गोलबजार नगरपालिकामा आ.व. २०७९÷०८० मा सावा १० करोड बेरुजू

[sharethis-inline-buttons]

आर्थिक वर्ष २०७९÷०८० को महालेखा परीक्षकको प्रतिवेदन हेर्दा गोलबजार नगरपालिकामा बेरुजू रकम १० करोड २५ लाख २६ हजार देखिन्छ । कूल बेरुजू मध्ये प्रतिक्रिया प्राप्त नभई असुल उपर गर्नु पर्ने बेरुजू रकम ५ करोड ३६ लाख ७९ हजार रहेको छ । असुल उपर गर्नु पर्ने बेरुजू रकमहरुमा कामै नगरी भुक्तानी लिएको, सम्झौताभन्दा अधिक रकम भुक्तानी दिएको औल्याइएको छ । त्यसैगरी कागज पत्र वा येथेष्ट प्रमाण नपुगेको बेरुजू रकम ४ करोड ३५ लाख ४७ हजार र नियमित गर्नु पर्ने बेरुजू ३३ लाख ५४ हजार रहेको छ । १९ लाख ४५ हजार रकम अनियमित रुपमा पेश्की लिएर फछ्र्यौट नगरेको महालेखा प्रतिवेदनमा औंल्याइएको छ । मेयर देवनाथ साहको कार्यकाल ५ वर्षको बेरुजू ३७ करोड ४८ लाख ४५ हजार रहेकोमा मेयर श्याम श्रेष्ठको पालाको बेरुजू रकम जोडदा कुल बेरुजू रकम ४७ करोड ७३ लाख ७१ हजार देखिन्छ ।

महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ , “ नियमानुसार सुत्रबाट लेखा प्रणाली सञ्चालन गरेपछि सम्पूर्ण परियोजनाहरुको खर्च सुत्रबाटै लेखा प्रणालीमा प्रविष्ट गराउनु पर्ने हो । ” तर गोलबजार नगरपालिकामा सुत्र बाहिरबाट सामाजिक सुरक्षा तथा संरक्षण कोषको रकम रु २२ करोड ५ लाख ९१ हजार २१७ रुपैयाँ र एकीकृत स्वास्थय पूर्वाधार कार्यक्रमको रकम रु ७६ लाख ८७ हजार गरी जम्मा रकम २२ करोड ८२ लाख ७८ हजार २१७ रुपैयाँ नियम विपरीत सुत्र प्रयोग नगरी खर्च गरिएको र अलग्गै लेखा राखिएको छ । सफटवेयरबाट नियन्त्रित र सञ्चालित सुत्र युक्त लेखाप्रणाली हुँदाहुँदै पौने २३ करोड रकम सुत्र बाहिरबाट खर्च गरिनुमा बदनीयत देखिन्छ । यस सम्बन्ध मेयर श्याम कुमार श्रेष्ठको प्रतिक्रिया लिन खोज्दा उहाँसँग सम्पर्क कायम हुन सकेन ।

 


प्रकाशित : २०८१ असार ३ सोमबार