गोलबजार नगरपालिकाको नगरसभा आजै आयोजना गरिएको छ । तर यो नगरसभाम निर्विघ्न सम्पन्न गर्न एमालेका नेताहरुको लागि फलामको च्युरा चपाउनु परे जस्तै कठिन भएको छ ।
एमालेका गोलबजार नगरस्तरीय नेता,कार्यकर्ता, उप प्रमुख , वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले १५ दिन अघि मेयर श्याम कुमार श्रेष्ठ विरुद्ध अलग्गै भेला गरेपछि चोहर्वा दरवार झस्किएको थियो । पार्टीकै कार्यकर्ताहरु तथा जनप्रतिनिधिहरुले गोलबजार नगरपालिकामा नातावाद , कृपावाद, भ्रष्टाचार र स्वेच्छाचारिता फस्टाएको भनेर विद्रोह गर्दै नगरसभा अवरुद्ध गर्ने निर्णय गरेपछि मेयर श्याम कुमार श्रेष्ठ र उनका दाजु सांसद लीलानाथ श्रेष्ठ अप्ठ्यारोमा परेका थिए ।
पार्टीका विद्रोही समूहलाई मनाएर नगरसभा निर्विघ्न सम्पन्न गराउन मेयर श्याम श्रेष्ठको बलबुताले नभ्याउने भएपछि माननीय लीलानाथ श्रेष्ठ आफै सकृय भएका थिए । संसदको बजेट अधिवेशनमा गयल भएर उनी गोलबजारको नगरसभा सम्पन्न गराउन आएका छन् । सांसद श्रेष्ठको मात्र प्रयासले पार्टीका विद्रोहीहरु नमान्ने भएपछि उनले नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देस्वर मण्डल र अर्का केन्द्रीय सदस्य सुमन प्याकुरेलसमेतलाई ल्याएर परिचालन गरेका छन् ।
हिजो ८ गते असार दिनैभरी चोहर्वा दरवारमा बैडकको लहर चल्यो । पहिलो चरणमा विद्रोही नेता तथा कार्यकर्ताहरुलाई एक्लाएक्लै बोलाइयो । त्यसपछि दुई तीन जनाको समूह बनाएर अर्को चरणको छलफल गराइयो । तेश्रो चरणमा सबैलाई एकै ठाउँमा राखेर छलफल गरियो ।
प्रदेश अध्यक्ष मण्डल , केन्द्रीय सदस्य सुमन प्याकुरेल र माननीय लीलानाथ श्रेष्ठ तीन जना बसेर हरेकलाई सम्झाइयो । तपाईँहरुको बजेट डिमाण्ड के हो ? भन्नुस , त्यो अनुसार बजेट राखिने छ भनियो । पार्टीको आन्तरिक समस्या पछि बसेर समाधान गर्ने भनियो । सम्झाउँदा नसम्झिने र भनेको नमान्नेलाई पार्टीबाट कारवाही गरी निकाल्ने धम्की दिएको एक वडाध्यक्षले नाम उल्लेख गर्ने शर्तमा दावानललाई बताए ।
नगर उप प्रमुख मान्ती साह तोकिएको समयभन्दा दुई घण्टा ढिलो गएकोले उनलाई हप्काउन खोजियो । तर उप प्रमुख साहले डटेर मुकाविला गरेको सुत्रहरुले जनाएको छ । बजेटमा चोहर्वा दरवारको एकाधिकार र स्वेच्छाचारिता रहेको , गलत फाइलहरुमा हस्ताक्षर गर्न दबाब दिने गरेको , मेयरले उप प्रमुखको भूमिका शून्य बनाएको र विपक्षीहरुलाई पोस्ने काम भएको गुनासो पोखेकी थिइन् ।
उप प्रमुख साह लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सर्वप्रथम प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी आएदेखि नगरपालिकामा भ्रष्टाचार बढेको , जनप्रतिनिधिहरुलाई अपमानित गरेको , गैर सामाजिक कृयाकलाप र चरित्र प्रदर्शन गरेको हुनाले उनलाई हटाउनु पर्ने माग जोडदार रुपमा राखेका थिए । श्रीधर केसी भन्दा अनन्त पौडेल नै पालिकाको लागि उपयुक्त रहेको बताएपछि सांसद लीलानाथ श्रेष्ठ र विद्रोहीहरु बीच भनाभन पनि भएको थियो । सांसद श्रेष्ठले श्रीधर केसी नै उपयुक्त भएको र श्याम श्रेष्ठको कार्यकाल भरी यिनैलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर राख्ने हो । त्यसको लागि आफूले जे गर्नु पर्छ गर्छु भनेको एक वडाध्यक्षले दावानललाई जानकारी दिएका छन् । उनले भने , पहिले त माननीय ज्युले असार पछि केसीलाई हटाउने कुरा भन्नुहुन्थ्यो , अहिले त केसीको अन्ध समर्थक पो हुनु भएछ । असारे कोसेली माननीय ज्युको दरवारमा पनि पुगे जस्तो छ ।
विद्रोही समूहले माननीय लीलानाथ श्रेष्ठ र मेयर श्याम श्रेष्ठ माथि माओवादी नेता तथा पूर्व मेयरसँग साँठगाँठ गरी जय गोविन्द साह पोली टेक्निकल इन्सिटिच्युटको भवन निर्माण मैनावती खोलामा गर्न लागेको आरोप लगाएका थिए । विदोहीहरुले उक्त भवन पूर्व मेयरले भनेको स्थानमा निर्माण गरिदिने र माओवादी पार्टीले नगरपालिका सञ्चालनमा श्याम श्रेष्ठलाई सहयोग गर्ने भद्र सहमति भएको आरोप लगाए । प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पूर्व मेयर देवनाथ साह प्रतिअनर्गल बोलेको अडियो टेप सार्वजनिक भएपछि जय गोविन्द साह पोली टेक्निकल इन्सिटिच्युटको भवन निर्माण मैनावती खोलामा गर्न सघाउने शर्तमा माफी दिइएको पनि एक वडाध्यक्षले आरोप लगाए । कार्यपालिका सदीय फुलेस्वर साहले उक्त भवन समितिले निर्णय गरेको वडा नं. २, ३ र ६ को साँध सीमाना बन्नु पर्ने अडान दोहो¥याएका छन् ।
दिनभरीको अनवरत प्रयासले विद्रोही समूहलाई मत्थर पार्न माननीय लीलानाथ श्रेष्ठ सफल भएपनि उनलाई फलामे च्युरा चपाए जस्तै भयो । कार्यकर्तालाई सधै आदेशपालक सम्झिने माननीय श्रेष्ठले यस पटक तिखो आलोचना सुन्नु परेको छ । कार्यकर्ताको सामु अनुनय विनय गर्दै हात जोर्नु परेको एक एमाले नेताले नाम उल्लेख नगर्ने शर्तमा दावानललाई बताए ।
मेयर श्याम श्रेष्ठले नगरपालिका चलाउन नसकेपछि माननीय श्रेष्ठले वागडोर आफ्नो हातमा लिएका छन् ।