बोरिङ्गबाट पानी आएन , लेदो आयो – दमार र पुरान्डीका बासिन्दाको घाँटी नभिज्ने भयो

[sharethis-inline-buttons]

“यो त हाम्रो लागि सिमलको बोटमा फूल रुँगेर हाँङ्गामा बसेको सुगा जस्तै भयो । राताम्मे फूल फुलेको देखेर खाउँला भनी पर्खी बस्यो तर अन्त्यमा ठुंग्दा त खानै नमिल्ने फुङ्ग रुवा उड्यो । ”
यसो भनिरहँदा असफल बोरिङ्ग नजिकै खाली गाग्रो लिएर उभिएकी गोलबजार नगरपालिका ३ पुरान्डीकी २५ वर्षिय सुनिता विकको गह भरी आँशु छचल्कियो । उनी जस्तै सिङ्गो गाउँका बासिन्दाको मुहारमा निराशाको घनघोर कालो बादल छाएको छ । गाउँमा खानेपानीको प्रयोजनका लागि जडान गर्न लागिएको ६ इन्च पावरड्रिल बोरिङ्ग असफल भयो । बोरिङ्गबाट सङ्गलो पानी कलकल्ती निस्केला भन्ने आशमा रहेका गाउँलेले विद्रुप दृश्य देखे । बोरिङ्गबाट पानी आउनुको सट्टा लेदो हिलो पो आयो ।
पुराण्डीका ४५ वर्षिय प्रदीप पाख्रिन १२ दिन अघिसम्म निकै हौसिएका थिए । जव उनको गाउँमा खानेपानीको लागि बोरिङ्ग जडान गर्न सुरु गरियो । उनी भन्छन् विगत फागुन चैतदेखि नै हाम्रो गाउँमा हर्ष बडाईँको वातावरण थियो जव गोलबजार नगरपालिकाले खानेपानी परियोजना सुरु ग¥यो । माथि दमारको थुम्कामा पानी ट्यांकी निर्माण गरिएको छ । जमिन मुनि पाइप लाइन बिछ्याइँदै छ । घरैपिच्छे धारा बनाइदिने भनिएको थियो । तर बोरिङ्ग नै असफल भयो । २२ वर्षिय लक्का जवान आनन्द मोक्तान भन्छन् हामी त खुत्रुक्कै भयौं । सारा गाउँलेको अनुहारबाट खुशी हरायो जसरी शीतको थोपा बिहानीको घाम लागेपछि हराउँछ ।
गोलबजार नगरपालिका वडा नं. ३ दमार र पुरान्डीका बासिन्दाहरुमा आक्रोस पनि छ । उनीहरुले बोरिङ्ग जडान गर्ने मेसिन घेराउ गरेर राखेका छन् । बोरिङ्ग असफल भएपछि गाउँ छोडेर जान लागेको मेसिन रोकेर राखिएको छ । उनले भने हामीलाई नगरपालिका र ठेकेदारले ढाँट्यो , छल्यो । जर्मनीको “इलेक्ट्रिक रिडिस्टिभिङ्ग सर्भे मेसिन ” ( नयाँ प्रविधि ) ल्याएर पहिले जमिनमाथि बाटै भूमिगत पानीको सतह जाँचियो । १ सय १० मिटर तल पानीको पर्याप्त श्रोत छ भनेर जर्मनीबाट रिपोर्ट आयो भनियो । सर्भे गर्न मात्र एक घण्टाको दुई लाख तिरेको भनिएको छ । तर अहिले बोरिङ्ग जडान गर्दा पानी भेटिएन ।
दमारमा पानी ट्यांकी निर्माण गरेर पुरान्डीमामा बोरिङ्ग जडान गर्न सुरु गरिएको थियो । भारतका राजस्थानका मिस्त्री र डिटिएच प्रणालीको मेसिन लगाएर बोरिङ्ग जडान सुरु गरियो । १ सय १५ मिटरमा पानी भेटिन्छ भनिएको थियो तर ९३ मिटरको गहिराईमा गएर ढुंगाको चेपुवामा गएर पाइप फस्यो । पाइप न माथि आउने र तल जानेको अवस्था सृजना भयो । मेसिनले जति बल गरेपनि केही लागेन । १० दिनसम्म कोसिस गर्दा पनि भएन र मेसिन हटाइयो । राजस्थानी मिस्त्री भन्छन् ९३ मिटर मुनि लेसाइलो माटो , हिलो र लेदो मात्र छ । “इलेक्ट्रिक रिडिस्टिभिङ्ग सर्भे प्रविधि ” को रिपोर्ट नै गलत छ , पानी छैन । त्यहाँ भन्दा तल पाइप नै जाँदैन । उनले भने सामान्यता हामी एक दिनमा बोरिङ्ग तयार गर्छौ तर यहाँ १ हजार लिटर डिजल डढाएर १२ दिन प्रयास गर्दा पनि भएन । अब गाउँलेले हाम्रो मेसिन घेराउ गरेका छन् । प्रयास गर्दा पनि भएन त के गर्ने हामीले ?
दमार र पुरान्डी गाउँमा खानेपानीको चरम संकटको समाधान गर्न यसै आर्थिक वर्षमा गोलबजार नगरपालिकाले खानेपानी योजनाका लागि बजेट विनियोज गरेको थियो । बोरिङ्ग जडान, ट्यांकी निर्माण, पाइप लाइन तथा धारा निर्माण गर्न प्रयण कन्सट्रक्सन खडक नगरपालिका –५ ले एक करोड ६ लाखमा ठेक्का साकार गरेको हो । ठेकेदार नन्द कुमार साह भन्छन् आज हामी इन्जिनियर, मिस्त्री , नगरपालिकाका हाकिम र ठेकेदार भेला हुँदैछौं । छलफल गरेर निकास निकाल्छौं । यस सन्दर्भमा गोलबजार नगरपालिकाका इन्जिनियर जय कुमार साहको प्रतिक्रिया बुझन खोज्दा उनले फोन उठाएनन् ।


खानेपानी योजना निर्माण गर्दा सामान्यतया पहिले बोरिङ्ग जडान गरिन्छ । बोरिङ्ग सफल भयो र पानी निस्कियो भने अनि ट्यांकी निर्माण गरिन्छ । त्यसपछि पाइप लाइन र धारा निर्माण गरिन्छ । दमार र पुरान्डीमा उल्टो भएको छ । पहिले ६० हजार लिटर पानी अट्ने ट्यांकी निर्माण गरिएको छ । धमाधम पाइप लाइन ओछ्याइँदै छ । त्यसपछि जडान सुरु गरिएको बोरिङ्ग असफल भएको छ । अब बोरिङ्ग नै भएन वा पानीको श्रोत भेटिएन भने पानी ट्यांकी र पाइप लाइनको के काम ?
यस सम्बन्धमा थप प्राविधिक पक्ष बुझ्न दावानलले भूमिगत जल सिंचाई डिभिजन लहानबाट सेवा निवृत भएका बरिष्ट हाइड्रोलजिष्ट इनिजनियर सुदर्शन अधिकारीसँग सम्पर्क ग¥यौं । उनले भने सर्वप्रथमत डिटिएच प्रविधि नै यस क्षेत्रको लागि अफाप सिद्ध भइसकेको छ । रोटरी प्रणालीबाट बोरिङ्ग जडान गरेको भए हुन्थ्यो । डिटिएचले प्वाल सानो बनाउँछ , ढुंगाको चेपमा फस्यो भने पाइप निस्कदैन किनकि घुमाउनै सक्दैन । फिल्टरको साइज र पानीको श्रोत मिल्दैन । अक्सर पानी भेटियो भने पनि धमिलो वा बालुवा मिसिएको पानी आउँछ । रोटरी प्रविधिमा बोर गरेर पाइप झिकिन्छ । प्वाल ठूलो हुन्छ । बोर होलमा मेसिन हालेर लगिङ्ग गरिन्छ । पानीको श्रोत अनुसार नापेर ठीक ठीक स्थानमा जालीदार फिल्टर हालिन्छ । त्यसपछि लोअरिङ्ग गरिन्छ । बोरिङ्ग सफल हुने सम्भावना ९५ प्रतिशत हुन्छ । डिटिएच प्रणाली धेरै पानीको श्रोत भएको क्षेत्रका लागि मात्र हो ।
अधिकारीले भने सिभलि इन्जिनियरले बोरिङ्गको काम गर्ने नै होइन । हाइड्रोलजिष्ट इन्जिनियरको सहयोग लिनुपर्छ । जमिन मुनिको कुरा सिभिलहरुलाई थाहा हुँदैन । मनपरी र जवर्जस्ती गरेर हुन्छ । भूगर्भको कुरा हामीलाई थाहा हुन्छ । हामीले पढाई गरेका छौ । ३० वर्षको अनुभव छ । अधिकारीले थप्दै भने चुरे भावर क्षेत्रमा ६ इन्च होइन ८ वा १० इन्च साइजको बोरिङ्ग जडान गर्नुपर्छ । थोरै पानीको लेयर भेटिए पनि २–३ इन्च पानी निकाल्न सकिन्छ । गहिराईसम्म ठूलो हर्ष पावरको समरसेवल मोटर छिराउन सकिन्छ । ६० हजार लिटरको ट्यांकी बनाएर ६ इन्चको बोरिङ्गले कसरी पानी पुग्छ त ? उनले प्रश्न गर्दै भने त्यस क्षेत्रमा ६ इन्च बोरिङ्गबाट एक इन्च पानी आउँछ । १०–१५ घरलाई जेनतेन पुग्न सक्छ ।
स्थानीय भक्त बहादुर मोक्तान भन्छन् गत वर्ष पनि गोलबजार नगरपालिकाले दमारमा ८ इन्च साइजको बोरिङ्ग डिटिएच प्रविधिबाट जडान गर्दा असफल भएको थियो । यो वर्ष त केही होला भन्ने ठानेको त झन् “हिस्स” परियो । उनले भारी मन र निन्याउरो अनुहार लगाएर भने अब हामी पानी कै अभावका कारण यो जन्मभूमि छोडेर बसाइँ सर्नु पर्ने भयो ।
असफलताबाट पाठ सिकेर नयाँ प्रविधिबाट यो वर्ष काम थाल्नु पर्ने थियो । बोरिङ्ग क्षेत्रका जानिफकार हाइड्रोलजिष्ट इन्जिनियरहरुसँग परामर्श गरिनु पथ्र्यो । आफू मात्र जान्ने ठानेर अपारदर्शी रुपमा काम गर्दा यस्तो हुन्छ । गोलबजार नगरपालिका वडा नं ३ को दमार र पुरान्डी गाउँ भावरको फेदी मै छ । यहाँ करिव एक सय घरधुरीको बसोबास छ । खानेपानीको चरम संकटले गर्दा यो मानव बस्ती उजाड हुने प्रवल सम्भावना छ ।

 


प्रकाशित : २०८१ असार १ शनिबार