गोलबजारमा एमाले बचाउन कार्यकर्ताहरुको छुट्टै भेला

[sharethis-inline-buttons]

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको अनियमितता , भ्रष्टाचार, अपारदर्शी कुशासन, नातावाद , कृपावाद र जातीवाद विरुद्ध आज एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुले छुट्टै भेला गरेका छन् । भेलामा ६२ जनाको सहभागिता रहेको थियो । अज्ञात स्थलमा दिउसो २ बजे सुरु भएको छलफल साँझ ७ः३० बजे सकिएको थियो ।

भेलामा नगर स्तरीय नेता , कार्यकर्ता , संगठित सदस्यहरु , वडाध्यक्ष र वडा सदस्यहरु र कार्यपालिका सदस्यहरु सहभागी भएका थिए । भेलालाई “एमाले बचाउ अभियान” नामाकरण गरिएको छ । भेलामा सहभागी एक वडाध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार मेयर श्याम श्रेष्ठको ज्यादतीले सीमा नाघेको र गोलबजार नगरपालिकामा एमाले पार्टीको लोकप्रियता रसातलमा पुग्न लागेकोले पार्टी बचाउनका लागि छुट्टै अभियान सञ्चालन गर्नु परेको हो । उनले भने यसरी नै चल्ने हो भने एमाले समाप्त हुन्छ । हामी अब सचेत हस्तक्षेप गर्छौ ।

भेलामा उपस्थित ६२ जना सबैले आ–आफ्नो मन्तव्य राखेका थिए । भेलामा वक्ताहरुले गोलबजार नगरपालिका भित्र अनियमितता , भ्रष्टाचार, अपारदर्शी कुशासन, नातावाद , कृपावाद र जातीवादले प्रश्रय पाउँदा एमाले विरुद्ध जनमत तयार हुँदै गएको र पार्टीको साख गिरेको प्रति चिन्ता जाहेर गरिएको थिए । एमालेका नेता तथा कार्यकर्ताहरुले हस्तक्षेपकारी भूमिका नखेल्ने हो भने एमाले पार्टी धराशायी हुने वक्ताहरुको कथन थियो ।

वक्ताहरुले नगरपालिकामा भएको बदमासी विरुद्ध बोल्ने कार्यकर्ताहरुलाई एक्ला एक्लै बोलाएर हप्की दप्की गर्ने र सांसद लीलानाथ श्रेष्ठबाट डर धम्की दिलाउने व्यवहारबाट आम कार्यकर्ता दुखी भएको उजागर गरिएको थियो । भेलामा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी आएदेखि गोलबजार नगरपालिकामा भ्रष्टाचार झनै संस्थागत भएको ठहर गरिएको थियो । केसीले जनप्रनिधिहरुसँग सम्मानपूर्वक व्यवहार नगरेको , मनमौजी गरेको र चरम लुटतन्त्र मच्चाएको निष्कर्ष निकालिएको थियो । वडा नं. १० मा धोवियाधार कमलदह सडकको रकम वास्तविक उपभोक्ता समितिमा निकासा नदिएर फर्जी उपभोक्ता समितिमार्फत निकासा लिएर अपचलन गरेको घटना प्रति खेद व्यक्त गर्दै उपरोक्त घटनालाई सच्याउन र वास्तविक उपभोक्ता समितिको खातामा रकम निकासा गर्न माग गर्ने निर्णय पनि गरिएको छ । सो अनुसार नगरे नगराए केसीको कायकक्षमा तालाबन्दी गर्ने समेत निर्णय गरिएको छ । वडा नं. १० को फर्जी उपभोक्ता समितिलाई निकासा दिने घटनाले एमाले पार्टीको वेइजत गराएको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत केसी र लेखा अधिकृत गंगा मण्डलमाथि कारवाही गर्न मेयर श्रेष्ठलाई दबाब दिने निर्णय पनि गरिएको बुझिएको छ ।

मेयर श्याम श्रेष्ठले एमालेका कार्यकर्ताहरुलाई उपेक्षा गरेर विपक्षी पार्टीहरुका वडाध्यक्षहरुलाई काखी च्यापेको , बजेट खन्याएको र निर्णय प्रकृयामा सामेल गराएको भेलाले ठहर गरेको छ । ठेकेदार विजय साहसँग अनुचित साँठगाँठ गरी पार्टीको लोकप्रियतामा धक्का लगाएको पनि ठहर गरिएको छ ।

आगामी असारमा हुने नगर सभामा एमालेका आम नेता तथा कार्यकर्ताहरुको राय सल्लाह लिई सबै वडाहरुमा समानुपातिक बजेट वितरण नगरिए नगर सभा वहिष्कार गर्ने भेलाले निर्णय गरेको सुत्रहरुले जानकारी दिएका छन् । मेयरले अनुचित रुपमा एकमुष्ट बजेट आफ्नो मातहतमा राखेर त्यसको दुरुपयोग गरेको , भाइ भतिजा तथा शाहजादालाई ठेक्कापट्टामा संलग्न गराएको बैठकले निष्कर्ष निकालेको एक सहभागीले बताएका छन् । निर्वाचित भएको दुई वर्ष बित्दा पनि घोषणा पत्र अनुासर काम हुन नसकेको र देखिने गरी ठोस विकासको कार्य हुन नसकेको कार्यकर्ताहरुले बिचार व्यक्त गरेका छन् ।

नगरपालिकाका जनप्रतिनिधि र पार्टी बीच समन्वय नै नभएको र नगरपालिका सञ्चालनमा पार्टीलाई वेवास्ता गरिएकोले अलग्गै भेला बोलाएर रणनीति बनाउनु परेको एक सहभागीले बताए । गोलबजार नगरपालिामा खास गरी गोलबजारमा पार्टी कार्यालय खोलेर सञ्चालनमा ल्याउनु पर्ने र बैठकका लागि चोहर्वा दरवार धाउनु पर्ने परम्पराको अन्त्य गर्ने पनि भेलामा निर्णय गरिएको छ । सांसद लीलानाथ श्रेष्ठले सुधारका लागि नगरपालिकामा हस्तक्षेप गर्नुको सट्टा भाइको बचाउमा कार्यकर्ताहरुमाथि निर्मम शब्दहरु प्रयोग गर्ने गरेको प्रति दुख व्यक्त गरिएको छ ।
(बैठकको तस्बिर, भिडियो दावानलसँग सुरक्षित छ )


प्रकाशित : २०८१ जेष्ठ २६ शनिबार