कमअसल काम गरेको भन्दै स्थानीयद्वारा गुरुधाम –गोलबजार सडक अवरुद्ध , एम्बुलेन्स रोकिदा बिरामी उद्धार हुन सकेन

[sharethis-inline-buttons]

गुरुधाम गाउँबाट गोलबजार आउने सडक स्थानीयले अवरुद्ध पारेका छन् । गिरी टोल नजिक घुम्तीमा ढुंगा , काठ र मुढा हालेर सडक अवरुद्ध गरिएको छ । गोलबजार नगरपालिका वडा नं. २ गुरुधामको सडक कालोपत्रे गर्न ठेक्का पाएको गुञ्जा कन्सट्रकसनले बेसमा कमअसल सामाग्री हालेर निम्नस्तरको काम गरेको र सडकमा पानी छर्किने कार्य नगरेकोले धूलो उडेर गाउँमा बस्नै नसकिने अवस्था उत्पन्न भएको कारण सडक जाम गरिएको स्थानीयहरुको कथन छ ।

शनिवार १० बिहान बजेदेखि अवरुद्ध गरिएको सडकमा आवागमन ठप्प भएको छ । सडक बन्द गरिएका कारण बिरामीको उद्धार गर्न गएको एम्बुलेन्स पनि थुनिएको छ । गोलबजार हटियाको दिन गुरुधामका बासिन्दाहरुले तरकारी लगायत कृषि उपजहरु बजार ल्याउन पाएका छैनन् । पैदल यात्रीहरु पनि सातपत्रे खोला झरेर गोरेटो बाटोबाट बजार आवत जावत गरिरहेका छन् ।

स्थानीय महेश विस्वकर्माले प्रतिक्रिया दिँदै भने , घरमा बस्न सकिदैन । भान्सा धूलोले भरिएको छ । खाना खान समेत समस्या छ । ठेकेदारले पानी छर्नुपर्छ । रोलर चलाएर धूलो नउडने बनाउनु पर्छ । नत्र हामी यो बाटो खुलाउन दिदैनौं । अर्का स्थानीय बासिन्दा भिखे भारतीले भने पिच गर्ने बेसमा राम्रो ग्राभेल हाल्नु पर्ने हो तर गागन खोलाको बालुवा हालेर पिच गर्न खोजेको छ । कमअसल काम गरिएको छ । त्यसमाथि धूलो उडेर गाउँमा बसिनसक्नु भएको छ । खाना खान समेत पाइएको छैन । ओढ्ने ओछ्याउने जताततै धूलो छ । सास फेर्नै कठिन छ । त्यसकारण बाटो बन्द गरेका हौं ।

यस प्रसंगमा मेयर श्याम श्रेष्ठको प्रतिक्रिया माग्दा उनले भने तपाईँहरु पत्रकार हो , ठेकेदारलाई फोन गरेर भन्नुस् न । पानी छर्छ , समाधान निकाल्छ ।


प्रकाशित : २०८१ जेष्ठ १९ शनिबार