको हो ।
गोलबजार लगदी गदियानी सडक ठेक्का नं. (एचआरपी ÷३३७०११२८४÷०७६–७७÷युआर ०१०) कोनटेक प्रा.लि. नक्सालको नाममा बोलपत्र स्वीकृत भएको छ । सडकको निर्माण कार्य पेटीदार सम्भू कन्सट्रक्सन काठमाडौले गरिरहेको छ । १५ कलिोमिटर लम्बाइ रहेको यो सडकको ठेक्का सम्झौता २०७७।०५ ।२४ मा भएको र २०७९ ।११।२३ सम्ममा सम्पन्न गर्ने शर्त थियो । समयमा काम सम्पन्न नभएकोले एक पटक म्याद थप भएको छ । थप म्याद अनुसार २०८१।११।२३ सम्ममा काम पूरा गर्नु पर्ने तोकिएको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ । ५१ करोड ४१ लख ०२ दुई हजार ३ सय ९६ रुपैयाँ ०४ पैसामा ठेक्का कवुल गरेको कम्पनीले ३३ प्रतिशत रकम अर्थात १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ ।
सडक निर्माणमा ढिलाई भएको कारण सिरहाका अभियन्ता रामरिझन यादवले लगदी गदियानी देखि गोलबजारसम्म पैदल यात्रा गरेर दबाव सृजना गरेका थिए । यो सडक निर्माणमा ढिलाई हुँदा लगदी गदियानी देखि उत्तर गोलबजारसम्मका २४ गाउँ टोलका बासिन्दालाई मर्का परेको छ । हुलाकी सडक आयोजना कार्यालय जनकपुरले जनाए अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु ,
सडक सीमा विवाद हुनु , विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु , अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु , निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाई भएको हो ।