लीला विकास ः बोरिङ्ग ४ थान तर सिंचाई छैन , ७० लाखको विकास उपयोगिता शून्य

[sharethis-inline-buttons]

गोलबजार नपा १० का उदगारी भन्ने जनकलाल यादवको खेतमा ६ इन्च पावरड्रिल बोरिङ्ग जडान गरिएको ५ वर्ष भयो । यो बोरिङ्ग माननीय सांसद लीलानाथ श्रेष्ठको अघिल्लो कार्यकालमा उहाँकै संसदीय क्षेत्र विकास वजेटबाट जडान भएको हो । यो बोरिङ्ग जडान गर्न त्यसबेला १० लाख बजेट खर्च भएको थियो । बोरिङ्ग जडान गर्दा जिआई पाइपसहित समरसेवल मोटर, प्यानल बोर्ड र पावर केवलको पनि इष्टिमेट गरिएको थियो । तर बोरिङ्ग मात्र जडान गरियो । बाँकी कुनै सामान दिइएन । १० विघा जमिन सिंचाई हुने लक्ष्य सहित जडान गरिएको यो बोरिङ्ग निष्प्रयोजन खाँबोको रुपमा ठिङ्ग उभिएको छ । आजसम्म एक थोपा पानी निकाल्न सकिएको छैन । नेपाल सरकारको १० लाख लगानी निरर्थक खेर गएको छ । किसान उदगारी यादवलाई यो बोरिङ्ग बाँदरको पुच्छर लौरो न हितयार भएको छ ।

यो बोरिङ्ग जडान गर्दा मोटर, प्यानल बोर्ड, जिआई पाइप र पावर केवल सबैथोकको इष्टिमेट गरिएको र सो अनुसार भुक्तानी लिइएको छ । तर यी मध्ये कुनै पनि सामग्री उपलब्ध गराइएको छैन । जसको कारण बोरिङ्ग सञ्चालन मै नआइ बर्बाद भएको छ । ५ वर्षसम्म बोरिङ्ग सञ्चालन नगर्दा फिल्टरमा माटो पुरिएर काम नलाग्ने हुनसक्छ । उदगारी भन्छन् ५ वर्ष अघिदेखि यो बोरिङ्ग सञ्चालन गर्न पाएको भए हाम्रो १० विघा जमिनमा सिंचाई हुन्थ्यो । उत्पादन र उत्पादकत्व वृद्धि हुन्थ्यो । तर यो नचल्ने बोरिङ्ग हेर्दाहेर्दै जीवन जाने भयो ।

उदगारी भन्छन् यो बोरिङ्ग जडान गर्ने हालका मेयर श्याम श्रेष्ठ हुन् । म दर्जनौ पटक विन्ती गर्न गएँ । तर कुनै सुनुवाई भएन । मोटर दिन्छौ तर पाइप र तार आफै किन्नु पर्छ भन्छन् । म कहाँबाट खरिद गर्न सक्छु र ? बजेट खाएर अब मेरो थाप्लोमा हाल्नु मिल्छ र ? उनले प्रतिप्रश्न गरे ।

गोलबजार नपा १० कै धर्मपुरमा छोटेलाल तामाङ्गको खेतमा ८ इन्च साइजको डिप बोरिङ्ग जडान गरिएको छ । यो बोरिङ्ग पनि माननीय लीलानाथ श्रेष्ठकै संसदीय बजेटबाट जडान भएको हो । छोटेलाल भन्छन् हालका मेयर श्याम श्रेष्ठले नै सबै काम गराएका हुन् । यो बोरिङ्गमा १५ एचपीको मोटर जडान गरिएको छ । यो बोरिङ्ग जडान भएको पनि ५ वर्ष पूरा भयो तर हालसम्म एक थोपा पानी निकालिएको छैन । २५ विघा जमिनमा सिंचाई पु¥याउन सक्ने क्षमताको यो बोरिङ्ग जडान गर्न २० लाखभन्दा अधिक बजेट खर्च भएको छ । तर आजसम्म सञ्चालनमा आएको छैन । बोरिङ्ग किन सञ्चालन नगर्नुभएको भन्ने प्रश्न भूईँमा खस्न नपाउँदै छोटेलाल तामाङ्गले भने , १५ एचपीको मोटर थ्रिफेज लाइन नभएसम्म चल्दैन । तर यो बोरिङ्गसम्म मात्र दुई फेज लाइन तानिदिएका छन् । म दौडिदा दौडिदा थाके । मेयर साहेब श्याम श्रेष्ठलाई अनुरोध गरे । एउटा तार थप्न लगाइ दिनुस् भनेर हार गुहार गरें । तर कुनै सुनुवाई भएन । २० लाख खर्चेर जडान गरेको बोरिङ्ग ५ वर्षदेखि बिना कामको किलो बनेर बसेको छ । अब त फिल्टर पनि पुरियो होला । १५ एचपीको मोटर जडान गर्नेलाई थ्रीफेज लाइन चाहिन्छ भन्ने ज्ञान हुँदैन ? यिनले हामी सोझासाझा जनतालाई हेपेका हुन् । तामाङ्गले आक्रोसित हुँदै भने अब भेट भयो भने तपाईको बोरिङ्ग उखालेर आफ्नै खेतमा लैजानुस् भनिदिन्छु । आकाशको फल आँखा तरी मर भयो हामीलाई ।

वडा नं. १० धर्मपुरमै रसन लामाको बारीमा ८ इन्चको डिप बोरिङ्ग माननीय श्रेष्ठकै संसदीय कोषबाट जडान भएको र यसका हर्ताकर्ता पनि हालका मेयर श्याम श्रेष्ठ नै भएको स्थानीयहरुले बताए । यो बोरिङ्गमा १५ एचपीको मोटर जडान गरिएको बील भर्पाई पेस गरेर भुक्तानी लिइएको छ । तर बोरिङ्गमा मात्र ५ एचपीको मोटर जडान गरिएको छ । यो बोरिङ्ग चालु हालतमा भए पनि यसबाट आजसम्म सिंचाई भने गरिएको छैन । त्यसको कारण हो यो बोरिङ्गको फिल्टर फुटेर बालुवा र हिलो मिसिएको पानी आउँछ । सुरुदेखि नै हिलाम्मे पानी आएपछि खेतमा बालुवा भरिन्छ भनेर कसैले सिंचाई गर्दैनन् । जसको कारण २० लाखको लगानी खरानी भएको छ । यो बोरिङ्ग सञ्चालनमा आएको भए २० विघा जमिन सिंचाई हुने थियो । तर ५ वर्षदेखि निरर्थक उभिएको छ यो बोरिङ्ग ।

वडा नं. १० कै धर्मपुर गाउँमा भोलमान तामाङ्गको खेतमा अर्को ८ इन्च साइजको डिप बोरिङ्ग जडान भएको छ । यो बोरिङ्ग पनि माननीय श्रेष्ठकै संसदीय कोषबाट उनकै भाइ मेयर श्याम श्रेष्ठको छत्रछायाँमा २० लाख खर्चेर ५ वर्ष अघि जडान भएको हो । यो बोरिङ्गमा १५ एचपीको मोटर जडान गरिएको थियो तर पानीको श्रोत कम भएकोले विगत ४ वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन । यो वर्ष मेयर श्रेष्ठको निर्देशनमा १५ एचपीको मोटर झिकेर ५ एपचीको मोटर जडान गरिदिएको भोलमान तामाङ्गले बताए । झिकिएको ठूलो मोटर मेयर साहेबकै घरतिर लगिएको तामाङ्गको कथन छ । ५ एचपीको मोटर र डेढ इन्चको पाइप लगाए पछि पानी निस्किएको छ तर २० विघा जमिन सिंचाई हुनु पर्नेमा मात्र २ विघामा सीमित भएको छ ।

माननीय सांसद लीलानाथ श्रेष्ठको संसदीय बजेटको उपयोग उदेकलाग्दो छ । ७० लाख खर्चेर जडान गरिएको ४ वटा बोरिङ्गबाट ७० विघा जमिन सिंचाई हुनु पर्ने हो । लक्ष्य अनुसार सिंचाई गर्न सकिएको भए ७० विघा जमिनमा करोडौंको उत्पादन वृद्धि हुन्थ्यो र राष्ट्रलाई योगदान पुगथ्यो । राज्यको रकम त खर्च भयो तर उद्देश्य र लक्ष्य पूरा हुन सकेन । बजेट निरर्थक खेर गयो । ५ वर्ष अघि बोरिङ्ग जडान हुँदा खुशी भएका किसानको मुहारमा अहिले निराशा, अविश्वास, आक्रोस र वेदना देखिन्छ । किसानहरु आफू ठगिएको महसुस गरिरहेका छन् ।

उल्लिखित ४ वटा बोरिङ्ग जडान भएपछि भुक्तानी लिने बेलामा पनि निकै बादबिवाद भएको थियो । शुत्रहरुले दाबी गरे अनुसार गोलबजार नगरपालिकाका तत्कालीन इन्जिनियर संतोष यादवले मूल्यांकन घटाएर नापजाँच गरेपछि हालका मेयर ( उतिबेला बोरिङ्ग जडान गर्ने गराउने ) श्याम श्रेष्ठ रिसाएका थिए । तत्पश्चात तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा लहानका अर्को एक इन्जिनियर नियुक्त गरेर आफू अनुकुल मूल्यांकन गराएर भुक्तानी लिइएको थियो ।

वडा नं. १० का पूर्व वडाध्यक्ष देव नारायण महतो भन्छन् , विकासका नाममा बजेट खर्च हुँदैमा विकास भएको मानिदैन । यी बोरिङ्गहरु सञ्चालनमा आएर किसानको जग्गा सिंचाई भएर उत्पादनमा वृद्धि हुन सकेको भए यसलाई विकास भन्न मिल्थ्यो । तर बोरिङ्गहरुको हालत हेर्दा राज्यको ढुकुटीमा गिर खेलेको भन्नुपर्छ ।

 


प्रकाशित : २०८१ जेष्ठ १५ मंगलवार