अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिकाका पूर्व कार्यपालिका सदस्यहरु ( २०७४ मा निर्वाचित ) र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरुसँग बयान लिएको थाहा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले बयानका लागि पत्र काटेर बोलाए पछि उनीहरु गत जेठ १० गते बयान दिन हाजिर भएका थिए । बयान दिनेहरुमा तत्कालीन नगर प्रमुख देवनाथ साह , उप प्रमुख रेशम कुमारी थापा सम्पूर्ण वडाध्यक्षहरु , मनोनित कार्यपालिका सदस्यहरु , प्रमुख प्रशासकीय अधिकृत द्वय श्रीधर केसी र अनन्त कुमार पौडेल तथा हाल सेवा निवृत अधिकृत राम नारयाण सिंह पनि रहेका थिए । त्यसैगरी गोलबजार हाट बजार ठेक्का लिने ठेकेदारहरु र गागन तथा घुर्मी नदी ठेक्का लिने गुञ्जा कन्सट्रक्सनका सञ्चालकलाई पनि वयानका लागि बोलाइएको थियो ।
गोलबजार हाट बजार ठेक्काको १ करोड ५२ लाख र गागन तथा घुर्मी खोला चिनियाँ कम्पनीलाई ठेक्का दिंदा ८० लाख रकम नियम विपरीत कर छुट दिई सरकारी राजस्व हिनामिना गरेको आरोपमा उनीहरुसँग बयान लिइएको तत्कालीन वडाध्यक्ष जगत श्रेष्ठले जानकारी दिएका छन् । के कति कारणले राजस्व छुट दिएको हो भन्ने बारेमा अख्तियारले छानविन र सोधिखोजी गरेको अर्का तत्कालीन वडाध्यक्ष रामपुकार कामतीले बताए ।
यस सम्बन्धमा मेयर श्याम कुमार श्रेष्ठसँग जिज्ञासा राख्दा उनले भने –“हो तीन वटा गाडी नै रिजर्भ गरेर पूरै टिम अख्तियारमा बयान दिन गएका थिए । ” त्यसमा त हाकिम साहबहरु पनि परेका छन् होला नी ! भन्ने प्रश्नमा श्रेष्ठले जवाफ फर्काउँदै भने “थिए– थिए, तीन वटै हाकिम पनि थिए । काम बिगारे पछि परिन्छ नी ! कारवाहीमा । सबै जान्छन् , सबै पर्छन् । पर्छन् त पर्छन् । ” उनले थपे , यसमा हामीलाई अख्तियारले जानकारी मागेर पत्र पठाएको पठायै थियो । हामीले पनि ठेकेदारहरुलाई रकम बुझाउन बाराम्वार ताकेता गरेकै हो । अब मामिला अख्तियारमा पुग्यो ।