गणेश गौतम अर्धवैशैं वयमा हिँडदै छन् । गोलबजार नगरपालिका १२ बेतौना गाउँ निवासी गौतम नेकपा संयुक्त मान्धर समूहबाट वाम राजनीतिमा लागेका हुन् । नेपाल विद्यार्थी फेडरेशनमा लागेर विद्यार्थी राजनीतिबाट उनले राजनीतिक गोरेटो समाएका थिए । तर जनयुद्धले विश्राम पाएर शान्ति प्रकृया सुरु भएपछि नेकपा माओवादीको फैलिदो राजनीतिक प्रभावले गौतमलाई पनि आकर्षित ग¥यो । उनको पार्टी र उनी नेकपा माओवादीमा सामाहित भए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि विग्रह हुँदा गौतम एमालेतर्फ रहे । खेतिपाती गरेर जीविका चलाउने गौतम जनताको कामका लागि सहजिकरण गरिदिन विभिन्न सरकारी कार्यालयहरुमा दौडिने गर्छन् । सन्धीसर्पन देखि लेनदेन जस्ता सामाजिक विवाद र झै झगडा (द्वन्द्व रुपान्तरण ) मिलाउन उनको खोजी गरिन्छ । सादगी जीवन जीउने तर ठूलो स्वरमा धाराप्रवाह वाकशैली उनको खास विशेषता हो । स्थानीय राजनीतिमा उनी सबैसँग मिल्ने रुचिकर छविका व्यक्तित्व हुन् भने र सामाजिक जीवनमा उनले काम लाग्ने सहयोगी व्यक्तित्वका रुपमा ख्याति कमाएका छन् । उनी निर्भय भएर सत्य बोल्न सक्छन् । स्थानीय र संसदीय चुनावमा एमाले जिताउन मरिहत्ते गरेर लागेका थिए । उनै गणेश गौतमसँग दावानल अनलाइनका कार्यकारी सम्पादक अर्जुन थपलियाले गोलबजार नगरपालिकाको वस्तुस्थिति , विकास र सुशासन विषयमा अन्तरवार्ता लिएको छु । प्रस्तुत छ सो अन्तरवार्ता ः
प्रश्न ः हिजोआज के काममा व्यस्त हुनुहुन्छ ? कस्तो छ गाउँघरको हालचाल ?
उत्तर ः गाउँघरतिर रहन्छु , खेतिपातीमा एक लगनी काम गर्छु । छरछिमेक र वरपरका समाजलाई सघाउन कहिलेकाँही सदरमुकामतर्फ जान्छु । स्वास्थ छु । यतिबेला समाज अनुचित लेनदेनको मुद्दमा सर्वाधिक अल्झेको छ । सामाजिक छलफल र मध्यस्थताका लागि हामी जस्ता समाजसेवीको खोजी गरिन्छ । सहयोग मागेको ठाउँमा फुर्सद हुँदा गइदिन्छु । मेरो घर बसोबास छेउछाउ गोलबजार नगरपालिकाको वडा नं. ११, १२ र १३ त्यसैगरी अर्नमा गाउँपालिकाको १ नं. वडा महनौर बजारतिर घुमफिर गर्छु । घरिघरी गोलबजार शहरमा पनि आउँछु । यसैगरी बितिरहेको छ दिनचर्या ।
प्रश्न ः स्थानीय तहको चुनावमा पहिलो पटक नेकपा माओवादी र दोश्रो पटक एमालेका उम्मेदवार जिताउन दिलोज्यानले लाग्नुभएको थियो ? कसरी सम्झिनु हुन्छ विगतलाई ?
उत्तर ः हाम्रो पार्टी नेकपा संयुक्त र नेकपा माओवादी एकीकृत भएपछि म नेकपा माओवादी भएँ । त्यसपछिको स्थानीय निर्वाचन २०७४ मा मेयर पदमा देवनाथ साहलाई जिताउन दिलोज्यानले लागे । परिणाम पनि हामीले चाहे जस्तै आयो । मेरो वडामा वडाध्यक्ष पराजित भए पनि मेयरमा एमालेका श्याम श्रेष्ठ भन्दा देवनाथ साह कै बढी भोट आयो । पछि एमाले र माओवादी बीच एकीकरण भयो । हामी एउटै पार्टी बन्यौं तर अर्को चुनाव आउन नपाउँदै पार्टी फेरि विग्रह भयो । त्यसपछि म एमाले मै रहें । एमालेमा रहेर काम सुरु गरियो । देवनाथ साहबाट अपेक्षाकृत विकास र सुशासन प्राप्त हुन सकेन । उनको कार्यकाल निराशाजनक रह्यो । त्यसपछि हामीले परिवर्तन आवश्यक छ भन्ने ठान्यौं । अर्को चुनाव आयो । एमालेले श्याम श्रेष्ठलाई पुनः मेयर पदको उम्मेदवार बनायो । सुशासनका लागि श्याम श्रेष्ठ जिताउनै पर्छ भनेर म समेत हामी कार्यकर्ताहरु चुनावमा होमियौं ।सुशासन र विकासको अपेक्षा सहित हामी अहोरात्र खटिएका थियौं । परिणाम पनि चाहना गरे जस्तै आयो ।
प्रश्न ः यति धेरै दुख गरेर जिताउनु भयो । तर के छ त सुशासन र विकासको अवस्था ? के तपाईहरुको चाहना अनुसार भएको छ त ?
उत्तर ः जनताले चाहेको नै सुशासन र विकास हो । सुशासन नभई विकास प्रकृया अघि बढदैन । जनता पनि सन्तुष्ट हुन सक्दैनन् । मेरो पनि अपेक्षा र चाहना त्यही हो । तर दुर्भाग्य नै भन्नुपर्ला श्याम श्रेष्ठ पनि देवनाथ साह पथ मै हिँड्न थाले । कुनै नवीनतम बाटो र शैली अपनाउने काम भएन । देवनाथ साह ५ वर्षमा जति बदनाम भएका थिए श्याम श्रेष्ठ दुई वर्षे कार्यकाल मै त्यो भन्दा अधिक बदनाम भइसके । अहिले गोलबजार नगरपालिका भित्रबाट भ्रष्टाचार, कुशासन , कमिशनतन्त्र र लुटतन्त्रको दुङ्दुङ्ती गन्ध आइरहेको छ । सामुदायिक शिक्षाको अवस्था सुधार्ने भनेका थिए तर त्यसतर्फ सिन्को भाँचेका छैनन् । सार्वजनिक शिक्षाको दुर्दशा छ । मेयर श्याम श्रेष्ठ निजी अस्पतालहरुको उदघाटन गरी हिँडछन् तर गोलबजारमा सरकारी अस्पताल छैन । १५ वेडको अस्पताल भवन निर्माण अर्नमा पालिकाले तयार गरिसक्यो तर यहाँ दुई वर्ष समय त्यसै बित्यो । भरखर भवन निर्माण कार्य सुरुवात गरेका छन् । कोभिड अस्पताल सञ्चालन मै नआई खण्डहर हुन लाग्यो । सरकारी स्तरबाट एक जना एमविविएस डाक्टर राख्न सकेका छैनन् । जनतालाई चाहिने प्राथमिक र मुल कुरा नै गुणस्तरीय निशुल्क शिक्षा र स्वास्थ्य हो । तर त्यही दुई क्षेत्रलाई वेवास्ता गरिएको छ । विकासको दुरदृष्टि नै छैन । श्याम श्रेष्ठले विकास भनेको ग्राभेल छर्नु हो भन्ने बुझेका छन् । किनकि त्यसमा मनग्गे कमिशन आउँछ । जनता घोर निराशामा छन् । तुलनात्मक रुपमा यिनी भन्दा देवनाथ साह नै निको थिए भन्न लागेका छन् ।
प्रश्न ः भ्रष्टाचार , कमिशनतन्त्र र कुशासन छ भन्नुभयो , यसलाई कसरी प्रष्ट्याउनु हुन्छ ?
उत्तर ः यसको सरल उत्तर छ । देवनाथ साहको कार्यकालमा सिंङ्गो नगरपालिकामा एउटै व्यक्ति हावी थिए । उनी थिए निर्माण व्यवसायी विजय साह । गोलबजारका नागरिक छक्क परेका मात्र होइनन् आजित पनि थिए । ठेक्कापट्टा , उपभोक्ता समितिमार्फत ठेक्कापट्टा र कोटेशन प्रकृया , जताबाट भए पनि काम गर्ने गुञ्जा कन्सट्रक्सन र विजय साह । गोलबजार नगरपालिकाको दायाँ ,वायाँ , पूर्व पश्चिम , उत्तर , दक्षिण , आकाश पाताल जता हेरे पनि विजय साह । देवनाथ साहको कार्यकालमाथि सर्वाधिक कालोधब्बा लगाउने एउटा प्रमुख पक्ष नै विजय साहको हालिमुहाली थियो । देवनाथ साहले थोरै सन्तुलन मिलाउन सकेको भए उनी यसरी बदनाम हुने थिएनन् ।
अहिले हेर्नुहोस् दुर्भाग्य ः जसको डरले छुट्टिए त्यही प¥यो भागमा भने जस्तो भयो । पुनः पुरानै शैलीको पुनरावृति भएको छ । गोलबजार नगरपालिकामा देवनाथ कै अवतारको रुपमा श्याम श्रेष्ठ छन् । देवनाथ कै पालाका हाकिम श्रीधर केसी छन् र उनको प्रियपात्र विजय साह आज गोलबजार नगरपालिकामाथि हावी छन् । यो अपवित्र र अघोषित मितेरीले सुशासनको धज्जी उडाएको छ । नगरपालिका नर्कपालिका बनेको छ । कुशासनको पर्याय बनेको छ । भ्रष्टाचार र कमिशनतन्त्र संस्थागत भएको छ । उपभोक्ता समिति नामका लागि बनाइन्छ , काम विजयले गर्छन् । श्रीधर केसीले विजयका लागि जस्तो कागजमा पनि हस्ताक्षर गर्छन् । जसरी पनि मिलाउँछन् । कोटेशन र ठेक्का जति सबै विजयलाई दिन्छन् । घत लाग्दो कुरा के छ भने देवनथ साहको पालामा भन्दा पनि अहिले विजय साह गोलबजार नगरपालिकामाथि बढी हावी छन् । जताततै गुणस्तरहीन काम भइरहेको छ । ग्राभेल हाल्ने ठाउँमा माटो र बालुवा हाले पनि ठीकै छ । सबैभन्दा डरलाग्दो त के छ भने विजय र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी बीचको अपवित्र मितेरीले नगरपालिकालाई ज्यादै अपारदर्शी बनाएको छ ।
प्रश्न ः जसले गरे पनि काम गर्ने हो नी ? विजय साहले गर्दा के आपत्ती भयो त ?
उत्तर ः व्यक्ति कसले काम ग¥यो भन्ने कुरा होइन । कसरी गरियो भन्ने कुरा प्रधान कुरा हो । कसरी एउटै व्यक्तिलाई सबै ठेक्का पर्ने पर्छ ? कसरी एकै जनालाई सबै कोटेशन पर्छ ? कसरी एकै जनालाई उपभोक्ता समितिले पनि ठेक्का दिन्छ ? उपभोक्ता समिति बनाए पछि फेरि ठेकेदारलाई ठेक्का दिनु नै गैर कानूनी र कमिशनतन्त्र हो । एकै जनालाई सिङ्गो नगरपालिका जिम्मा लगाउनु कुसाशनको द्योतक हो , कमिशनतन्त्रको लागि सुरक्षित एकद्वार प्रणाली बनाइनु हो । भ्रष्टाचारलाई संस्थागत गर्नु हो । धेरै जनालाई काम दिंदा चेक दिनेबेला कमिशनका लागि धेरै जनासँग वार्गेनिङ्ग गर्नुपर्छ । एउटै विजय साहलाई सबै काम दिए पछि एकमुष्ट कमिशन सुरक्षित तरिकाले हात पर्छ । सुन्दा नै अचम्म र उदेक लाग्छ । एउटा नगरपालिकामा एउटा व्यत्ति, सर्वेसर्वा छन् भन्दा दुनियाँले के भन्छन् भन्ने लोकलाजको चिन्ता पनि छैन ।
प्रश्न ः एमालेका कार्यकर्ताहरु किन बोल्दैनन् त ?
उत्तर ः श्याम श्रेष्ठलाई जिताउन एमालेका कार्यकर्ताहरु विपक्षीसँग पौंठेजोरी खेलेका थिए । ती कार्यकर्ताहरुलाई पनि त ठेक्कापट्टा वा कोटेशन दिन सकिन्थ्यो । उपभोक्ता समितिमा रखेर काम गराउन सकिन्थ्यो । तर उनीहरु सबै किनारामा परेका छन् । कार्यकर्तालाई घचेटेर भित्तामा पु¥याइएको छ । सारा कार्यकर्ता भित्रबाट दुखी छन् । तर डरले बोल्न सक्दैनन् । सबैलाई आशा थियो माननीय लीलानाथ श्रेष्ठले हस्तक्षेप गर्छन् । गोलबजार नगरपालिकामा सुधार आउँछ । तर उनी पनि भाइको बचाउमा लागे । गोलबजार नगरपालिकामा सुधारको कुरा उठाउँदा लीलानाथ श्रेष्ठले पुष्पलाल पाख्रिन जस्तो सम्मानीत व्यक्तित्वलाई पार्टी छोडेर जानुस् भनिदिए । अरु कार्यकर्ता उनीहरुको मुखेञ्जेली बोल्न सक्दैनन् । पार्टी भनेकै लीलानाथ श्रेष्ठ हो गोलबजारमा । तर आम कार्यकर्ताहरुको चित्त कुढिएको छ । मन अमिलिएको छ । हिजो देवनाथ साहलाई जिताउन तन, मन र धनले लागेका विजय साह श्याम श्रेष्ठको नजिक छन् तर एमाले कार्यकर्ताहरुलाई पाखा लगाइएको छ । भोलि चुनाव फेरि आउँछ । लीलानाथ श्रेष्ठ र श्याम श्रेष्ठ कार्यकर्ताहरु समक्ष पुग्दा उनीहरुले विजय साहलाई भन्नुस् भनिदिए भने के हुन्छ ? कार्यकर्ताले यक्ष प्रश्न गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र विजय साहको अघोषित अपवित्र मितेरीले गोलबजार नगरपालिकामा एमालेको साख गिरेको छ । पार्टीको लोकप्रियतामा दिनानुदिन ह्रास आइरहेको छ । हिजो जुन व्यक्तिहरुबाट वडा नं. ३ मा श्याम र लीलानाथ श्रेष्ठलाई असुरक्षा पैदा भएको थियो तर उनीहरुलाई नै पोस्ने कार्य हुँदैछ । यो दुर्भाग्यको आँकडा कसरी लगाउने ?
प्रश्न ः पार्टीको बैठकमा कुरा उठाउनु हुन्न ?
उत्तर ः पार्टी भनेकै एकल लीलानाथ श्रेष्ठ हुन् । कसले बोल्ने र बोले पनि कसले सुन्ने ? पार्टी भित्र छलफल र बिचार विमर्शको परम्परा नै छैन । आजसम्म घोषणा पत्र पल्टाएर हेरिएको छैन । स्थानीय तहको चुनाव ताका जारी गरिएको घोषणा पत्र अनुसार कुन काम भयो र कुन काम बाँकी छ भनेर छलफल नै हुँदैन । सायद घोषणा पत्र खोज्दा पनि भेटिदैन होला । पार्टीको नगर कमिटी भित्र नगरपालिकाको काम बारे छलफल नै हुन दिदैनन् । अब भन्नुस् नगरपालिकामाथि पार्टीको नियन्त्रण कहाँ रह्यो । कुनै समस्या उत्पन्न भयो भने काँग्रेस र माओवादीका वडाध्यक्षलाई वार्ता गर्न प्रतिनिधि तोकिन्छ । एमालेका जनप्रतिनिधिमाथि विश्वास समेत गरिदैन । नगरपालिका चलाउने नै कांग्रेसका बालकृष्ण गौतम, माओवादीका वडाध्यक्ष धन प्रसाद लामा र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी छन् । मेयर श्याम श्रेष्ठ त रवर स्टाम्प मात्र हुन् अहिले । गोलबजार नगरपालिकामा एमालेको कुनै मार्गनिर्देशन चल्दैन । श्याम श्रेष्ठलाई एकमुष्ट कमिशन हात परे भइहाल्यो । विकास र सुशासन भर्सेला परोस् ।
प्रश्न ः प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी माथि निकै आक्रमक हुनुभयो तपाईँ ?
उत्तर ः त्यतिबेला देवनाथको कार्यकालमाथि अंकुश लगाउन र आफ्नो संसदीय कोषको बजेट आफू खुशी चलाउन लीलानाथ श्रेष्ठले श्रीधर केसीलाई गोलबजार नगरपालिकामा ल्याएका थिए । लीलानाथ श्रेष्ठ र श्रीधर केसी बीच आफन्तको नाता पनि छ । श्रीधर केसीका कारण देवनाथ साहको कार्यकाल निष्प्रभावी भयो । यिनले देवनाथ साहलाई सहयोगी भवनाले सघाएनन् । यिनले बिगारेको कामका लागि अहिले आएर देवनाथ साह समेतले अख्तियारमा तारिख लिनु परेको छ । विजय साहसँगको यिनको साठगाँठ अपवित्र छ र कमिशनतन्त्रमा काम भइरहेको छ भनेर छुट्टै प्रमाण दिनै पर्दैन । जगजाहेर छ । यिनको बोली वचन र व्यवहार सभ्य समाजले पचाउने खालको छैन । म अहिले भन्दैछु । श्रीधर केसीको कारण मेयर श्याम श्रेष्ठले पछिसम्म अख्तियारमा धाउनु पर्ने छ । गोलबजार नगरपालिकाबाट केसी खेदिएका थिए । उनी फर्केर यहाँ आउन हुँदैनथ्यो । मैले मेयर श्याम श्रेष्ठलाई भनेको छु , केसीले एमाले डुबाउदै छन् । हाम्रो पार्टीको साख गिर्दैछ । श्रेष्ठले मलाई भनेका छन् आश्वासन दिएका छन् । असार पछि केसीलाई बिदा गरिदिन्छु । अहिले आर्थिक वर्ष पूरा गर्नैपर्छ । उनको व्यवहारबाट म पनि दुखी छु ।
प्रश्न ः अन्त्यमा केही भन्नु छ ?
उत्तर ः हाम्रो पार्टी रसातलतर्फ जाँदैछ । यसमा म दुखी छु । समयमा पार्टीले हस्तक्षेप नगर्ने हो भने अर्को चुनावमा जहाज डुब्छ । व्यापक सुधारको खाँचो छ । माननीय लीलानाथ श्रेष्ठले भातृ मोह नराखी हस्तक्षेप गर्नुपर्छ । उनले अवस्था सज्ञानमा लिनुपर्छ ।