गोलबजार नगरपालिकामा एक वर्षमा ८७ लाखको डिजेल पेट्रोल वापत खर्च , मर्मत सम्भारमा ४१ लख ३५ हजार

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाले विगत आर्थिक वर्ष २०७९÷०८० मा ८७ लाख ७ हजार रकम इन्धनमा खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले जनाए अनुसार कार्यालय प्रयोजन शीर्षकबाट ७७ लाख ९१ हजार , पदाधिकारी इन्धन शीर्षकबाट ७ लाख २० हजार र अन्य इन्धन शीर्षमामा ९६ हजार गरी कूल ८७ लाख ७ हजार रकम खर्च गरिएको छ ।
महालेखा परीक्षकको रिपोर्टमा भनिएको छ , कानूनले तोके बमोजिम बिल र भौचरका साथ राख्नु पर्ने लग बुक राखिएको छैन । कुन प्रयोजनका लागि कसले कुन सवारी साधनमा कति इन्धन हालेको हो त्यसको कुनै लेखा र हिसाब किताव नै छैन ।
प्रतिवेदनमा भनिएको छ इन्धनको रकम भुक्तानी दिँदा श्रोत कर र मूल्य अभिवृद्धि कर वापतको ३० प्रतिशत कट्टा नगरी भुक्तानी दिइएको छ ।
गोलबजार नगरपालिकाले अहिलेसम्म इन्धन खर्चको मापदण्ड नै तयार पारेको छैन । सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोग खुल्ने गरी अभिलेख पनि राखिएको छैन । कसले कति इनधन पाउने भनेर कोटा पनि निर्धारण नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७७ मा व्यवस्था भए अनुसार इन्धन तथा मर्मत खर्चमा एकरुपता ल्याउन , निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने भनिएको छ तर गोलबजार नगरपालिकामा कुनै मापदण्ड नै बनाइएको छैन । गलबजार नगरपालिकाले इन्धन खर्चमा मिर्चैया , कर्जन्हा र कल्याणपुर नगरपालिकालाई झण्डै दोब्बरले जितेको छ ।
त्यसेगरी मेसनरी तथा औजार मर्मतमा १० लाख ५८ हजार र र सवारी साधन मर्मतमा ३० लाख ७७ हजार गरी जम्मा ४१ लाख ३५ हजार खर्च गरेको छ । नियमामुसार म.ले.प.फा नं. ४१४ र ४१५ को ढाँचामा मर्मत सम्भार अभिलेख राख्नु पर्छ तर गोलबजार नगरपालिकामा कुन गाडी मर्मत गर्दा कति खर्च भयो भन्ने अभिलेख नै नभएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
श्रोतहरुले जनाए अनुसार गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी मेयर श्याम श्रेष्ठको आफन्तको भएको र उक्त भाडामा प्रयोग गरिएको गाडीको सर्वाधिक मर्मत खर्च भुक्तानी लिइएको छ । बाँकी मर्मत खर्च उप प्रमुख मान्ती साहको गाडी र मेयर श्रेष्ठले प्रयोग गर्ने गाडीलाई भनेर ठूलो रकम मर्मत खर्चमा भुक्तानी लिइएको छ । एक वडाध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा भने , हाम्रो मोटर साइकल मर्मत गर्नु पर्दा हाकिम र मेयरको आफ्नै गोजीबाट दिनुपर्छ झैं गरी दाँतबाट पसिना आउँथ्यो । आफूहरुले त मर्मतको नाममा झण्डै आधा करोड झ्वाम पारेछन् ।

 


प्रकाशित : २०८१ असार ५ बुधबार