नक्सा पास नगराई भवन निर्माण गर्दैछन् मेयर श्याम श्रेष्ठ , कानूनको उलंघन र राजस्व छली

[sharethis-inline-buttons]

दावानलले प्रश्न तेस्र्यायो , “ मेयर साहव घर बनाउँदा नक्सा पास गर्ने नीति हाम्रो पालिकामा लागू भएको छ कि छैन ? ? ” मेयर श्याम श्रेष्ठको उत्तर थियो , “ नगर सभाले नै पारित गरिसकेको छ कि नक्सा पास नगराई घर बनाउन नदिने भनेर । हामीसँग नगर प्रहरी थिएन । अब नगर प्रहरी भर्ना गरियो । अब पूरै नगरमा माइकिङ्ग गराएर नक्सा पास गराउन सूचना जारी गराउँछौ अनि नक्सा पास नगराई घर बनायो भने नगर प्रहरी लगाएर रोक्छौ । अब यो नीति छिट्टै लागू हुन्छ । ”

दावानलले दोश्रो प्रश्न राख्यो , मेयर साहव तपाई आफैले घर बनाउँदै हुनुहुन्छ ? नक्सा पास गराउनु भएको छ त ? उत्तर दिन थोरै अलम्लिएर मेयर साहवले भन्नुभयो ,“ नक्सा नगरपालिकामा पेस गरेको छु । ” त्यसपछि इन्जिनियर जय कुमार साहसँग जिज्ञासा राखियो , के हालसालमा मेयर साहवको घरको नक्सा पास भएको छ ? उनले भने – वडा नंं ७ को एउटा फाइल पेस भएको छ , कसको हो कोनी ! पास भएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ मा लेखिएको छ “ कसैले पनि गाउँपालिका वन नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न हुँदैन । ”

मेयर साहव– सामान्य कानूनको प्रयोगमा नागरिकहरु बीच भेदभाव गर्न हुँदैन र गर्न पाइँदैन । कानून सबैका लागि बराबर हो । अरुले नक्सा पास नगराई घर बनाउँदा नगर प्रहरी लगाएर रोक्छु भन्ने मेयर साहव आफैले नक्सा पास नगराई घरको “जग ” सम्मको निर्माण कार्य सम्पन्न गरिसक्नु भएको रहेछ । मेयर साहव नक्सा पेस गर्नु र पास गर्नुमा फरक छ नी ! नक्सा पेस गरेर घर बनाउन पाइने कुरा कानूनमा उल्लेख छैन । नक्सा पास भएपछि मात्र घर बनाउने कुरा कानूनमा लेखिएको छ । आफै मेयर भएर आफैले कानून तोड्नु हुन्छ ? यो नैतिकतासंगत कुरा हुँदै होइन । यद्यपि तपाईँ आफै मेयर भएपछि नगरपालिकामा तपाईँले पेस गर्नुभएको नक्सा पास नहुने कुरै छैन । तपाईँ आफै स्थानीय सरकार प्रमुख हुनुहुन्छ । तपाईँको आदेश सर्वोपरीहुन्छ । तर कथंकदाचित तपाईँले पेस गर्नु भएको नक्सा इन्जिनियरको दृष्टिमा उपयुक्त देखिएन र अस्वीकृत भयो भने के गर्नुहुन्छ ? जग भत्काउनु हुन्छ ? आफूले नक्सा पास नगराई घर बनाउन थालेपछि अरुलाई नक्सा पास छैन भनेर निर्माण कार्य रोक्ने नैतिकताले दिन्छ ? कि त भन्नु प¥यो स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ मेयरको हकमा लागू हुँदैन ।

कानून उलंघन हुँदा त्यसको दुरगामी र चौतर्फी असर हुन्छ । मेयर जस्तो जिम्मेवार पदमा भएकाहरुले कानूनको अक्षरस पालना गरेर उच्च नैतिकताको प्रदर्शन गर्न सक्नुपर्छ । नक्सा पास गराए वापत उठ्ने राजस्व छलियो । मेयर साहवले नक्सा पास नगरी बनाएको घर अब गोलबजार नगरपालिकामा एउटा गलत नजिर बन्छ । जसले पनि र जसलाई पनि बिना नक्सा पास घर बनाएको थाहा पाएर रोक्न जाँदा उसले मेयर साहवको घरतिर चोर औंला तेस्र्याउँछ र भन्छ पहिले उता हेर्नुस् । मेयरबाटै कानून उलंघन भएपछि त्यहाँ अन्यलाई कानून पालना गराउन कुन नैतिकताले नगर प्रहरी लगाउने ? मेयर साहव – नगर प्रहरी भर्ना भइसकेका छन् । मायकिङ्ग पहिले तपाई कै घर अगाडिबाट सुरु गरेर नगर प्रहरी पठाएर तपाईँकै घर निर्माण रोक्न लगाउँदा कस्तो होला ?

घर बनाउने अधिकार त मेयर श्याम श्रेष्ठको पनि छ । तर कानून भन्दा माथि मेयर साहव हुनुहुन्न । कानून मेयर श्याम श्रेष्ठलाई पनि उस्तै अर्थमा लागू हुन्छ जुन अर्थमा एक सामान्य नागरिकको लागि लागू हुन्छ ।


प्रकाशित : २०८१ जेष्ठ २६ शनिबार