आयोग गठन नाटक मात्र हो – सर्वाङ्ग नाङ्गो भएपछि हत्केलाले गुप्ताङ्ग छोपे जस्तै हो – गणेश गौतम

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकामा फर्जी उपभोक्ता समिति गठन गरी ३४ लाख भ्रष्टाचार गरेको विषयमा छानविन गर्न ३ सदस्यीय समिति गठन भएको छ । एमालेका नेता तथा कार्यकर्ताहरुले यो भ्रष्टाचार काण्डमा स्वयं मेयर श्याम श्रेष्ठको संलग्नता रहेको र भ्रष्ट प्रशासकीय अधिकृत श्रीधर केसी लगायत जो जो संलग्न छन् उनीहरुमाथि कडा कारवाही हुनु पर्ने आवाज उठाए पछि सांसद लीलानाथ श्रेष्ठले छानविन आयोगको घोषणा गरेका हुन् । जेठ ३० गते चोहर्वामा आयोजित एमालेको एक भेलामा छानविन समितिको घोषणा गरिएको थियो ।

छानविन आयोगमा एमाले नेता सूर्यमान तामाङ्ग संयोजक, दीपेन्द्र यादव र चलितर साह सदस्य तोकिएका छन् । छानविन आयोगले १५ दिन भित्र सत्य तथ्य छानविन गरी सांसद लीलानाथ श्रेष्ठ समक्ष प्रतिवेदन पेस गर्नु पर्ने भनिएको छ ।

एमालेका रैथाने कार्यकर्ता गणेश गौतमसँग यस बारे प्रतित्रिया माग्दा उनले भने अरे भाइ अल्लाह मेहरवान त …..पहलवान । सांसद लीलानाथ श्रेष्ठको बलमा भ्रष्ट र असामाजिक चरित्रका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी गोलबजारमा हीरो भएका छन् । यो भ्रष्टाचार काण्डमा स्वयं मेयर श्याम कुमार श्रेष्ठको पनि संलग्नता छ । एउटा मात्र भुक्तानी होइन कम्तीमा आधा दर्जन उपभोक्ता समितिको भुक्तानी विजय साह मार्फत फर्जी खातामा गएको छ । विस्तारै एक एक परत खुल्दै जानेछ । गौतम भन्छन् , “भाइलाई चोख्याउन र कार्यकर्ताको आँखामा छारो हाल्नकालागि सांसद लीलानाथ श्रेष्ठले यो समिति गठन गरेका हुन् । ” यसको कुनै औचित्य छैन । देखादेख र जगजाहेर विषयमा किन चाहियो छानविन समिति ? सिधै कारवाही गर्नुपर्छ । गौतमले भने , “ आयोग गठन नाटक मात्र हो – सर्वाङ्ग नाङ्गो भएपछि हत्केलाले गुप्ताङ्ग छोपे जस्तै हो ” ।

स्थानीय माथवर व्यक्तित्व लम्बोदर दाहाल भन्छन् लीलानाथ श्रेष्ठ र मेयर श्याम श्रेष्ठ दाजुभाइमा भ्रष्टाचार प्रति शून्य सहनशीलता भए उनले फर्जी उपभोक्ता समितिमार्फत भुक्तानी लिएको काण्डमा प्रमुख प्रशासकीय अधिकृत र अन्य संलग्न कर्मचारीहरुलाई कारवाही गरिसक्थे । आयोग गठन गर्नु पर्ने आवश्यकता नै छैन । पैसा कुन खातामा जानु पर्ने थियो र कुन खातामा गयो ? यति हेरे पुग्छ । यो भ्रष्टाचारमा मेयरको संलग्नताको गन्ध आइरहेको छ र सांसद लीलानाथ भाइलाई बचाउन प्रतिष्ठा दाउमा लगाएर उभिएका छन् ।

मओवादीका नेता रामचन्द्र सिंह भन्छन् , श्रीधर केसीलाई लाग्दो हो यो गोलबजारलाई औंलामा नचाइ दिन्छु । मैले जे गरे पनि कसैले केही गर्न सक्दैन । अति भएको दिन  जनता जाग्छन् , जनता जागेपछि सम्हाल्न मुस्किल हुनेछ । सिंहले भने, “भ्रष्टाचार प्रमाणित गरे राजीनामा दिन्छु भन्ने मेयर श्याम श्रेष्ठसँग नैतिकता छ भने राजीनामा दिए हुन्छ । किनकि फर्जी उपभोक्ता समितिमा उनको संलग्नता प्रष्ट भैसक्यो ।

वडा नं. १० को धोवियाधार कमल दह जाने सडक उपभोक्ता समितिको भुक्तानी अर्को फर्जी उपभोक्ता समिति बनाएर भुक्तानी लिएको घटना दावानलमा प्रकाशित भएपछि एमााले वृत्तमा मेयर श्याम श्रेष्ठको चर्को आलोचना सुरु भएको छ । मेयर श्रेष्ठ र सांसद लीलानाथ श्रेष्ठसंग आम कार्यकर्ताहरुले जवाफ माग गरिरहेका छन् । भ्रष्टहरुमाथि तत्काल कारवाही हुनु पर्छ भन्दै कार्यकर्ताहरुले आवाज उठाए पछि सांसद लीलानाथ श्रेष्ठले छानविन समिति गठनको घोषणा गरेका थिए ।

यसै बीच फर्जी उपभोक्ता समिति मार्फत ३४ लाख भ्रष्टाचारको घटना प्रकाशमा आएपछि प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बैंकका कर्मचारीहरु तथा वडा नं. १० का वडा सचिवलाई बोलाएर गोपनीयता भंग गरेको भन्दै हप्काएको सुत्रहरुले बताए छन् । केसीले विजय साहलाई रकम फिर्ता गर्न र उपभोक्ता समितिका अध्यक्ष छत्र आलेलाई मनाउन अह्राएको बुझिएको छ ।

 


प्रकाशित : २०८१ जेष्ठ ३१ बिहीबार