माननीय लीलानाथ श्रेष्ठ ज्यु , गोलबजार नगरपालिकाको भ्रष्टाचारको एउटा कथा र उपैतलाल मोचीको हृदयको व्यथा तथा आक्रोस सुन्नुहोस्

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका वडा नं. १२ को एउटा भ्रष्टाचार काण्ड सार्वजनिक भएको छ । यो भ्रष्टाचार काण्डमा भ्रष्टाचारीहरु जोगिने र गरिब, दलित चमार समुदायहरुको हातमा नेल ठोकिने स्थिति पैदा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि सिङ्गो चमार समुदायको बस्ती अहिले विलखवन्दमा परेका छन् तर भ्रष्टाचार गर्ने सुमित र सतिश नाम गरेका व्यक्तिहरु कतै आनन्द र मोजमस्ती गर्दैछन् । त्यहाँका चमार समुदायले माननीय लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठलाई गुहारेका छन् । उनीहरु भन्दैछन् , माननीय लीलानाथ श्रेष्ठ र मेयर श्याम श्रेष्ठ आएर हाम्रो गलपासो छुटाइ दिउन , नत्र यस गाउँबाट एमाले पार्टीको नामोनिशान मेटिन्छ । चमार समुदाय भयआतुर छन् । उनीहरुमा पीडाबोध छ र आक्रोस पनि छ ।

घटना विवरण ः

आर्थिक वर्ष २०७९÷०८० मा एलआइपिडब्लु परियोजनाको २० लाख रकम गोलबजार नगरपालिका वडा नं. १३ बेतौनाको चमार टोल हनुमान मन्दिरदेखि उत्तर सडक ग्राभेल गर्ने प्रयोजनको लागि बजेट विनियोजन गरियो । सुरुमा राम न्यौपानेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरियो । त्यहाँका वडाध्यक्ष गणेश मुखियाले न्यौपानेलाई भने , “तपाईँहरु नामका लागि मात्र उपभोक्ता समिति हो , काम हामी आफै गर्छौ , मात्र चेकमा सही गरिदिनु पर्छ ।” न्यौपानेले उपभाmो समितिमा बस्न र चेकमा सही गर्ने कुरा अस्वीकार गरिदिए ।

त्यसपछि वडाध्यक्षले रैथाने चमार समुदायका ७ जनाको अर्को उपभोक्ता समिति गठन गरे । त्यसमा अध्यक्ष उपैतलाल मोची ( बोलाउने नाम कारी महरा ) , सचिवमा जुगेस्वर महरा र कोषाध्यक्षमा गुलो महरालाई राखे । समिति त गठन गरियो । उनीहरुलाई २० लाख बजेट हो र एक सय मिटरमा ग्राभेल हाल्ने भनियो । तर काम तपाईँहरुले गर्नु पर्दैन । नगरपालिकाबाट सुमित र सतिश भन्ने दुई जना आउँछन् , उनीहरुले नै काम गर्छन् भनेर सुनाइयो ।

उपैतलाल भन्छन् , “सुमित र डोहटियाका सतिशले काम प्रारम्भ गरे । ग्राभेल खसाउन थाले । हामीलाई मजदुर जस्तै खटाए । कहाँबाट , कुन दर रेटमा , कति ट्रिप ग्राभेल आयो हामीलाई थाहा दिएनन् । थोरै ग्राभेल हालेर डोजर ल्याएर सम्याए । काम सकियो भनेर गए । आधा काम मात्र भएको थियो अनि वडाध्यक्ष गणेश मुखियाले फोन आधा रकम निकासा दिन चेकमा सही गरिदेउ भने । म सोझो मान्छे ९ लाख ५० हजार लेखेको भने । मैले सही गरिदिएँ । ”

गुलो महराका ससुराले भने , “त्यो चेकमा मेरी बुहारी गुलो महरालाई फकाएर गोलबजार लगेर सही गराएछन् । जुगेस्वरले सही गर्न मानेका थिएनन् । तिनलाई सही नगरे जेल हालिदिन्छु भनेर धम्की दिएछन् । तलदेखि माथि सबै उनैका मान्छे छन् । कसरी सबै रकम निकाले हामीलाई थाहा छैन । यो सडकको नाप जाँच र हर हिसाबबारे हामीलाई केही बताएनन् । ती दुई जना सुमित र सतिशले चेकमा सही गराएर लगे । त्यसपछि अहिलेसम्म नाक मुख देखिएको छैन ।”

सुत्रहरुले जानकारी दिए अनुसार सही गराउने बेलामा चेकमा अंक मात्र लेखिएको थियो ९५००००।०० त्यसको पछाडि एक थपेर १९५००००।०० बनाइयो । हस्ताक्षर गर्ने बेलामा नाम र अक्षरेपी भरिएको थिएन । यसरी सजिलै रकम निकाल्न दुई व्यक्ति सफल भए । सही गर्न नमान्नेलाई मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर सही गराइयो । उपभोक्ता समितिका अध्यक्ष उपैतलाल स्वयं आश्चर्यमा छन् कि कसरी सबै रकम बै.कबाट झिक्न सफल भए ?

हनुमान मन्दिरदेखि उत्तर सडक अवलोकन गर्दा ग्राभेल बिस्कुन सुकाएको जस्तो गरी पातलो पारेर हालिएको छ । रैथानेहरु भन्छन् मुस्किलले ५ लाखको काम गरेर सबै रकम हजम पारेका छन् । यो परियोजनामा १५ लाख रकम बाँडचुँड गरिएको छ । ग्राभेल गरिएको यो बस्ती र सडक धेरै टाढा छैन । नागरिक समाज र बुद्धिजीवीहरुले स्थलगत अनुगमन गरेर हेर्न सक्छन् ।

यो सडकमा भ्रष्टाचार भयो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र अख्तियारले छानविन प्रारम्भ गरेको स्थानीयहरुले बताए । अख्तियार छानविन गर्न आएर सडक नाप जाँच गर्न थालेपछि चमार बस्तीमा हल्लिखल्ली मच्चिएको छ । खाने पिउने रामे चोट पाउने ….उखान यहाँ चरितार्थ हुँदैछ । गोलबजार नगरपालिकाले पठाएको सुमित र सतिश भन्ने व्यक्तिहरु को को हुन् ? उनीहरु कतै आनन्द र मौजमस्ती गरिरहेका होलान तर हामी पासोमा पर्न आँट्यौ भन्दै चमार समुदाय विलखबन्दमा परेका छन् । चमार समुदाय भयआतुर छन् र आक्रोसित पनि छन् ।

एमालेका निष्ठावान र सिङ्गो चमार बस्तीलाई एमालेमा आवद्ध गराउने कार्यकर्ता उपैतलाल मोची गहिरो चिन्तामा डुबेका छन् । उनी भन्छन् , माननीय लीलानाथ श्रेष्ठ र मेयर श्याम श्रेष्ठ हाम्रो गाउँ बस्तीमा आउनु प¥यो । ती दुई युवाहरुलाई पनि ल्याउनु प¥यो । हामीलाई सडक नाप जाँच र हरहिसाव बताइदिनु प¥यो । अख्तियारको गलपासो छुटाइ दिनु प¥यो । नत्र एक पटक न ठग्न सफल भयौं । अब उप्रान्त तपाईँहरु र तपाईँहरुको पार्टी एमाले सबै चुनावमा ठगिन्छ । यस गाउँबाट एमालेको नाम निशान मेटाइ दिन्छौ । हामी छातिमा गोली खान पनि तयार छौं ।

 

सोझासाझा गरिब निमुखा दलितहरुलाई उपभोक्ता समितिमा राख्ने अनि काम सुमित र सतिश नाम गरेका युवाहरुले गर्ने , चेकमा सही नगर्दा जेल हालिदिने धम्की दिने , अहिले अख्तियारले छानविन गर्दा उनैै निम्छरा गरिबहरु जेल जानु पर्ने । उफ दुर्भाग्यपूर्ण सुशासनको नमूना गोलबजार नगरपालिका । माननीय लीलानाथ श्रेष्ठ ज्यु मिसन ८४ मा के हालत होला ?

 

 


प्रकाशित : २०८१ बैशाख ३ सोमबार