“हामीले कामको गति तीव्र बनाएका छौं , सकेसम्म छिटो कालोपत्रे कनेक्ट गर्ने हाम्रो लक्ष्य हो । तर निर्माण साइट नै क्लिएर छैन । मेटेरियल झिक्न मधेस प्रदेश सरकारको निकायले समयमा सहयोग नै गरेन । उनीहरु हात बाँधेर बस्ने अवस्था आएको छ । ”
यी भनाइ हुन कमला कञ्चनपुर सडक निर्माण आयोजना प्रमुख उज्ज्वल श्रेष्ठको । उनले भने यो सडक निर्माणका लागि जति गिटी चाहिने हो त्यसको एक चौथाई पनि स्टक छैन । लहानस्थित खुट्टी खोलाबाट गिट्टी झिक्न ठेकेदार चीनियाँ रेल्वे कम्पनीले मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयमा निवेदन हालेको थियो । अन्तिम एक महिना समय बाँकी रहँदा जेठ लाग्ने बेलामा आइइइ पास गरिदियो । एक महिनामा मेटेरियल झिक्नै भ्याएन । असार लागेपछि खोला बन्द भइहाल्यो । मेटेरियल नभएपछि कसरी कालोपत्रे गर्ने ?
आयोजना प्रमुख श्रेष्ठले भने पहिलेका त्रुटीहरु सच्याइएको छ । अहिले प्राविधिकहरु पनि जान्ने र अनुभवी आएका छन् । गुणस्तरयुक्त कार्य तीव्र गतिमा अघि बढाइएको छ । तर तगारोहरु पन्छाउन नसक्दा काममा ढिलाई भइरहेको छ ।
श्रेष्ठले भने नेपाल विद्युत प्राधिकरण मिर्चैया शाखालाई गत असोजमा र लहान शाखालाई पोहोर सालकै असारमा परियोजनाले रकम बुझायो । विद्युतका संरचना पोलहरु ठाउँसारी गरी दिन पटक पटक आग्रह गरेको छ । तर लहान , धनगढी, गोलबजार , मिर्चैया कतै पनि साइट क्लियर भएको छैन । ठेकेदार कम्पनीले कसरी काम गर्ने ? दिक्दार भएर चीनियाँ पक्षले पोल भएको ठाउँमा पनि कालोपत्रे गरिदिएको छ ।
पूर्व पश्चिम राजमार्गको कमला कञ्नपुर खण्ड चार लेन बनाउने ठेक्का पाएको चीनियाँ रेल्वे कम्पनीले द्रुत गतिमा काम सम्पन्न गर्न चाहे पनि विघ्न बाधाहरु न्हटाएका कारण काममा ढिलाई हुने भएको छ । विद्युतका संरचनाहरु साइटमा छन् । कालोपत्रे हुने स्थान र अन्डरपास बनाउने स्थानहरुमा विद्युतका पोल र ट्रान्सफर्मरहरु छन् । विद्युत प्राधिकरणले समयमा संरचनाहरु नहटाई दिंदा राष्ट्रिय गौरवको यो परियोजनामा धेरै ढिलाई भएको छ । पटक पटक ताकेता गर्दा पनि विद्युतका संरचना हटाएर साइट क्लियर नगरेकाले चीनियाँ कम्पनीले निर्माण साइट जस्तो छ त्यस्तै अवस्थामा कालोपत्रे गर्न थालेको छ । जसको कारण बीच राजमार्गमा विद्युतका पोलहरु ठिंग उभिएको देखिन्छ । फराकिलो राजमार्ग देखेर तीव्र गतिमा हुइकिने सवारी साधनहरु दुर्घटनामा पर्ने अवस्था सिर्जना भएको छ ।
त्यसैगरी कालोपत्रे गर्ने गिट्टी पर्याप्त मात्रामा स्टक गर्न नपाएपछि चिनीयाँ कम्पनी विलखबन्दमा परेको छ । कम्पनीले ६० हजार घनमिटर मेटेरियल चाहिनेमा मुस्किलले ११ हजार घन मिटर मेटेरियल स्टक गर्न पाएको जनाएको छ । यो आयोजनामा अहिलेसम्म ५१.६ प्रतिशत भौतिक प्रगति भएको छ । ४ लेनमा एकापट्टी २१ किलोमिटर र अर्कोपट्टी १४ किलोमिटर कालोपत्रे भइसकेको छ । ठेकेदार पक्षले धूलो उड्ने समस्या न्युन गर्न दुईपट्टी गरेर कालोपत्रे कनेक्ट गर्ने र कमसेकम दायाँ वायाँ गरेर गाडी कालोपत्रेबाट गुड्ने अवस्थामा पु¥याउने कोसिस गरेको छ । तर मेटेरियल अभाव र विद्युतीय संरचना हटाएकोले ठेकेदार पक्षको रफ्तारमा तगारो बनेको छ । आउँदो दशैंसम्ममा कालोपत्रे पूरा गर्ने लक्ष्य लिएको चिनीयाँ कम्पनी मेटेरियलको अभावमा हात बाँधेर बस्नु पर्ने अवस्था छ । लहान क्षेत्रमा साइट क्लियर नहुँदा काम रोकिएको छ ।
चीनियाँ रेल्वे कम्पनीले सकेसम्म छिटो निर्माण कार्य सिध्याउने गरी कामको रफ्तार बढाए पनि मेटेरियल नहुँदा र विद्युतीय संरचनाहरु हटाएर साइट खाली नगरी दिंदा निर्माण कार्य सुस्त भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दा यो राजमार्गको निर्माण कार्य ०८२ असारसम्ममा पूरा गर्ने बताएका थिए । तर यही गतिमा काम हुने हो भने यो राजमार्ग बन्न अझै वर्षौ लाग्ने देखिन्छ ।
यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरणमिर्चैयाका शाखाका प्रमुख मनोज कुमार शर्मासँग प्रतिक्रिया माग्दा उनले भने हामीले पटक पटक पोल सार्ने जमर्को गरेका छौं । तर स्थानीय बासिन्दाले अनेक बखेडा झिकेर पोल सार्न दिदैनन् । हिजो गोलबजारमा बीच राजमार्गमा भएको पोल सार्न गएका थियौं तर स्थानीयले हाम्रो खेतबाट ट्रान्सफर्मर हटाइ देउ अन िमात्र सार्न दिन्छौं भनेर अत्तो थापे । हामी फर्केर आयौं ।