गोलबजार नगरपालिकामा लुटतन्त्रको जालो ः फर्जी उपभोक्ता समिति बनाएर ३४ लाख रकम भ्रष्टाचार – असली उपभोक्ता समिति धुरुधुरु रुदै –भौतारिंदै

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडा नं. १० का छत्र कुमार आले त्यतिबेला छाङ्गाबाट खसे जस्तै भए । उनको होस हवास उड्यो । उनलाई फनफनी रिंगटा लाग्यो । गोलबजार नगरपालिकाको लेखा शाखामा उनी चक्कर खाएर ढल्न खोजेपछि भित्ता समाएर उभिए । घाँटी सकेर प्याकप्याक्ती भएका आलेले एक घुटकी पानी खाएर पछि उनको वकार फुट्यो । उनले सोधे – यस्तो कसरी भयो हजुर ? उपभोक्ता समितिको अध्यक्ष म हुँ । मलाई थाहै नदिई हामीले पाउने भुक्तानी विजय साहले कसरी निकालेर लगे त ? कानूनले यसो गर्न मिल्छ ? उनको प्रश्नको जवाफमा भनियो , ल ल पछि कुरा गरेर आपसमा मिलाऔला । चिन्ता नगर्नुस् । भुक्तानी त भैसक्यो ।

नगरपालिकाका अधिकारीहरुले भनेको कुरा सुनेर आलेको चित्त बुझेन । उनले यो अन्याय , अत्याचार र भ्रष्टाचार हो । यसको पर्दाफास गर्नैपर्छ भन्ने निधो गरे । उनले पत्रकारहरु बोलाएर सविस्तार घटना सुनाए ।

आलेको भनाई अनुसार गोलबजार नगरपालिकाको नगरस्तरीय बजेटबाट वडा नं. १० धोवियाधारदेखि पूर्व अशोक गाछी हुँदै बाँधसम्म सडक स्तरोन्नति गर्ने माटो पुर्ने र ग्राभेल हाल्ने कार्यको लागि उपभोक्ता समिति गठन गरियो । उपभोक्ता समितिको नाम “ धोवियाधार कमलदह जाने सडकको मर्मत सम्भार उपभोक्ता समिति ” राखियो । नगरपालिकाले २०८०।१०।१६ गते वडा नं. १० को कार्यालयलाई उपभोक्ता समिति गठन गरी पठाइ दिन पत्र पठाएको थियो । सोही पत्रानुसार वडा कार्यालयले माघ १७ गते सूचना जारी गरी माघ २४ गते उपभोक्ता समिति गठन गरी पठायो । सर्वसम्मतिले मलाई उपभोक्ता समितिको अध्यक्ष बनाइयो ।

सडक निर्माण गर्दा जम्मा २१ सय मिटर लम्बाईसम्म निर्माण गर्नु पर्ने रहेछ । तर उपभोक्ता समितिलाई १४६५ मिटर को जिम्मा दिइयो । ३३ लाख ९५ हजार गोलबजार नगरपालिकाको र जनश्रमदान वापत ४५००४६ गरी जम्मा ३८४५०४६ को परियोजना सम्झौता भएको छ । बाँकी ७ सय मिटर सडक कोटेशनमार्फत विजय साहलाई दिइएको रहेछ । जुन कुरा हामीलाई थाहा दिइएन । एउटै सडक आधा अपभोक्ता समिति र आधाकोटेशन वा टेण्डरबाट एकै आर्थिक वर्षमा दिन मिल्दैन । तर कानून मिचेर काम गराएछन् । हामीलाई ज्ञात भएन । सूचना लुकाइयो ।

आलेले भन्दै गए । २०८०।१०। १५ गते हामीलाई सम्झौता गर्न बोलाइयो । सम्झौता पश्चात २५ गते माघमा हामीलाई कार्यादेश पनि दिइयो । त्यसपछि मेयर साहव र प्रमुख प्रशासकीय अधिकृतले हामीलाई भन्नुभयो , विजय साहलाई माटो र ग्राभेल पुर्ने काम दिनु । उसले पुँजी लगाएर काम गराउँछन् । हामीले हुन्छ भन्यौं । हामी आफै खटिएर रेखदेख गरेर काम गरायौं ।

आले भन्छन् , २०८०।१२।१६ गते स्थानीय अनुगमन समितिले अनुगमन गरेर सिफारिस दियो । २०८०।१२।२८ गते कार्य सम्पन्न भएको वडाको सिफारिस लियौं । २०८०।१०।२९ मा सार्वजनिक लेखा परीक्षण पनि गरियो । त्यसपछि हामीले चैत्र २८ गते भुक्तानी माग गर्दै निवेदन पेस गरेका थियौं । हामीलाई एक साता पछि आउनु भनेर भाका दिइयो । हामी एक साता पछि पुन नगरपालिकामा गयौं । फेरि अर्को भाका दिइयो । एवं प्रकारले जेठ १० गतेसम्म पटक पटक ताकेता ग¥यौं । जव हामी लेखा शाखामा गएर किन भुक्तानी ढिलो गरेको सोध्यौ तव लेखा अधिकृतले भने तपाईहरुको भुक्तानी त एक महिना अघि नै भैसकेको छ । पैसा त लगिसक्यो ।

आलेले आक्रोसित हुँदै भने – लेखाका हाकिम गंगा मण्डललाई हामीले सोध्यौ कसले लग्यो भुक्तानी ? हामी उपभोक्ता समितिको खातामा किन भुक्तानी नपठाएको ? सम्झौता गर्ने हामीसँग अनि यसरी गैर कानूनी रुपमा भुक्तानी अरुलाई दिन मिल्छ ? उनले कुनै जवाफ दिएनन् । हाकिम साहवसँग कुरा गर्नुस् भनेर पन्छिए । आलेले भने हामीले हाकिम श्रीधर केसीलाई सोध्यौं कसरी र किन अरुलाई भुक्तानी दिइयो ? उनले भने ल जे हुनु भै गयो । अब आपसमा बसेर कुरा मिलाऔं । विजय साहसँग कुरा गर्नुस् । उसले मिलाउँछ । हामीले भन्यौ हामी कोहीसँग कुरा गर्दैनौ । हाम्रो खातामा रकम जम्मा हुनुपर्छ । नत्र हामी कानूनी प्रकृयामा जान्छौ ।

उपभोक्ता समितिका अध्यक्ष आलेको दुखेसो सुनेपछि दावानल अनलाइनबाट खोजी सुरु गरियो । लेखा शखाका प्रमुख गंगा मण्डलसँग सम्पर्क खोज्दा उनीसँग सम्पर्क हुन सकेन । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसँग पनि सम्पर्क हुन सकेन । मेयर श्याम कुमार श्रेष्ठलाई यस विषयमा सोध्दा उनले भने यस बारे हाकिमलाई सोध्नुस् । त्यसपछि दावानलले थप खोजी सुरु ग¥यो र निम्न तथ्यहरु फेला परेको छ ।

उपभोक्ता समितका अध्यक्ष सडक निर्माणमा व्यस्त थिए । उनलाई थाहै नदिई गुञ्जा कन्सट्रक्सनका सञ्चालकले २०८०।११।१८ गते नै रनिङ्ग विल भनेर ३० लाख रकम भुक्तानी लिइसकेका रहेछन् । अब प्रश्न उठछ उपभोक्ता समितिको खातामा रकम जम्मा नभएर विजय साहले भनेको खातामा कसरी रकम जम्मा भयो त ? यसकालागि नगर प्रमुख श्याम श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, इन्जिनियर जय कुमार साह, सव इन्जिनियर रमेश यादव, लेखा शाखा प्रमुख गंगा मण्डल र गुञ्जा कन्सट्रक्सनका सञ्चालक विजय साहको मिलिभगत देखिन्छ ।

उपभोक्ता समितिका अध्यक्ष आले भन्छन् हामी उपभोक्ता समितिका तर्फबाट रनिङ्ग विल माग गरेर निवेदन नै दिएका छैनौं । अनि कसरी र किन इन्जिनियरहरुले रनिङ्ग विल बनाइ दिएका हुन् ? यसमा सरासर बदनियत छ । रनिङ्ग विलको रुपमा भुक्तानी जाँदैछ भनेर हामीलाई सुइँको समेत दिएनन् । अति गोप्य तरिकाले निकासा दिइएको देखिन्छ । तर सव इन्जिनियर रमेश यादव भन्छन् कसको नाममा चेक काटियो त्यो लेखाको काम र जिम्मेवारी हो । मैले ठीक नाम उल्लेख गरेर विल बनाइदिएको छु ।

कसरी निकासा सम्भव गराइयो त ? यसतर्फ दावानलले खोजी गर्दा इन्जिनियर द्वय रमेश यादव र जय कुमार साहले ३० लाख ४३ हजार १६१ रुपैयाँको पहिलो रनिङ्ग विल बनाएका छन् । रनिङ्ग विलमा उपभोक्ता समितिको नाम धोवियाधार कमलदह जाने सडकको मर्मत सम्भार उपभोक्ता समिति ” नै उल्लिखित छ । तर गुञ्जा कन्सट्रक्सनले विजक नं. १० को भ्याट विल मिति २०८०।११।१८ मा काटेको छ । जसमा २ सय ट्रिपर माटोको ७ हजार प्रति ट्रिपरका दरले १४ लाख तथा एक सय ट्रिपर ग्राभेलको १६ हजारका दरले १६ लाख गरी जम्मा ३० लाख र १३ प्रतिशत भ्याट ३ लाख ९० हजार जोडदा ३३ लाख ९० हजारको भ्याट विल पेस गरेको छ ।

गुञ्जा कन्सट्रक्सनले भ्याट विल पेस गर्दा “धोवियाधार कमलदह जाने सडकको मर्मत सम्भार उपभोक्ता समिति ” को नाममा विल काट्नु पर्ने थियो तर त्यहाँ बदनियत राखेर चलाखी गरिएको छ । विल अर्कै उपभोक्ता समितिको नाममा काटिएको छ । विलमा नामको कोलममा लेखिएको छ “सडक माटो तथा ग्राभेल ” विलमा स्पष्ट रुपमा उपभोक्ता समितिको नाम लेखिनु पथ्र्यो । यहाँ चलाखी स्पष्ट देखिन्छ ।

अब लेखा शाखाले विलमा उपभोक्ता समितिको नाम नमिलेपछि भुक्तानी रोक्न पथ्र्यौ । किनकि कानूनमा स्पष्ट लेखिएको छ जोसँग सम्झौता भएको छ भुक्तानी उसैलाई दिनुपर्छ । नाम नामेसी अक्षरस मिल्नुपर्छ । तर यहाँ नाम नमिलेको भ्याट विलमा भुक्तानी दिनु सरासर बदनियत देखिन्छ ।

लेखा शाखाले चेक दिदा चेकमा विलमा उल्लेख भएको भन्दा पनि फरक पारिएको छ । चेकमा “सडक माटो तथा ग्राभेल उ.स. गोलबजार न.पा.” लेखेर चेक प्रदान गरेको सुत्रहरुले जानकारी दिएका छन् । सुत्रहरुले एउटा स्टाम्प ( छाप ) मारेको कागज दावानललाई उपलब्ध गराएका छन् । त्यस छापमा “सडक माटो तथा ग्राभेल उ.स. गोलबजार न.पा.” उल्लेख छ । तर वडा नं. उल्लेख छैन । सुत्रहरुले जानकारी दिए अनुसार यो उपभोक्ता समिति गुञ्जा कन्सट्रक्सनका सञ्चालक विजय साहका खास मानिसहरुको हस्ताक्षरबाट सञ्चालन हुने दुई तीन वर्ष अघि खोलिएको खाता हो । यो खाता कुन बैंकमा छ सो कुरा पत्ता नलागे पनि यही खातामा रकम जम्मा भएको सुत्रहरुको भनाइ छ । त्यसैगरी दोश्रो पटक विल बनाएर ३ लाख ३४ हजार एक सय २७ रुपैयाँ निकासा लिइएको देखिन्छ ।

उपभोक्ता समितिका अध्यक्षहरुले खोलेको खाता ०५५०१०१००२०१४७ ग्लोबल बैंक गोलबजार शाखामा छ । यो खातामा रकम निकासा हुनु पर्ने हो तर यो खाता रित्तो छ ।

यस सम्बन्धमा दावानलले जानिफकार व्यक्तिहरुसँग राय लिएको छ । धनगढीमाई नगरपालिका लेखा अधिकृत पुरुषोत्तम साहले भने जोसाग सम्झौता भएको छ ठीक त्यही व्यक्ति वा समितिको नाममा भुक्तानी दिनु पर्छ । सम्बन्धित व्यक्तिकै हातमा चेक दिनुपर्छ । फरक पारेर भुक्तानी भएको भए त्यो आर्थिक अपराध हो । सबै जना कानूनी कारवाहीमा पर्छन् । नेपाली कांग्रेसका यवा नेता तथा एकताका अर्थमन्त्रीका आर्थिक सल्लाहकार रहेका पूर्व जिएम राजकुमार सिंह भन्छन् यदि त्यसरी फरक व्यक्तिलाई भुक्तानी दिनु आर्थिक ऐन कानून विपरीत हो । सिधै हतकडी लाग्छ । सिंह भन्छन् गोलबजारका राजनीतिक दल र नागरिक समाजले यसबारे तत्कालै प्रश्न उठाउनु पर्छ । यस्ता प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई तत्काल कारवाही गरिनुपर्छ ।

यो घटनाप्रकाशमा आएपछि नगरपालिकामा छटपटी छ । एमालेका दुई जना वडाध्यक्ष र ३ जना कार्यपालिका सदस्यहरुले भुक्तानी दिंदा भएको बेइमानी र बदनियतिको घोर विरोध गरेका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत केसी र लेखा प्रमुख मण्डललाई घेराउ गर्ने र कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । एमालेका नेताहरुले नै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत तत्काल नहटाए आगामी नगर सभामा यो विषयलाई व्यापक उठान गर्ने र उनीहरुलाई वहिष्कार गर्ने चेतावनी दिएका छन् ।

पार्टी भित्रै विरोध भए पछि र कानूनी कारवाहीमा पर्न सक्ने खतरा उत्पन्न भए पछि मेयर श्याम श्रेष्ठले सांसद दाजु लीलानाथ श्रेष्ठलाई गुहारेका छन् । सांसद श्रेष्ठले शुक्रबार बिहानै विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरुलाई मत्थर पार्न दरवारमा बोलाएको सुत्रहरुले बताएका छन् । उता उपभोक्ता समितिका अध्यक्ष आले लगायत अन्यलाई थामथुम पार्ने पनि प्रयास सुरु भएको छ । यसका लागि प्रवक्तालाई खटाइएको ज्ञात भएको छ । सुत्रहरुले जानकारी दिए अनुसार उपभोक्ता समितिले घटनाको पर्दाफास गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आलेले गोलबजार नगरपालिकाको न्यायिक समितिमा उजुरी पनि दर्ता गराएका छन् ।

आफू मेयर र साढु भाईका छोरा प्रमुख प्रशासकीय अधिकृत । त्यसमाथि प्रमुख प्रशासकीय अधिकृतको प्रियपात्र इन्जिनियर जय कुमार साह । जसलाई आफु हाजिर भएको भोलिपल्टै केसीले नियुक्त गरेका थिए । लुटतन्त्रलाई सार्थक रुप दिने ठेकेदार र लेखा हाकिम मण्डलको मिलिभगतबाट एउटा लुटतन्त्रको जालो बुनिएको छ । जसको कोपभाजनमा परेको छ गोलबजार नगरपालिकाको बजेटको डालो । काम गर्ने उपभोक्ता समिति धुरुक्क रुनु परेको छ । अर्कैको खातामा अवैध तरिकाले निकासा गरेर ३४ लाख रकम भm्वाम्म पारेर लुटतन्त्रका मुखियाहरु मख्ख परेर उर्घाइ रहेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ २४ बिहीबार