
कमलादेखि कञ्चनपुरसम्म पूर्व पश्चिम राजमार्ग निर्माणको ठेक्का लिएको चीनियाँ रेल्वे कम्पनी दिक्दार भएको उसका प्रतिनिधिहरुले बताएका छन् । राजमार्ग निर्माण कार्य थालेको तीन वर्ष भयो तर विद्युतका संरचनाहरु ह्टाएर साइट क्लियर गर्नु पर्ने कार्य अझै बाँकी छ । चार लेनको सडक निर्माण गर्दा कतिपय स्थानमा विद्युतका पोलहरु बीच सडकमा पर्न गएका छन् । त्यस्ता पोलहरु नहटाएको कारण महिनौसम्म काम रोक्नु परेको एक साइट इन्जिनियरले बताए । उनले भने , हामीले पटक पटक साइट क्लियरेन्सका लागि ताकेता गर्छौ तर सुनुवाई नभएपछि पोललाई बीचैमा राखेर कालोपत्रे गर्ने काम गरिदिएका छौ । एकातिर काम ढिलो भयो भनेर गुनासो आउँछ अर्कोतिर साइट क्लियर छैन । काम गर्नै गाह्रो भएको छ ।
चिनीयाँ कम्पनीले अब जे जस्तो अवस्था छ त्यस्तै अवस्थामा कालोपत्रे गरिदिने रणनीति लिएको छ । गोलबजारदेखि पश्चिम धर्मकाँटा नजिक बीच सडकमा विद्युतको पोल राखेरै कालोपत्रे गरिएको छ । पछि यो पोल हटाउनु पर्दा कालोपत्रे फुटाउनु पर्ने हुन्छ । फुटाएरको कालोपत्रे टाल्न दोहोरो काम हुन्छ । कालोपत्रे पनि कमजोर हुन्छ ।
फराकिलो कालोपत्रेमा तीव्र गतिमा गाडी हुइकिने हुन्दा पोलमा ठोक्किएर दुर्घटना हुने सम्भावना उत्तिकै हुन्छ ।