पञ्चायती प्रणेता कृष्णचरणको राजनीतिक दर्शनका अनुयायी लीलानाथ श्रेष्ठ र विकास

[sharethis-inline-buttons]

–अर्जुन थपलिया

मानिसको मानसपटलमा “ स्कूलिङ्ग ” को छाप जीवन भर रहन्छ । माननीय लीलानाथ श्रेष्ठ अहिले कम्युनिष्ट पार्टीको नेता रहेपनि २०४६ साल अघि उनी पञ्चायती व्यवस्थाका कट्टर हिमायति कृष्णचरण श्रेष्ठको “राजनीतिक स्कूलिङ्ग” बाट शिक्षित र दीक्षित भएका हुन् । अर्को कुरा उनी अभिजात परिवारमा हुर्किएका व्यक्ति हुन् । वर्ग अनुसारको चरित्र मानिसमा निर्माण हुन्छ । उनको वर्गीय चरित्र पनि ठालु प्रवृतिको हुनु अस्वभाविक होइन ।
पञ्चायतकालमा भनिन्थ्यो “जनताले राजनीति गर्ने होइन – विकास माग्ने हो र विकास थाप्ने हो । राजनीति गर्ने काम राज परिवारको मात्र हो । ” पञ्चायतवादी कृष्णचरणहरु भन्थे विकासका काममा र नाममा विवाद गर्नु हुँदैन । अहिले माननीय लीलानाथ श्रेष्ठले पञ्चायती व्यवस्था निर्देशित कृष्णचरण श्रेष्ठको “स्कूलिङ्ग” मा जे सिकेका थिए, हिजो गोलबजारको नगरसभामा ठ्याक्कै त्यही भाषा बोलेछन् । उनले त्यसो बोल्नु स्वभाविक पनि हो ।
एक अभिजात कुलीन परिवारमा जन्मनु र हुर्किनुमा माननीय लीलानाथको कुनै कसुर छैन । किनकि मानिस कहाँ र कस्को घरमा जन्मिने हो त्यो उसको अधीनमा हुँदैन । तर सत्य के हो भने अभिजात पारिवारिक संस्कारको भट्ठीमा निर्माण भएको वर्गीय चरित्रलाई छोड्न र आफूलाई सर्वाहाराकृत गर्न र सर्वहाराकै कित्तामा उभ्याउन निकै मुस्किल पर्छ । कृष्णचरण श्रेष्ठको पञ्चायती गुरुकुलमा दीक्षित माननीय श्रेष्ठको चरित्रबाट पञ्चायती वुर्जुवा राजनीतिक दर्शनको धङ्गधङ्गी अझै गएको छैन । हिजो नगरसभामा उनको भाषणमाथि एक विहङ्गम दृष्टिकोण मात्र दौडाउने हो भने पनि प्रष्ट देखिन्छ –“उनी भित्र अभिजात वर्गको दम्भ छ । उनी पञ्चायतकालीन राजनीतिक दर्शनका अनुयायी र कृष्णचरण श्रेष्ठका उत्तराधिकारी हुन् । ”
जुनबेला लीलानाथ श्रेष्ठ कृष्णचरण श्रेष्ठको शिष्य थिए, त्यसबेला हामी भूमिगत राजनीतीको आरनमा तताइँदै थियौं । धेरै प्रमाण जुटाउन सक्दैनौ तर साक्षीका रुपमा रामजी यादव, शिवदयाल विश्वकर्मा , सन्तलाल गुर्मछाने मगर , कृष्णलाल सिंह र सत्य नारायण मण्डल अझै जीवित छन् । हामीलाई कमरेडहरुले सिकाउथे – “मानिस नितान्त राजनीतिक प्राणी हो , राजनीतिबाट मानिस अलग हुनै सक्दैन । ” गैर राजनीतिक मानिस दाम्लोमा बाँधिएको पशु सरह हो । समाज वर्गीय छ त्यसकारण विभिन्न स्वरुप र आकारमा समाजमा वर्ग संघर्ष छ । हरेक वर्गको आ आफ्नो चरित्र हुन्छ ।
हामीलाई सिकाइन्थ्यो – सत्ता बन्दुकको नालबाट जन्मिन्छ । सर्वहाराको विकासका लागि सर्वहाराले सत्ता कब्जा गर्नैपर्छ । विकास राजनीतिक कुरा हो । विकासका लागि राजनीति गर्ने हो । विकासमा राजनीति गर्ने हो । किनकि विकासले कुनै एक वर्गको पक्ष लिन्छ । विकास निरपेक्ष निष्पक्ष हुँदैन । विकासले कि त धनी सामन्त वर्गलाई फाइदा पु¥याउँछ । कि त सर्वहारा वर्गलाई हित गर्छ ।
राजनीति भनेको कुनै व्यक्ति वा वर्गले आफ्नो व्यक्तिगत वा वर्गीय स्वार्थ पूर्ति गर्न जुन सैद्धान्तिक वा रणनीतिक बाटो तयार पार्छ त्यही मार्ग नै राजनीति हो । विकासका लागि द्वन्द्व हुन्छ । वर्ग संघर्ष हुन्छ । वाम राजनीतिमा लागेकाहरुले यी सामान्य राजनीतिक कखरा पढेकै हुन्छन् ।
माननीय ज्यु तपाई र हाम्रो स्कूलिङ्ग नै फरक छ । त्यसकारण सोंच, चरित्र र आचरण सबैमा भिन्नता देखिनु स्वभाविक हो । तपाई पञ्चायतका हस्ती कृष्णचरणको दर्शनबाट अनुप्राणित व्यक्ति । तपाईँको बिचारमा विकासमा राजनीति गर्न हुँदैन । नत्र विकास विरोधी कहलाइन्छ । हामी द्वन्द्ववादका प्रशिक्षकहरुका चटिया ( विद्यार्थी ) । हाम्रो नजरमा विकासमा राजनीति हुनै पर्छ । नगरपालिकाको विकासमा हामी प्रश्न उठाउँछौं । त्यो विकास कुन वर्गको हितमा छ ? त्यो विकासले कस्को पक्षपोषण गर्छ ? विकासको हर्ताकर्ता को को थिए ? विकास सहभागितामूलक विधि र प्रकृयाबाट भयो कि भएन ? विकास कानून सम्मत छ कि छैन ? विकास उत्पादनमूलक क्षेत्रमा लगानीका लागि गरियो कि गरिएन ? विकासमा भ्रष्टाचार गरियो कि गरिएन ? विकास बाँड्नेहरुको जिन्दगी फेरियो कि विकास थाप्नेहरुको जीवनमा के रुपान्तरण आयो ?
माननीय श्रेष्ठ ज्यु , विकासको बारेमा यसरी प्रश्न उठाउँदा हामी विकास विरोधी कहलाउँछौ भने हामीलाई मञ्जुर छ । किनकि हामीलाई ज्ञात छ पञ्चायतकालीन राजनीतिको प्रेतात्मा अझै समाजमा भौंतारिदै छ । तिनका नजरमा विकासमाथि प्रश्न गर्दा तिनको लुटको स्वर्गमा धक्का लाग्छ । विकासको प्रतिफल सर्वहारा वर्गको पक्षमा जान्छ । मेयर र सांसदको घर अगाडि कालोपत्रे माथि दोह¥याई तेह¥याइ कालोपत्रे भएको , जता–जता माननीय ज्युको खेत छ उतै–उतै सडक बनेको जस्ता कुराहरु छताछुल्ल हुन्छ । आफू मेयर र शाहजादालाई ठेकेदार बनाएको कुरा समाजमा पुग्छ । एउटा उपभोक्ता समितिको नामको रकम अर्को उपभोक्ता समितिको नाममा चेक काटेर झ्वाम परेको भेद खुल्छ । एक व्यक्तिलाई सम्पूर्ण नगरपालिका सुम्पेर एकद्वार प्रणालीबाट कमिसन लिएको , अझ त्यस्तो भ्रष्टाचारीलाई बचाउन माननीय ज्यु स्वयं फिल्डमा उत्रिएको पनि जनतालाई थाहा हुन्छ । माननीय ज्यु , हामीले पढेको पत्रकारिता अनुसार “सत्ताले जे प्रचार गर्छ त्यो विज्ञापन हो तर जे लुकाउन खोज्छ त्यसलाई उजागर गर्नु समाचार हो । ”
हामी निरपेक्ष निष्पक्ष पत्रकारितामा पनि विश्वास गर्दैनौ । निष्पक्षता पनि सापेक्षिक कुरा हो । हामी नेपाली नागरिकता र संविधान प्रदत्त मौलिक नागरिक अधिकार त्यागेर पत्रकार बनेका हाइनौ र छैनौ । पत्रकार भएर पनि हामीसँग नेपालको संविधान २०७२ ले प्रदान गरेको तमाम अधिकार सुरक्षित छ । त्यसकारण भ्रष्टाचारी मेयर वा अन्य कर्मचारीमाथि उजुरी दिने हाम्रो अधिकार हामीसँग सुरक्षित छ । माननीय ज्यु तपाईँ कानूनका ज्ञाता , कानून मन्त्री नै हुनु भएको हो । भाषणमा पत्रकारिता बारे पनि थाहा छ भन्नुभयो । ल देखाउनुस् नेपालको कुन कानूनको कुन दफाले वा पत्रकारिताको कुन आचारसंहिताले पत्रकारले भ्रष्टाचार विरुद्ध उजुरी दिन मिल्दैन भनेर मनाही गरेको छ ? निरीह, आदेशपालक र अन्धभक्त कार्यकर्ता नजिक जे बोले पनि मान्छन् । ताली बजाई दिन्छन् । तर विवेक हुनेले तपाईँले बोलेका कुरालाई पनि कसौटीमा राखेर हेर्छन् ।
अब नैतिकताको कुरा गरौं । धोवियाधार कमलदह सडक निर्माणको रकम ४० लाख तीन वटा चेक काटेर वडा नं. ३ मा बनेको उपभोक्ता समितिको खातामा जम्मा गरेर मेयर श्याम श्रेष्ठ , श्रीधर केसी, गंगा मण्डल , विजय साहले अपचलन गरेको करा घाम जस्तै छर्लङ्ग छ । धेरै प्रमाण जुटाउनै पर्दैन । बैंक स्टेटमेन्ट हेरे पुग्छ । यो प्रमाण्ति भएन भने हामी मृत्यु स्वीकार्न तयार छौं । तपाईसँग रत्तिभर नैतिकता छ भने भ्रष्टाचारीलाई कारवाही गरेर देखाउनुस् । सस्तो लोकप्रियताका लागि कार्यकर्ता माझ भ्रम छर्न सजिलो छ माननीय ज्यु । नैतिकताको पालना गर्न ज्यादै कठिन छ ।
तपाई सत्तामा हुनुहुन्छ । शक्तिशाली हुनुहुन्छ । अख्तियार पनि तपाईको प्रभाव क्षेत्रमा पर्न सक्छ । हामी निमुखाहरुको उजुरी दब्न दवाउन सक्नुहुन्छ । भएको पनि त्यही हो । तर गोलबजारका जनताले एक–एक दृश्य र घटनालाई हृदयमगम गर्दैछन् । धेरै हिटलर र मुसोलिनीहरु समयको सागरमा डुबेर विलीन भए । हामी तपाईँसँग चुनावमा प्रतिस्पर्धा गर्न सक्दैनौ । त्यसमा हाम्रो रुची पनि छैन । तर कसले जित्नु पर्छ र को हार्नु पर्छ भन्ने निर्णय गर्ने र अभियान चलाउने हामो नागरिक अधिकार हामीसँग सुरक्षित छ । जनताले गोलबजार नगरपालिकामा भइरहेको अकुत भ्रष्टाचार नियालेर हेरिरहेका छन् । २०८४ आउँदै छ । जनताले दिने निर्णय हामी सबैका लागि मान्य हुनैपर्छ ।


प्रकाशित : २०८१ असार १० सोमबार