
गोलबजार नगरपालिकामा गरिब गुरुवा , निमुखा र सोझा साझा जनतालाई झुक्याएर , फकाएर वा गफलतमा पारेर खाली चेकमा हस्ताक्षर गराई भ्रष्टाचार गरिएको सप्रमाण भेद खुलेको छ । घटना विवरण अनुसार गोलबजार नगरपालिका वडा नंं ३ थापा टोलमा १० लाख मात्र बजेट भएको एक उपभोक्ता समिति गठन गरियो । उक्त उपभोक्ता समितिको नाम “सडक माटो तथा ग्राभेल उपभोक्ता समिति” राखियो । सडक बनाउने कार्य ठेकेदार विजय साहले गरेका थिए । उनले रनिङ्ग बिल निकाल्नुपर्छ भनेर उपभोक्ता समितिबाट ५ वटा खाली चेकमा हस्ताक्षर गराएका थिए ।
१० लाख मात्र बजेट र सम्झौता भएको यस उपभोक्ता समितिको खातामा गोलबजार नगरपालिकाले दिएको ६ वटा चेकबाट ६० लाख रकम जम्मा भएको र चेक काटेर झिकिएको छ । सुत्रहरुले जनाए अनुसार थापा टोल सडकको १० लाख, धोवियाधार कमलदह जाने सडक मर्मत उपभोक्ता समितिको ३४ लाख , सोही सडकमा विजय साहले कोटेशनमार्फत गरेको कामको ५ लाख र अर्को एउटा परियोजनाको १० लाख रकम गरी ६ वटा चेकवाट ६० लाख रकम जम्मा भएको छ । उक्त रकम पटक पटक गरी झिकिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष कैलास थापाले आफूहरुले खाली चेकमा हस्ताक्षर गरेर दिएको स्वीकार पनि गरेका छन् । उनले भने गाडीघोडा विजय कै थियो । उसैले माटो ग्राभेल परिदिएको हो । किस्ता किस्तामा भुक्तानी आउँछ भनेपछि हामीले खाली चेकमा सही गरेर दिएका हौं ।
समितिबाट खाली चेकमा हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र ठेकेदारले त्यसको नाजायज फाइदा उठाएको देखिन्छ । अन्य उपभोक्ता समितिको रकम पनि सोही खातामा जम्मा गरेर झिकेको देखिन्छ ।
गोलबजारका अगुवा व्यक्तित्व लम्बोदर दाहाल भन्छन् , ‘ एउटा उपभोक्ता समितिको खातामा अन्य अन्य उपभोक्ता समितिको रकम किन जम्मा गर्नु प¥यो ? उपभोक्ता समितिसँग खाली चेकमा किन सही गराउनु प¥यो ? यहाँ बदनियत देखिन्छ । भोली जाँचबुझ वा छानविन हुँदा १० लाखको परियोजना सम्झौता भएको थापा टोलका उपभोक्ता समितिको खातामा कसरी ६० लाख भुक्तानी भयो भन्ने प्रश्न उठ्छ । गाउँका ती सोझासाझा मान्छेले दुख पाउँछन् । ’ दाहलले यस्तो कुकर्म नगर्न नगराउन नगरपालिकाका सबै पक्षसँग आग्रह पनि गरेका छन् ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् , “गोलबजार नगरपालिकामा भ्रष्टाचारले सीमा नाघेकै छ । अझ डरलाग्दो पक्ष के छ भने मेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार गर्ने तर फसाउने सोझा साझा गरिब निमुखा जनतालाई । त्यस्तो परिपञ्च गरिएको छ । ”
नेता सिंहले भने, ‘यो अत्याचार हो । भोली छानविन हुँदा ती खातावाल अपभोक्ता समिति पर्छ ,जसको कुनै दोष छैन । उनीहरुलाई ललाईफकाई खाली चेकमा सही गराई गफलतमा पारिएको छ । ’ गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कुसाग्र दिमागले भ्रष्टाचारको यो व्युहरचना गरेको हो । यसको तानावाना बुनेका हुन ठेकेदार विजय साहले र सहमति मेयर श्याम श्रेष्ठको पनि छ । खाली चेकमा सही गराउने यो गलत अभ्यास तत्काल बन्द हुनुपर्छ । एउटा समितिको रकम अर्को समितिको नाममा झिकेर अपचलन गर्ने कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानविन प्रारम्भ गरी कारवाही गर्नुपर्छ ।