गोलबजार नगरपालिका वडा नं. ४ को अतिथि सदनदेखि दक्षिण अशोक यादवको घर , जेम्स स्कूल हुँदै मस्जिद एरियासम्म सडक स्तरोन्नति गरिएको छ । तर ग्राभेल हाल्नु पर्ने स्थानमा माटो र बालुवा मिसिएको कमअसल सामग्री हालिएको छ । धूलो र हिलोबाट बचाउन सडकमा ग्राभेल हालिएको भए पनि कमअसल सामग्री अर्थात माटो र बालुवा हालिएकोले वर्षामा झन् हिलो हुने र सुखायाममा धूलाम्मे हुने स्थानीहरुले गुनासो पोखेका छन् ।
यो सडकमा हालिएको सामाग्री कमअसल त छ नै , अपारदर्शी रुपमा काम गरिएको छ । उपभोक्ता समिति बनाइएको छैन । वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादव भन्छन् उपभोक्ता समिति बनेको छैन । काम चाँहि विजय साहले गरे गराएका छन् । कुन आधारमा गरेका हुन् मलाई थाहा छैन । यसबारे इन्जिनियर जय किशोर साहसँग सोध्दा उनले भने कोटेशनबाट काम भएको छ । तर कोटेशन कसले पाएका हुन् सो भने उनले बताएनन् । योजनास्थलमा कतै पनि साइन बोर्ड झुण्ड्याइएको छैन । श्रोतहरुले बताए अनुसार यो सडक ग्राभेल गर्न १० लाख बजेट छुट्याइएको र गोप्य रुपमा विजय साहको नाममा कोटेशन स्वीकृत गरिएको छ ।
वडा नं. ४ का स्थानीय सुशन साह भन्छन्सडकमा ग्राभेल हाल्नु पर्ने स्थानमा माटो र बालुवा हालिएको स्थानीयहरुले दुखेसो पोखेका छन् । कति बजेट हो , कुन आधारमा काम गराइएको हो ? विकास हो भने हर्ताकर्ता को हो र कति खर्च भयो ? त्यो पनि जनताले थाहा पाउने अधिकार छ । स्थानीय कसैलाई थाहा नदिई एकाएक माटो खन्याउन र सम्याउन थाले । हामी चकित भयौं । सोध्दा पनि कसैले केही भन्दैनन् ।
सुशन भन्छन् , यसमा ग्राभेलको मात्रा नै छैन । बालुवा र माटो मिसिएको छ । यो खेलाको बालुवा पनि होइन । कतैबाट कुनै ढिस्को खनेर ल्याएर हालिदिएका छन् । धूलो उडेर कोठामा बसिसक्नु छैन । जनताको आँखामा छारो हालेका छन् । विरोध हुन्छ भनेर दिनभरीमै काम सकेर गएका छन् । न उपभोक्ता समिति बनाइयो , न त स्थानीयलाई सोधिखोजी गरियो । ग्राभेलको दर रेटमा बालुवा र माटो हालेर झुक्याइएको छ । वडा नंं ४ का वडाध्यक्ष मुकदर्शक भएर यो अनियमितता हेरेर किन बसेका छन् ? सुशनले प्रश्न गरेका छन् ।
लाभग्राही बासिन्दा रामबहादुर साह भन्छन् यो त अति नै भयो । माटो र बालुवा हालेर सम्याएर ग्राभेल हालेको भन्छन् । हामीलाई पत्तै नदिएर एकै दिनमा अचानक माटो पुरेर हतार हतार भागेका छन् । सोधिखोजी गर्दा पनि कसैले केही बताएनन् । यो नगरपालिकामा लुटतन्त्र चलेको छ ।
जनमत पार्टीका गोलबजार नगर अध्यक्ष राम प्रगेश महतो भन्छन् गोलबजार नगरपालिकामा श्रीधर केसी प्रमुख प्रशासकीय अधिकृत भएर आएदेखि विजय साहको हालिमुहाली भएको छ । श्रीधर केसी र विजय साहको कनेक्सनको अर्थराजनीति हामीले बुझेका छौं । ८० प्रतिशत योजना विजय साहको हातमा परेको छ । ५० प्रतिशत कमिशनमा काम भइरहेको छ । सबै कामहरु कमअसल भइरहेका छन् । एकै ठाउँबाट एकमुष्ट कमिशन आउने भएपछि मेयरलाई पनि आराम भएको छ । तर जनमत पार्टीले १३ वटै वडामा लगत संकलन गरिरहेको छ । हामी नियालेर हेरिरहेका छौं । एक एक हिसाव प्रमुख प्रशासकीय अधिकृतसँग सोध्ने छौं । जरुरत परेमा नगरपालिका ठप्प पारिने छ । महतोले प्रश्न गरे , एक जना विजय साहलाई मात्र नगरपालिका भित्र सर्वेसर्वा किन बनाइएको छ ?
माओवादी नेता रामचन्द्र सिंह भन्छन् विजय साहले उत्खनन्को अनुमति लिएका छैनन् । फेरि उनले ग्राभेल कहाँबाट ल्याउँछन् । वडा नंं २ र ३ को विभिन्न स्थानबाट उनले गैर कानूनी उत्खनन् गरेर ल्याइरहेका छन् र दाहोरो नाफा कमाइरहेका छन् । राजस्व चुहावट समेत भइरहेको छ । यसको जिम्मेवारी पनि प्रमुख प्रशासकीय अधिकृत केसीले लिनु पर्छ । विजय साह र श्रीधर केसी बीच अहिले मोदी–अडानीको सम्बन्ध कायम छ । श्रीधर केसी गोलबजार आउनसँथ नगरपालिका विजय साहको कब्जामा गएको जगजाहेर छ । यो सबै कमिशनको खेल हो । अर्थशास्त्र नबुझेसम्म राजनीति बुझिदैन ।