एनआईसी एसिया बैंक गोलबजार शाखाले बिचौलियासँग मिलेर रीत नपु¥याइ ऋणीको जग्गा लिलाम गरी बिक्री गरिदिएको विरोधमा गोलबजारका व्यापारीहरु आन्दोलित भएका छन् । हिजो आइतबार उद्योग व्यापार संघ गोलबजारको अगुवाई गोलबजारका सैकडौं व्यापारीहरु बैंक विरुद्ध प्रदर्शन गरेका छन् । बैंकिङ्ग अतंक विरुद्धको आन्दोलन भन्दै व्यापारीहरुले एनआइसी एसिया बैंकको गोलबजार शाखा घेराउ गरेका थिए । प्रदर्शनकारी व्यापारीहरुले व्यापारीको जग्गा फिर्ता गर , बैंकिङ्ग आतंक बन्द गर र बिचौलिया मुर्दावाद भन्दै नारावाजी गरेका थिए । प्रदर्शनको क्रममा आन्दोलनकारीहरुले बैंक भवनमा ढुंगामुढा गर्दा भवनको शिशा फुटेको थियो । सिमसिम पानीमा रुझेर आन्दोलनकारी व्यापरीहरुले बैंक अगाडि घन्टौसम्म नारावाजी गरेका थिए ।
आन्दोलनकारीहरुले बै.क घेराउ तथा ढुंगामुढा गरेपछि एनआइसी एसिया बैंकको केन्द्रिय कार्यालय सिइओले उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारडालाई फोन गरेर बुधबारसम्मको समय माग गरेका थिए । त्यसपछि आन्दोलनकारीहरु मत्थर भएका थिए । बुधबारसम्म उचित निकास नदिए पुनः बैंक घेराउ गरिने र झन् सशक्त आन्दोलन गरिने उद्योग व्यापार संघ गोलबजारले जनाएको छ ।
आन्दोलनकारी तथा उद्योग व्यपार संघ गोलबजारका अध्यक्ष विजय साहले भने , हामीले सात दिनको अल्टिमेटम दिएर जग्गा फिर्ता गर्न ज्ञापन पत्र बुझाएका थियौं । तर बैंकको व्यवस्थापन पक्षले कुनै चासो देखाएन । त्यसकारण सशक्त आन्दोलन गर्नु पर्ने बाध्यता आइलागेको छ ।
गोलबजारका व्यापारी दुर्गेश साहको धितो जग्गा ऋणीलाई थाहै नदिई , सामान्य प्रकृया समेत पूरा नगरी बैंक मैनेजर र बिचौलियाले षडयन्त्र गरेर बिक्री गरिदिएको व्यापारीहरुको आरोप छ । १५ लाखको धुरले बिक्री हुने जग्गा मात्र ४ लाखको धुरले आफन्तको नाममा बिक्रीनामा गराएको पीडित दुर्गेश साहले बताए ।