
गोलबजार नगरपालिका परिसर भित्र एउटा रोलर मेसिन ( गाडी ) पार्क गरेर राखेको देखिन्थ्यो । तर विगत एक वर्षदेखि उक्त रोलर कहाँ छ कसैलाई ज्ञात छ कि छैन ? रोलर मेसिनको खोजी खवर केही छैन । दावानलले खोजी गर्दै जाँदा उक्त रोलर मेसिन कवाडीको हालतमा हनुमान मन्दिर छेउको ग्यारेजमा फेला परेको छ । झण्डै ११ महिना अघि त्यस ग्यारेजमा पु¥याइएको रोलर मेसिन आजसम्म त्यही छ । रोलर मेसिनको छानो भताभुङ्ग भएको छ । घाम , पानी र धूलोले रोलर मेसिन खिया लागेर कवाडीमा परिणत भएको छ । सुत्रहरुले जानकारी दिए अनुसार उक्त रोलर मेसिनको महत्वपूर्ण पाटपुर्जाहरु केही कर्मचारीहरुले बिक्री गरी खाएका छन् । रोलर मेसिन कामै नलाग्ने हालतमा पु¥याइएको छ ।
झण्डै ५० लाखभन्दा माथि मूल्य पर्ने उक्त रोलर मेसिन गोलबजार नगरपालिकाले मेयर देवनाथ साहको कार्यकालमा खरिद गरेको थियो । दिनको १० देखि १२ हजार भाडामा लिँदा वा दिँदा तिर्नु पर्ने उक्त रोलर सडक निर्माणमा उपयोग हुन्छ । आफ्नो रोलरलाई कवाडीमा परिणत गरी गोलबजार नगरपालिकाले गुञ्जा कन्सट्रक्सनको रोलर मेसिन घण्टाको १० हजार तिरेर भाडामा लिएको छ । एलआइपिडब्लु परियोजना लगायत अन्य ग्राभेल सडक निर्माण तथा स्तरोन्नति गर्न रोलर मेसिन गुञ्जा कन्सट्रक्सनको प्रयोग गरिएको र त्यसका लागि लाखौ लाख रुपैयाँ भुक्तानी दिइएको सुत्रहरुले दाबी गरेका छन् ।