नेपाली सेनाद्वारा प्रदेश स्तरीय संयुक्त विपद् अभ्यास “ अभ्यास संयुक्त उद्धार –२०८१”सञ्चालन

[sharethis-inline-buttons]

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशमा नेपाली सेना र सशस्त्र प्रहरीको प्रत्येक गुल्म तथा गणमा एक–एक जना तालिम प्राप्त गोताखोर राख्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । नेपाली सेनाद्वारा कर्जन्हा नगरपालिका अन्तर्गत कमला नदीको उत्तरवाहिनीमा आज आयोजित प्रदेश स्तरीय संयुक्त विपद् अभ्यास “ अभ्यास संयुक्त उद्धार –२०८१” कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री सिंहले उक्त कुरा बताउनु भएको हो । उहाँले मधेश प्रदेश बाढी तथा ढुवानका दृष्टिकोणबाट अति संवेदनशील भएको र विपद् उद्धारका लागि हमेसा साधन श्रोत र जनशक्ति सम्पन्न भएर तम्तयार रहनु पर्ने कुरामा जोड दिनुभयो ।

मुख्य मन्त्री सिंहले विपद् उद्धारमा आवश्यक पर्ने औजार तथा सामग्रीहरुका लागि आफूले सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री सिंहले नेपाली सेना र सशस्त्र प्रहरीको प्रदेश स्तरीय संयुक्त विपद् अभ्यास “ अभ्यास संयुक्त उद्धार –२०८१” अत्यन्त सफल र प्रभावकारी रहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।

कर्जन्हा नगरपालिका अन्तर्गत कमला नदीको उत्तरवाहिनी क्षेत्रमा नेपाली सेनाको चोहर्वास्थित २७ नं. वाहिनी अड्डा, नन्दा वक्स गण तथा अन्य गणहरु र सशस्त्र प्रहरीको युनिटहरु मिलेर आज बिहान ८ बजेदेखि प्रदेश स्तरीय विपद् अभ्यास गरिएको थियो । सो अभ्यासमा खोंचमा झरेका मानिसलाई डोरीको माध्यमबाट उद्धार गरेर निकाल्ने , बाढी पहिरोमा परेका स्थानीयहरुलाई राहत तथा पुनस्र्थापना गराउने , बाढी तथा ढुवानमा परेकाहरुलाई डुंगाबाट उद्धार गर्ने , आकस्मिक रुपमा तटबन्ध निर्माण गर्ने , हेलिप्याड बनाउने , स्थानीय सामग्रीहरु प्रयोग गरेर नदी तर्ने कौशल तथा सीप सिकाउने र जस्ता जीवन्त अभ्यास गरिएको थियो ।
बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालित विपद् उद्धार अभ्यासमा सैकडौ सैनिकहरुले भाग लिएका थिए । सो अवसरमा विपद् उद्धारका लागि आवश्यक सामाग्रीहरु पनि पदर्शन गरिएको थियो ।

 

 

 

 


प्रकाशित : २०८१ जेष्ठ २७ आईतवार