आँखा छ तर दृष्टि छैन ः नीतिमा छ प्राङ्गारिक खेती – कार्यमा विष छर्ने

[sharethis-inline-buttons]

सोझासाझा किसानलाई अनुदानमा दिइएको स्प्रेयरमा ७ सय कमिसन । चुनदाम भए पनि असुल्ने नीति । हरेक खरिदमा कमिसन ।

नेपाली शब्दकोषमा शब्दका अर्थहरु पनि विचित्रका छन् । एउटै शब्दको दुईवटा अर्थ छ । दुबै अर्थ एक अर्काको ठीक विपरीत पनि छ । त्यो शब्द हो “कर्तव्य” । शब्दकोषमा यो शब्दका दुईवटा अर्थहरु उल्लेख छ । एउटा अर्थ सकारात्मक छ अर्को नकारात्मक ।

कर्तव्य शब्दको पहिलो अर्थ हो , “कुल परम्परा, नीति नियम सामाजिक आवश्यकता अनुसार गर्नु पर्ने वा अँगालिने काम , गर्न लायक असल कार्य वा आचरण । ”

दोश्रो अर्थ ः “नैतिकताविरुद्ध हुने काम, अवाञ्छित आचरण,टुना, मोहनी , विष प्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहास , कालो कर्तुत ।”

दुईवटा अर्थ निस्किने “कर्तव्य” लेखाईमा दुईथरी छैन अर्थात श्रुतिसम भिन्नाअर्थक शब्द होइन । एउटै शब्द हो तर अर्थ दुईवटा छ र एक अर्काको ठीक उल्टो पनि छ । लेखाइ र बोलाइको स्थान, समय र सन्दर्भमा वा कर्ताको कामलाई विश्लेषण गर्ने सन्दर्भमा कर्तव्य शब्द प्रयोग गर्दा कुन अर्थमा लेखिएको हो सो ठम्याउने श्रोता वा पठकले आफै गर्नुपर्ने हुन्छ ।

गोलबजार नगरपालिकाले हालसालै किसानलाई अन्नबाली वा तरकारीमा विष छर्ने स्प्रेयर (ट्यांकी ) वितरण गरेको छ । २३७ थान स्प्रेयर वितरण भएको कृषि शाखाले जनाएको छ । केही किसानहरुलाई सूचना नपुगेकोले स्प्रेयर लिन आएका छैनन् ।

स्प्रेयर वितरण गर्दा मेयर श्याम श्रेष्ठ आफै आवरणमा देखिए । किसानका हातमा स्प्रेयर थमाएर मेयर श्रेष्ठले मन्द मुस्कान सहित तस्बिर खिचाए । मिडियामा तस्बिरसहित समाचार सम्प्रेषणका लागि कर्मचारीहरुलाई निर्देशन दिए । मानौ मेयर सहेवले ठूलो बाघ मार्नु भएको छ र उहाँको यो कर्तव्य जन जनमा प्रसारित हुन आवश्यक छ ।

अब गोलबजार नगरपालिका र मेयर श्याम श्रेष्ठको यो “कर्तव्य”लाई पहिलो अर्थ “कुल परम्परा, नीति नियम सामाजिक आवश्यकता अनुसार गर्नु पर्ने वा अँगालिने काम , गर्न लायक असल कार्य वा आचरण । ” भन्ने वा

दोश्रो अर्थ ः “नैतिकताविरुद्ध हुने काम, अवाञ्छित आचरण,टुना, मोहनी , विष प्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहास , कालो कर्तुत ।” यसको जिम्मा श्रोता र पाठकहरुलाई ।

तर, परिस्थितिको अन्तरकुन्तर केलाएर थोरै विश्लेषण गर्दा के देखिन्छ भने गोलबजार नगरपालिकाको स्प्रेयर बाँड्ने कृत्य दोश्रो अर्थसँग नजिक छ । किनकि विषादीयुक्त अन्नबाली र तरकारीका कारण समाज आक्रान्त हुँदैछ । कुनै खाद्यवस्तु यस्तो छैन जसमा विषादी नहालिएको होस् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको दायित्व हो कि जनचेतना जगाउने र किसानलाई सहुलियत दिएर प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने । तर गोलबजार नगरपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धनका लागि सिन्को सारेको छैन । उल्टो किसानलाई विषादी छर्ने स्प्रेयर दिएर विषादी छर्न प्रोत्साहन गरेको छ । जवकी गोलबजार नगरपालिकाको नीति तथा कार्यक्रममा प्राङ्गारिक खेती प्रणालीमा जोड दिने कुरा उल्लेख छ । तर प्राङ्गारिक खेतीका लागि नगरपालिकाले अहिलेसम्म सिन्को पनि सारेको छैन ।

किसानले स्वयं छर्नु बेग्लै कुरा हो । कुनै समय स्वयं सरकारले नै किसानलाई उत्पादन बढ्छ भनेर रसायनिक मल र विषादी हाल्न प्रोत्साहन गरेकै हो । किसानले स्वयं सिकेका होइनन् । कुनैबेला गरिएको त्यो गल्तीले खेती प्रणाली र प्रकृति नै ध्वस्त हुन आँटेको छ । म स्वयं किसान हुँ । मलाई मर्म थाहा छ । भाण्टा बेच्न जाँदा टल्किने र चम्किने भाण्टा मात्र बिक्री हुन्छ । त्यसका लागि विषादी छर्नै पर्छ । अग्र्यानिक तरकारी कीरा लागेको हुन्छ । तर बिक्री हुँदैन । समाजलाई अग्र्यानिक ( प्राङ्गारिक ) खान चेतनाकृत गर्नु पर्ने अवस्था छ । किसानलाई उत्पादन नघट्ने तर विषादी नछर्ने वैकल्पिक खेती प्रणाली सिकाउनु पर्ने आवश्यकता छ । तर नगरपालिका किसानलाई अझै विषादी छर्ने स्प्रेयर बाँडदै छ ।

कृषि शाखा प्रमुख बिरेन्द्र यादव भन्छन् हामीले यो वर्ष अग्र्यानिक खेती प्रवद्र्धनका लागि केही गर्न सकेनौ । अर्को वर्षदेखि गर्छौ । यसपाली स्प्रेयर नै बाँडिदियौं ।
यस विषयमा मेयर श्याम श्रेष्ठसँग प्रतिक्रिया माग्दा उनले भने तपाईँ आफै किसान हो र विषादी छर्नु हुन्छ । अनि हामीले के गर्ने ? मैले प्रश्न थपे विषदी छर्ने किसानलाई विकल्प दिने कि झन् विषादी छर्ने भाँडो दिने त ? श्रेष्ठको जवाफ थियो अलि अलि विषादी पनि छर्नै पर्छ । विषदी नै छर्किन्छ भन्ने छैन गौमुत्र पनि छर्किन सक्छ । मैले तेश्रो प्रश्न तेस्र्याएँ , मेयर साहेव नीति तथा कार्यक्रममा प्राङ्गारिक खेतीलाई बढावा दिने भनिएको थियो यहाँ त विषादी छर्ने स्प्रेयर बाँड्ने कार्य भयो । नीति र कार्य उल्टो भएन र ? मेयरले भने अहिले अचानक कहाँबाट एउटा गैर सरकारी संस्था आएको छ । त्यसले हरेक वडामा वडाध्यक्षहरुलाई तालिम दिएर प्राङ्गारिक खेती गर्न तालिम दिएको छ । अब हामी प्राङ्गारिक खेतीलाई बढावा दिन्छौं ।

यस प्रसंगमा एमाले कै नेता गणेश गौतमसँग प्रतिक्रिया माग्दा उनले भने मेयर साहेवको आँखा त छ तर दृष्टिकोण नै छैन । विकास र विनास के हो छुट्याउन आउँदैन । के गर्नु पर्ने के नगर्नु पर्ने बिचरालाई थाहा नै छैन । यही पाँच वर्षमा बेडा डुब्ने भयो पार्टीको । हामी स्वयं चिन्तित छौं । माओवादी र कांग्रेसका वडाध्यक्षहरुले मेयर श्यामलाई दिग्भ्रमित बनाइदिएका छन् । एमालेका वडाध्यक्षहरु मुकदर्शक छन् ।

स्प्रेयर खरिदमा भएको कमिसनको अर्थराजनीति बेग्लै छ । गोलबजारका बिक्रेताहरु ( एग्रोभेट पसल ) लाई थाहा नै दिइएन । बिराटनगरको कुनै बिक्रेताबाट प्रति गोटा ४ हजारका दरले स्प्रेयर खरिद गरिएको कुरा कृषि शाखा प्रमुख वीरेन्द्र यादवले जानकारी दिएका छन् । जवकी गोलबजार एग्रोभेट सञ्चालक राजकुमार सिंह भन्छन् खुद्रा मूल्य ३ हजार पाँच सयमा मेरो पसल मै बिक्री गरिरहेको छु । थोक खरिद गर्दा ३३ सय मै दिन्छु । उनले धिक्कार्दै भने हामीले नेकपा एमालेका मेयर श्याम श्रेष्ठको कार्यकाल यति भ्रष्ट हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं । निर्धा किसानसँग ७ सय भए पनि कमिशन नखाइ छोडिएन ।

 


प्रकाशित : २०८१ बैशाख २३ आईतवार