सिरहाको कर्जन्हा नगरपालिकाको तेह्रौं नगरसभा असार ७ गते शुक्रवार सम्पन्न भएको छ । कर्जन्हा नगरपालिका २ स्थित बाबा ताल परिसरमा आयोजित नगरसभामा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साह प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिले पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गरेका थिए । नगरसभामा जनप्रतिनिधिहरु बाहेक विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, किसान तथा आम सर्वसाधारण जनतालाई पनि सहभागी गराइएको थियो ।
नगरसभामा अध्यक्षता गरिरहनु भएका नगर प्रमुख भोला प्रसाद पोखरेलले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा दीर्घकालीन सोच “ समावेशी , स्वच्छ हरियाली र समृद्ध कर्जन्हा नगरपालिकाको मुख्य आधार , कृषि शिक्षा स्वास्थ्य पर्यटन र दिगो पूर्वाधार ” लाई मुख्य नारा बनाइएको छ । कर्जन्हा नगरपालिकालाई कृषि, शिक्षा, पर्यटन , सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको निर्माण गरेर मर्यादित रोजगारी सिर्जन ागर्ने र कर्जनहा नगरपालिकालाई समृद्ध बनाउने परिकल्पना गरिएको छ ।
मेयर पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर क्षेत्रको आन्तरिक साधन श्रोतको अधिकतम प्रयोग , रोजगार सृजनामार्फत आर्थिक वृद्धि तथा आर्थिक विकास गर्ने नगरबासीलाई आधारभूत स्वास्थ्यको सुनिश्चितता गर्ने , नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री तथा गुणस्तरीय बनाउने र नगरमा सुशासनको प्रवद्र्धन गर्ने उद्देश्यहरु उल्लिखित छ ।
नगर प्रमुख पोखरेलले वाचन गरेका नीति तथा कार्यक्रममा आर्थिक विकास ,, सामाजिक विकास , पूर्वाधार विकास , वन तथा वातावरण र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरिएको छ ।
नगरक्षेत्रमा कृषि विद्युतीकरण बढाउने , कृषि सडक निर्माण , कृषिमा उत्पादन वृद्धि र बजारीकरणमा जोड सिंचाईका लागि बोरिङ्ग र भूमिहीन दलितलाई जग्गाको लालपुर्जा दिने जस्ता विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यसैगरी पर्यटन विकासका लागि उत्तरवाहिनी, कमला व्यारेज , नन्द बाबा मन्दिर , मरेवा घाट , बाबा ताल , नागा बाबा पार्क, हरिणकट्टा पार्क , रामजानकी पार्क जस्ता ऐतिहासिक क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लिखित छ ।
क्र्जन्हामा ६ विघा जग्गामा उद्योग ग्राम बनाउने , बेरोजगारहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र सहकारीको विस्तार र विकास गर्ने औद्योगिक नीति लिइएको छ ।
नगर प्रमुख पोखरेलले कर्जनहामा एक नगरस्तरीय अस्पताल निर्माण , बर्थिङ्ग सेन्टर सञ्चालन र सुत्केरी आमाका लागि निशुल्क एम्बुलेन्स सेवा दिने नीति लागू गरिने बताउनु भयो । शिक्षा क्षेत्रमा विद्यालयहरुको अवस्थामा सुधार ल्याउने उनको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कर्जन्हा नगरपालिकाकी उप प्रमुख लक्ष्मी श्रेष्ठलेले नगरसभामा आर्थिक विधेयक २०८१ प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक वर्ष २०८१÷०८२ मा आन्तरिक राजस्व ४ करोड संकलन गर्ने लक्ष्य लिएको दस्तावेज प्रस्तुत गर्नुका साथै २०८०÷०८१ को जेठ मसान्तसम्म २ करोड ९० लाख १७ हजार राजस्व उठेको पनि बताइन् । राजस्वको दायरा फराकिलो बनाएर आन्तरिक आम्दानी बढाउने नीति लिएको बताउँदै उप प्रमुख श्रेष्ठले जनतालाई करको भार अधिक नपर्नेतर्फ बिचार गरिएको बताइन् ।
आर्थिक वर्ष २०८०÷०८१ म कर्जन्हा नगरपालिकामा ४२ करोड ५८ लाख ४५ हजार आय रहेको र जेठ मसान्तसम्ममा ३६ करोड १३ लाख ९० हजार खर्च भएको तथ्याङ्क प्रस्तुत गर्दै उप प्रमुख श्रेष्ठले ५१।५ प्रतिशत रकम खर्च भइसकेको र असारमा भुक्तानी हुन बाँकी रहेको जानकारी दिइन् ।
कर्जन्हा नगरपालिकाका प्रवक्ता तथा वडा नं. ११ का वडाध्यक्ष किस्मत राईले विगत दुई वर्षमा नगरपालिकाले गरेको काम र त्यसबाट परेको असर तथा प्रभावहरुबारे लामो प्रस्तुति गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ कल्याणी ढुंगाना , नेपाली कांग्रेसका, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , जसपा नेपाल , जसपाका प्रतिनिधि तथा शिक्षकहरुले सुझाव प्रस्तुत गरेका थिए । सुझावमा सुशासनको प्रत्याभूति , शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार , कृषिमा लगानी र कमला नदीको उत्खनन् रोक्ने माग गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालको पनि उपस्थिति थियो ।